काठमाडौं । नेपालले सन् २०३० सम्म खोप कार्यक्रम सञ्चालनका लागि ‘गाभी, द भ्याक्सिन एलाइन्स’ बाट ८ अर्ब ५९ करोड १९ लाख ६८ हजार रुपैयाँ सहायता पाउने भएको छ ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार यो रकम राष्ट्रिय नियमित खोप कार्यक्रम सञ्चालनका लागि प्राप्त हुनेछ ।
यसैगरी, नेपालले गाभीलाई फिर्ता गर्नुपर्ने भनिएको ३ लाख ८ हजार २७१ अमेरिकी डलर पनि मिनाहा भएको छ ।
आर्थिक वर्ष २०१६/१७ देखि २०२१/२२ सम्म गाभीबाट प्राप्त सहायता रकमको लेखापरीक्षण गर्दा केही प्रक्रियागत त्रुटि भेटिएका थिए । सोही कारण नेपालले उक्त रकम फिर्ता गर्नुपर्ने देखिएको थियो ।
तर, मन्त्री निशा मेहताको पहल र गाभीसँगको छलफलपछि उक्त रकम मिनाहा गराउन सफल भएको मन्त्रालयले जनाएको छ ।
नेपालले राष्ट्रिय खोप कार्यक्रममार्फत बालबालिका तथा लक्षित समूहलाई विभिन्न संक्रामक रोगविरुद्ध खोप दिँदै आएको छ ।
विश्वव्यापी रूपमा विकास सहायता घट्ने दबाब बढिरहेका बेला सन् २०३० सम्मका लागि खोप सहायता सुनिश्चित हुनुलाई मन्त्रालयले महत्त्वपूर्ण उपलब्धिका रूपमा लिएको छ ।
यसले नेपालको नियमित खोप कार्यक्रमलाई निरन्तरता दिन र आर्थिक व्यवस्थापन सहज बनाउन सहयोग पुग्ने अपेक्षा मन्त्रालयको छ ।