कास्की । पोखरामा औषधि पसलको आवरणमा प्रतिबन्धित लागुऔषधको कारोबार हुने गरेको खुलेको छ । पोखरा महानगरपालिका–२६ कालिकाचोकस्थित जलधारे औषधि पसलबाट सात हजारभन्दा बढी लागुऔषधका चक्की बरामद भएपछि यस्तो कारोबार बाहिरिएको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार औषधि पसलकी सञ्चालिका २९ वर्षीया अमिसा ढुङ्गानालाई लागुऔषधका चक्कीसहित पक्राउ गरिएको छ ।
प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानका अनुसार लागुऔषध ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा बुधबार इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरी टोलीले औषधि पसलमा जाँच गरेको थियो । सो क्रममा चार प्रकारका लागुऔषध बरामद गरिएको हो ।
प्रहरीका अनुसार सञ्चालिका ढुङ्गानाको साथबाट कोडिप–पी (कोडिन) ६ हजार ४०० चक्की, प्रेगाबालिन ४५० चक्की, लोराजेपाम १५० चक्की र क्लोर्डियाजेपोक्साइड १६० चक्की बरामद गरिएको छ । बरामद चक्कीको कुल संख्या सात हजार १६० रहेको छ ।
प्रहरी नायब उपरीक्षक पासवानले विशेष सूचनाका आधारमा फार्मेसीमा छापा मार्दा ठूलो परिमाणमा लागुऔषधजन्य औषधि फेला परेको बताए ।
औषधि बिक्री तथा वितरणका लागि सञ्चालनमा रहेका फार्मेसीबाटै ठूलो परिमाणमा लागुऔषध बरामद हुनुले औषधिको बिक्री, वितरण र प्रयोगको नियमन तथा अनुगमन प्रभावकारी बनाउनुपर्ने आवश्यकता देखाएको उनले बताए ।
पक्राउ परेकी सञ्चालिकामाथि लागुऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
पोखरामा यसअघि पनि विभिन्न समयमा फार्मेसीबाट लागुऔषधको कारोबार हुने गरेको फेला परेको थियो । प्रहरीले त्यस्ता औषधि पसलका सञ्चालकलाई नियन्त्रणमा लिएर कानुनी कारबाही अघि बढाउँदै आएको छ ।