दशैंमा यसरी अपनाउनुहोस् खानपानमा संयमता

काठमाडौं । दशैंलाई खानपान र पारिवारिक जमघटको पर्वका रूपमा पनि लिइन्छ । चाडपर्वका बेला खसीबोका, राँगालगायतको रातो मासु, मिठाई, सेलरोटी र चिसो पेय पदार्थको सेवन सामान्य दिनभन्दा बढी हुने गर्छ । तर, यस्ता खानेकुरा आवश्यकताभन्दा बढी खाँदा स्वास्थ्यमा समस्या निम्तिन सक्ने भएकाले खानपानमा संयमता अपनाउन पोषणविद्ले सुझाव दिएका छन् ।

पोषणविद् कल्पना राजवंशीले दशैंमा मासु खाँदै नखानुभन्दा पनि यसको मात्रा सीमित गर्ने, बोसो हटाउने र सन्तुलित आहारमा ध्यान दिनुपर्ने बताएकी छन् । चाडपर्वमा खानपानको विविधता र मात्रा दुवैमा ध्यान दिन सके स्वास्थ्यमा पर्ने सम्भावित नकारात्मक असर कम गर्न सकिने उनको भनाइ छ ।

दशैंमा एकै दिन धेरै ठाउँमा टीका लगाउन जाँदा विभिन्न घरमा मासु तथा अन्य परिकार खाने चलनले आवश्यकताभन्दा बढी भोजन गर्ने प्रवृत्ति बढ्ने गरेको राजवंशीले बताइन् । उनका अनुसार खसीको मासुमा आइरन र भिटामिन बी-१२ पाइने भएकाले यसलाई पूर्ण रूपमा त्याग्न आवश्यक छैन । तर, मासु खाँदा बोसो र छाला हटाउने, एकपटकमा करिब १०० ग्राम अर्थात् मध्यम आकारका चारदेखि पाँच टुक्रासम्म खाने र पटक–पटक धेरै मासु नखाने कुरामा ध्यान दिनुपर्छ ।

‘दशैंमा मासु खानु स्वाभाविक हो, तर यसको मात्रा मिलाउनु सबैभन्दा महत्त्वपूर्ण हुन्छ,’ उनले भनिन् ।

मासुसँग भात वा चिउरा मात्रै खाने बानीले आहारमा आवश्यक पोषक तत्त्वको सन्तुलन बिग्रन सक्ने भएकाले दाल, गेडागुडी, सागसब्जी, मौसमी तरकारी र सलादलाई पनि खानामा समावेश गर्नुपर्ने उनको सुझाव छ । सन्तुलित आहारका लागि थालको आधा भाग सागसब्जी तथा तरकारीले र बाँकी भागमध्ये एक चौथाइ अन्न तथा अर्को चौथाइ प्रोटिनयुक्त खानेकुराले समेट्ने गरी भोजन मिलाउन सकिने उनले बताइन् ।

विशेषगरी उच्च रक्तचाप, मधुमेह, युरिक एसिड, मिर्गौलासम्बन्धी समस्या तथा कब्जियत भएका व्यक्तिले खानपानमा थप सावधानी अपनाउनुपर्ने उनको भनाइ छ । रातो मासुमा पाइने स्याचुरेटेड फ्याट अर्थात् सन्तृप्त चिल्लो पदार्थले रगतमा कोलेस्ट्रोलको मात्रा बढाउन सक्ने भएकाले दीर्घरोग भएका व्यक्तिले आफ्नो स्वास्थ्य अवस्थाअनुसार मासुको मात्रा निर्धारण गर्नुपर्ने उनले बताइन् ।

३३ मिठाई र चिसो पेय पदार्थको सेवन घटाउन सुझाव

दशैंमा पाहुनाले मिठाई तथा कोक, फ्यान्टाजस्ता चिसो पेय पदार्थ ल्याउने र सेवन गर्ने चलन बढ्छ । तर, यस्ता खानेकुरामा चिनीको मात्रा बढी हुने भएकाले सकेसम्म सेवन घटाउनुपर्ने राजवंशीको सुझाव छ ।

चिसो पेय पदार्थको विकल्पमा पानी, मोही वा कम चिनी भएको लस्सी रोज्न सकिने उनले बताइन् । मिठाई र सेलरोटी पूर्ण रूपमा खान छाड्नुपर्ने नभए पनि एकैपटक धेरै खाने र नियमित रूपमा अत्यधिक सेवन गर्ने बानीबाट बच्नुपर्ने उनको भनाइ छ ।

खानपानको मात्रा मात्र नभई परिकार पकाउने तरिकामा पनि ध्यान दिनुपर्ने उनले बताइन् । मासुलाई धेरै तेलमा तारेर खानुभन्दा आवश्यक मात्रामा तेल प्रयोग गरी राम्रोसँग पकाएर खानु उपयुक्त हुने उनको सुझाव छ ।

३३ मासु भण्डारणमा पनि सावधानी आवश्यक

दशैंमा पकाएको मासु लामो समयसम्म राखेर खाने तथा फ्रिजमा भण्डारण गरेर तिहारसम्म प्रयोग गर्ने चलनप्रति पनि सावधानी अपनाउनुपर्ने राजवंशीले बताइन् । मासु सुरक्षित रूपमा भण्डारण नगर्दा हानिकारक ब्याक्टेरिया बढ्न सक्ने र त्यसले खाद्य विषाक्तता (फुड पोइजनिङ) को जोखिम निम्त्याउन सक्ने उनको भनाइ छ ।

उनका अनुसार मासुलाई आवश्यकताअनुसार स-सानो भागमा छुट्याएर भण्डारण गर्नुपर्छ । काँचो र पकाएको मासु छुट्टाछुट्टै बन्द भाँडामा राख्नुपर्छ । काँचो मासुबाट निस्कने रस अन्य खानेकुरा, तरकारी वा फलफूलमा मिसिन नदिन पनि विशेष ध्यान दिनुपर्छ ।

पकाएको खाना कोठाको तापक्रममा दुई घण्टाभन्दा बढी नराखी फ्रिजमा राख्नुपर्ने र पुनः सेवन गर्दा राम्रोसँग तताउनुपर्ने उनले बताइन् । मासु पुनः तताउँदा यसको भित्री तापक्रम कम्तीमा ७४ डिग्री सेल्सियस पुग्ने गरी तताउनु सुरक्षित हुने उनको सुझाव छ ।

मासु राम्रोसँग नपकाउँदा वा अनुचित तरिकाले भण्डारण गर्दा खाद्य विषाक्तताको जोखिम बढ्न सक्छ । यस्तो अवस्थामा पेट दुख्ने, पेट फुल्ने, वाकवाकी लाग्ने, बान्ता हुने र पखाला लाग्नेजस्ता लक्षण देखिन सक्ने राजवंशीले बताइन् । लगातार बान्ता वा पखाला लागेमा शरीरमा पानीको कमी हुन सक्ने भएकाले स्वास्थ्यकर्मीको सल्लाह लिनुपर्ने उनको सुझाव छ ।

३३ चाडपर्वमा पनि शारीरिक सक्रियता बढाउन आग्रह

दशैंमा बिदा हुने, घरमै बसेर समय बिताउने र सामान्यभन्दा बढी खाने प्रवृत्तिले शारीरिक सक्रियता घट्न सक्छ । त्यसैले चाडपर्वका बेला पनि नियमित हिँडडुल र व्यायामलाई निरन्तरता दिनुपर्ने राजवंशीले बताइन् ।

खानपानबाट शरीरमा पर्याप्त ऊर्जा प्राप्त भए पनि शारीरिक गतिविधि कम हुँदा स्वास्थ्यमा नकारात्मक असर पर्न सक्ने उनको भनाइ छ । त्यसैले दशैंमा पनि समय मिलाएर हिँड्ने, सामान्य व्यायाम गर्ने र दैनिक शारीरिक गतिविधिलाई निरन्तरता दिनुपर्छ ।

‘दशैं हाम्रो महान् चाड हो, यसलाई रमाइलोसँग मनाउनुपर्छ । तर धेरै मासु, मिठाई र चिसो पेय पदार्थ सेवन गर्नुभन्दा खानाको मात्रा मिलाउने, सन्तुलित आहार खाने र शारीरिक रूपमा सक्रिय रहने कुरामा ध्यान दिनुपर्छ,’ उनले सुझाव दिइन् ।

चाडपर्वको रमाइलोसँगै स्वास्थ्यलाई पनि प्राथमिकतामा राख्न सके खानपानका कारण उत्पन्न हुन सक्ने समस्याबाट बच्दै दशैंलाई स्वस्थ र आनन्दमय बनाउन सकिने उनको सुझाव छ ।

Share News