छोरीको अंगदानले बच्यो बाबुको ज्यान, किस्टमा सफल कलेजो प्रत्यारोपण

ललितपुर । ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको १७औँ सफल कलेजो प्रत्यारोपण सम्पन्न गरेको छ । बाँकेको कोहलपुर निवासी ५९ वर्षीय एक पुरुषलाई उनकी ३७ वर्षीया छोरीले कलेजो दान गरेपछि सफल शल्यक्रियामार्फत नयाँ जीवन प्राप्त भएको अस्पतालले जनाएको छ ।

अस्पतालका अनुसार गत असार १५ गते सम्पन्न भएको प्रत्यारोपण सफल भएपछि दाता (छोरी) र ग्राही (बुबा) दुवैको स्वास्थ्य अवस्था सन्तोषजनक रहेको छ । उपचारपछि उनीहरू दुवै अस्पतालबाट डिस्चार्ज भइसकेका छन् । अस्पतालले यो सफल शल्यक्रियालाई आधुनिक चिकित्सा विज्ञानसँगै परिवारको निस्वार्थ प्रेम, त्याग र समर्पणको अनुपम उदाहरणका रूपमा चित्रण गरेको छ ।

यस सफलतासँगै किस्ट ट्रान्सप्लान्ट सेन्टरले निजी स्वास्थ्य क्षेत्रमा आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण सम्पन्न गर्दै नेपालको प्रत्यारोपण सेवामा अर्को महत्वपूर्ण उपलब्धि हासिल गरेको जनाएको छ । अत्याधुनिक प्रविधियुक्त पूर्वाधार, अन्तर्राष्ट्रिय मापदण्डअनुसारको उपचार प्रणाली, अनुभवी प्रत्यारोपण विशेषज्ञहरूको समर्पित टोली तथा बहुविशेषज्ञीय उपचार पद्धतिका कारण अस्पताल प्रत्यारोपण सेवामा विश्वासिलो गन्तव्यका रूपमा स्थापित हुँदै गएको अस्पतालको भनाइ छ ।

अस्पताल व्यवस्थापनले यस सफल प्रत्यारोपणमा संलग्न सम्पूर्ण प्रत्यारोपण विशेषज्ञ, बेहोस पार्ने चिकित्सकको टोली, नर्सिङ टोली, सघन उपचार कक्ष, प्रयोगशाला, रक्त बैंक तथा अन्य सबै स्वास्थ्यकर्मीप्रति हार्दिक आभार व्यक्त गरेको छ । साथै, आफ्नो जीवनको अमूल्य अंश दान गरेर बाबुलाई नयाँ जीवन दिने छोरीको साहस, प्रेम र मानवताप्रतिको समर्पण सम्पूर्ण समाजका लागि प्रेरणाको स्रोत बनेको अस्पतालले उल्लेख गरेको छ ।

किस्ट शिक्षण अस्पतालले भविष्यमा पनि अत्याधुनिक प्रविधि, अनुभवी विशेषज्ञ तथा विश्वस्तरीय उपचार सेवामार्फत नेपालमै सुरक्षित, गुणस्तरीय र सहज पहुँचयोग्य कलेजो तथा मिर्गौला प्रत्यारोपण सेवा प्रदान गर्दै स्वास्थ्य सेवामा उत्कृष्टताको यात्रालाई निरन्तर अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

Share News