काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र कर्णाली प्रदेश सरकारअन्तर्गतको प्रदेश अस्पताल, वीरेन्द्रनगर सुर्खेतबीच तलबी बचत खाता तथा पेशाकर्मी सरल कर्जा सञ्चालनसम्बन्धी सम्झौता भएको छ।
सोमबार भएको सम्झौताअनुसार राष्ट्रिय वाणिज्य बैंकले प्रदेश अस्पतालका कर्मचारीका लागि तलबी बचत खाता सञ्चालन गर्नुका साथै पेशाकर्मी सरल कर्जा उपलब्ध गराउनेछ । साथै, कर्मचारीहरूले सहुलियत दरमा अन्य बैंकिङ सेवा तथा सुविधासमेत प्राप्त गर्ने बैंकले जनाएको छ ।
बैंकका अनुसार उक्त सहकार्यले प्रदेश अस्पतालका कर्मचारीलाई सहज, छिटो र सुलभ बैंकिङ सेवा उपलब्ध गराउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
पूर्ण सरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंक वि.सं. २०२२ साल माघ १० गते स्थापना भएको हो । हाल बैंकले देशभरका सातै प्रदेशका ७७ जिल्ला सदरमुकामसहित दुर्गम क्षेत्रलाई समेट्ने गरी ३१६ शाखा कार्यालय मार्फत कर्जा, निक्षेप, एटीएम, मोबाइल बैंकिङलगायत आधुनिक डिजिटल बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।