काठमाडौं । इसेवाले शिखर इन्सुरेन्ससँगको सहकार्यमा सञ्चालन गरिरहेको ‘सहारा हेल्थ इन्सुरेन्स’मार्फत सर्वसाधारणको स्वास्थ्य बीमामा पहुँच विस्तार गर्दै गएको जनाएको छ ।
इसेवाका अनुसार यो स्वास्थ्य बीमा योजना केवल १ हजार ३९९ रुपैयाँ प्रिमियमबाट सुरु हुने र स्वास्थ्य तथा दुर्घटना गरी ६ लाख रुपैयाँसम्मको बीमा सुरक्षा उपलब्ध हुने व्यवस्था गरिएको छ ।
पूर्ण रूपमा डिजिटल माध्यममा आधारित यस योजनाअन्तर्गत ग्राहकले कुनै कागजी प्रक्रिया वा बीमा कम्पनीको कार्यालय धाउनुपर्ने झन्झट बिना इसेवा एपबाट केही मिनेटमै बीमा खरिद वा नवीकरण गर्न सक्नेछन् ।
योजनाअन्तर्गत ग्राहकले आफ्नो आवश्यकता र उमेरअनुसार १ लाख, २ लाख वा ५ लाख रुपैयाँसम्मको स्वास्थ्य बीमा कभरेज छनोट गर्न सक्नेछन् । बीमाले २४ घण्टा वा सोभन्दा बढी अवधिको अस्पताल भर्ना उपचार, २५ भन्दा बढी अस्पतालमा नगदरहित उपचार, १५० भन्दा बढी डे–केयर सेवा तथा अस्पताल भर्नाअघि र डिस्चार्जपछिका योग्य उपचार खर्चसमेत समेट्ने कम्पनीले जनाएको छ । साथै, १ लाख रुपैयाँसम्मको दुर्घटना बीमा सुविधा पनि समावेश गरिएको छ।
यो योजना ५ देखि ६५ वर्ष उमेर समूहका व्यक्तिका लागि उपलब्ध रहेको कम्पनीले जनाएको छ। ग्राहकले इसेवा एपको ‘इन्सुरेन्स’ सेक्सनमा आवश्यक विवरण भरेर आफ्नो वा परिवारका सदस्यका लागि उपयुक्त बीमा योजना छनोट गरी अनलाइन भुक्तानी गर्न सक्नेछन् । भुक्तानीपछि बीमा पोलिसी तत्काल डिजिटल रूपमा उपलब्ध हुने व्यवस्था गरिएको छ ।
इसेवाका अनुसार गत भदौदेखि सञ्चालनमा आएको ‘सहारा हेल्थ इन्सुरेन्स’बाट एक वर्ष नपुग्दै १० हजारभन्दा बढी ग्राहक लाभान्वित भइसकेका छन् ।
कम्पनीले सुलभ प्रिमियम, सहज डिजिटल प्रक्रिया र व्यापक बीमा कभरेजमार्फत सर्वसाधारणसम्म गुणस्तरीय स्वास्थ्य बीमाको पहुँच विस्तार गर्दै नागरिकको स्वास्थ्य तथा वित्तीय सुरक्षालाई थप सुदृढ बनाउने लक्ष्यका साथ सेवा विस्तार गरिरहेको जनाएको छ ।