नेपाल बैंकका ग्राहकलाई पिपल्स डेन्टल कलेजमा २० प्रतिशतसम्म छुट

काठमाडौं । नेपाल बैंक लिमिटेडका ग्राहक र कर्मचारीले पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रालि तथा सोअन्तर्गत सञ्चालित जनरल अस्पतालमा उपचार गराउँदा विभिन्न सेवामा २० प्रतिशतसम्म छुट पाउने भएका छन् ।

यसका लागि नेपाल बैंक र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटलबीच सोमबार सम्झौता भएको हो ।

सम्झौताअनुसार नेपाल बैंकमा खाता भएका ग्राहक तथा बैंकका कर्मचारीले अस्पतालमा बिरामी दर्ता (रजिस्ट्रेसन) र स्वास्थ्य परीक्षण (चेकअप) शुल्कमा शतप्रतिशतसम्म छुट पाउनेछन् । साथै अस्पतालका विभिन्न उपचार सेवामा १० देखि २० प्रतिशतसम्म छुट उपलब्ध हुने बैंकले जनाएको छ ।

सम्झौतापत्रमा नेपाल बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत दीपेन्द्रराज काफ्ले र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटलका प्रबन्ध निर्देशक रोशन लुइँटेलले हस्ताक्षर गरेका छन् ।

बैंकका अनुसार उक्त सम्झौताबाट आफ्ना ग्राहक तथा कर्मचारीले पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल र सोअन्तर्गत सञ्चालित जनरल अस्पतालबाट प्रदान गरिने दन्त तथा अन्य स्वास्थ्य सेवामा सहुलियतसहित गुणस्तरीय उपचार सेवा लिन सक्नेछन् ।

नेपालको पहिलो वाणिज्य बैंकका रूपमा स्थापित नेपाल बैंकले हाल देशभर २३१ शाखा, २४६ एटीएम र ५८ एक्सटेन्सन काउन्टरमार्फत करिब २७ लाख ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ । बैंकले आधुनिक प्रविधिमार्फत सेवा विस्तार गर्दै ग्राहकमुखी सेवा सुदृढ बनाउँदै लगेको पनि जनाएको छ ।

Share News