अब एउटै दिन सेयर किनबेच गर्न पाइने, यस्ता छन् व्यवस्था

काठमाडौं । नेपालको पुँजी बजारमा अन्तरदिवसीय धितोपत्र कारोबार (इन्ट्राडे ट्रेडिङ) सञ्चालन गर्ने तयारी अघि बढेको छ । यसका लागि नेपाल धितोपत्र बोर्डले अन्तरदिवसीय धितोपत्र कारोबारसम्बन्धी नियमावली, २०८३ को प्रारम्भिक मस्यौदा तयार गरी सरोकारवालासँग राय तथा सुझाव माग गरेको छ ।

पुँजी बजारमा कारोबारको गति, तरलता तथा मूल्य निर्धारण प्रक्रियालाई थप प्रभावकारी बनाउने उद्देश्यले अन्तरदिवसीय कारोबार प्रणाली लागू गर्न लागिएको बोर्डले जनाएको छ । बोर्डले गत असोज ८ गते सार्वजनिक गरेको ‘नेपालमा धितोपत्रको अन्तरदिवसीय कारोबार कार्यान्वयनसम्बन्धी अवधारणापत्र, २०८३’ का आधारमा नियमावलीको मस्यौदा तयार पारेको हो ।

प्रस्तावित मस्यौदामा अन्तरदिवसीय कारोबार सञ्चालनका लागि नेपाल स्टक एक्सचेन्ज र धितोपत्र दलाल व्यवसायीले बोर्डबाट स्वीकृति लिनुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ । साथै, तोकिएका मापदण्ड पूरा गरेका सूचीकृत धितोपत्रलाई मात्र यस्तो कारोबारका लागि योग्य मानिने उल्लेख छ ।

मस्यौदाअनुसार धितोपत्र दलाल व्यवसायीले ग्राहकको पहिचान, वित्तीय क्षमता, जोखिम वहन गर्ने क्षमता तथा कारोबारका लागि उपयुक्तताको मूल्याङ्कन गरेर मात्र अन्तरदिवसीय कारोबारको सुविधा उपलब्ध गराउनुपर्नेछ । कारोबार सुरु गर्नुअघि ग्राहकको आदेश, मार्जिन, जोखिम सीमा र अन्य आवश्यक सर्तसमेत परीक्षण गर्नुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ ।

त्यस्तै, अन्तरदिवसीय कारोबार सञ्चालन गर्ने धितोपत्र दलाल व्यवसायीले आवश्यक प्राविधिक प्रणाली, सुरक्षा व्यवस्था तथा वास्तविक समयमै जोखिम नियन्त्रण गर्न सक्ने संयन्त्र स्थापना गर्नुपर्नेछ । ग्राहकले एकै दिन धितोपत्र खरिद वा बिक्री गरी सिर्जना भएको खुला अवस्थालाई सोही दिन विपरीत कारोबार गरेर बन्द गर्नुपर्ने व्यवस्था पनि मस्यौदामा समेटिएको छ ।

तोकिएको समयभित्र खुला कारोबार बन्द नगरेमा स्वतः बन्द हुने व्यवस्था प्रस्ताव गरिएको छ । यसलाई स्वतः कारोबार बन्द गर्ने प्रक्रिया भनिन्छ । यसका साथै प्रत्येक ग्राहकले तोकिएबमोजिमको मार्जिन कायम राख्नुपर्ने र बजारको उतारचढावअनुसार थप मार्जिन अर्थात् परिवर्तनशील मार्जिन तोक्न सकिने व्यवस्था पनि मस्यौदामा छ ।

प्रस्तावित नियमावलीमा प्रत्येक ग्राहक, धितोपत्र व्यवसायी, धितोपत्र तथा समग्र बजारका लागि अधिकतम कारोबार सीमा निर्धारण गर्ने व्यवस्था गरिएको छ । जोखिम व्यवस्थापन, आन्तरिक नियन्त्रण तथा गुनासो व्यवस्थापन संयन्त्र स्थापना गर्नु पनि धितोपत्र दलाल व्यवसायीको दायित्व हुने उल्लेख छ ।

अन्तरदिवसीय कारोबारमा लगानीकर्ताको जोखिम न्यूनीकरण र सचेतना अभिवृद्धिका लागि बोर्ड, धितोपत्र बजार तथा धितोपत्र दलाल व्यवसायीले लगानीकर्ता शिक्षा र सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने प्रस्ताव गरिएको छ । बोर्डले आवश्यकताअनुसार यस्तो कारोबार प्रणाली चरणबद्ध रूपमा लागू गर्न सक्ने व्यवस्था पनि मस्यौदामा राखिएको छ ।

बोर्डले प्रस्तावित नियमावलीको प्रारम्भिक मस्यौदामा आगामी मंसिर ४ गतेभित्र राय तथा सुझाव पठाउन सरोकारवाला सबैलाई अनुरोध गरेको छ । मस्यौदामा प्राप्त सुझावका आधारमा नियमावलीलाई अन्तिम रूप दिने प्रक्रिया अघि बढाइनेछ ।

अन्तरदिवसीय कारोबार प्रणाली कार्यान्वयनमा आएमा लगानीकर्ताले एउटै कारोबार दिनभित्र धितोपत्र खरिद तथा बिक्री गर्न सक्नेछन् । यद्यपि, प्रस्तावित व्यवस्थाअनुसार यस्तो कारोबारमा मार्जिन, अधिकतम कारोबार सीमा र जोखिम नियन्त्रणसम्बन्धी प्रावधान पालना गर्नुपर्नेछ ।

Share News