माउन्टेन इनर्जीको २० प्रतिशत बोनस सेयर पारित, ५ जना सञ्चालक निर्वाचित

काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडको १३औँ वार्षिक साधारणसभाले सेयरधनीलाई २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

कम्पनीका अध्यक्ष प्रदीपजङ्ग पाण्डेको अध्यक्षतामा काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्याङ्क्वेटमा सम्पन्न सभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट उक्त लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । यसअनुसार सेयरधनीले कुल २१.०५२६ प्रतिशत लाभांश पाउनेछन् ।

सभाले कम्पनीको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन तथा अन्य वित्तीय विवरण पनि पारित गरेको छ । साथै, आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावसमेत अनुमोदन गरेको छ ।

साधारणसभाले पाँच जना सञ्चालकसमेत निर्वाचित गरेको छ । सञ्चालकमा डोलराज शर्मा, उत्तमप्रसाद भट्टराई, अरुणकुमार केसी, टीकाप्रसाद उप्रेती र झनक दत्त खनाल निर्वाचित भएका छन् ।

कम्पनीले आर्थिक वर्ष २०८१/८२ मा पनि २० प्रतिशत बोनस सेयर र १.०५२६ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यससँगै कम्पनी लगातार दोस्रो वर्ष २० प्रतिशत बोनस सेयर वितरण गर्न सफल भएको छ ।

कम्पनीले आर्थिक वर्ष २०८२/८३ मा ७९ करोड ७० लाख ४३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यो अघिल्लो आर्थिक वर्षको तुलनामा २९.०८ प्रतिशत बढी हो । उक्त अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी २५ रुपैयाँ ५२ पैसा कायम भएको थियो ।

कम्पनीले आर्थिक वर्ष २०७८/७९ देखि नियमित रूपमा लाभांश वितरण गर्दै आएको छ । आर्थिक वर्ष २०७८/७९ मा १०.५२६३ प्रतिशत नगद लाभांश दिएको कम्पनीले त्यसपछिका दुई आर्थिक वर्ष २०७९/८० र २०८०/८१ मा समान १५ प्रतिशत बोनस सेयर र ०.७८९५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । आर्थिक वर्ष २०८१/८२ मा भने २० प्रतिशत बोनस सेयर र १.०५२६ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

हाल कम्पनीले ४२ मेगावाटको मिस्ट्रीखोला र ५ मेगावाटको तादीखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न गरी विद्युत् उत्पादन गरिरहेको छ ।

त्यस्तै, सहायक कम्पनी दूधखोला हाइड्रोपावर कम्पनी प्रालिमार्फत ६५ मेगावाट क्षमताको दूधखोला जलविद्युत् आयोजना निर्माण सुरु गरेको छ । मनाङमा निर्माणाधीन उक्त आयोजनाको गत साउनमा वित्तीय व्यवस्थापन सम्पन्न भएको थियो ।

आयोजनाको कुल लागत १२ अर्ब ८९ करोड रुपैयाँ रहेको छ । आयोजनामा एनएमबी बैंक र सानिमा बैंकले १० अर्ब १ करोड रुपैयाँ लगानी गर्नेछन् भने बाँकी रकम प्रवर्द्धक कम्पनीले लगानी गर्नेछ । निर्माण सुरु भएको तीन वर्षभित्र विद्युत् उत्पादन थाल्ने कम्पनीको लक्ष्य छ । 

null

Share News