माछापुच्छ्रे बैंकले ६ प्रतिशत लाभांश दिने

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले सेयरधनीलाई ६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकको भदौ २६ गते बसेको सञ्चालक समितिको ५६४औँ बैठकले चुक्ता पुँजीको ६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांशमा ३ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश (करसहित) रहेको छ । बैंकले प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि आगामी वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीलाई वितरण गर्ने जनाएको छ । माछापुच्छ्रे बैंकले देशका सातै प्रदेशमा १५७ शाखा, १२ वटा विस्तारित काउन्टर, ८८ शाखारहित बैंकिङ सेवा र १९३ एटीएममार्फत १८ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ ।

२३७ कम्पनीको सेयर मूल्य बढ्यो

काठमाडौं । शुक्रबार सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २७.९४ अंकले बढेर २५५९ बिन्दुमा पुगेको हो । नेप्सेका अनुसार २३७ कम्पनीको सेयर मूल्य बढ्दा ३१ कम्पनीको सेयर मूल्य घटेको छ । ९ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।  शुक्रबार ३४५ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ३६ करोढ रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार लिबर्टी इनर्जीको भएको छ । लिबर्टीको ३६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।  साथै एनआरएन इन्फ्राइस्ट्रक्चरको १८ करोड, रिलाइन्स स्पिीनिङको १४ करोड र सोलु हाइड्रोको १२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।   नेप्सेमा सबै उपसूचक हरियाली भएका छन् । बैंकिङदेखि बीमा, होटल, जलविद्युत र व्यापार समूहसम्म सबै क्षेत्रको सूचक बढेसँगै बजारमा सकारात्मक माहोल देखिएको हो । शुक्रबारको कारोबारमा जलविद्युत समूह सबैभन्दा धेरै १.८३ प्रतिशत ले बढ्दै ३५४१.७९ अंकमा पुगेको छ । त्यस्तै निर्जीवन बीमा समूह १.७२ प्रतिशत र लगानी समूह १.५८ प्रतिशतले उकालो लागेको छ । व्यापार समूह १.४० प्रतिशत, विकास बैंक समूह १.०५ प्रतिशत, जीवन बीमा समूह ०.९७ प्रतिशत र होटल तथा पर्यटन समूह ०.९६ प्रतिशतले वृद्धि भएका छन् । यस्तै लघुवित्त समूह ०.८९ प्रतिशत, बैंकिङ समूह ०.७८ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह ०.७७ प्रतिशत, वित्त समूह ०.४६ प्रतिशत, अन्य समूह ०.४२ प्रतिशत र म्युचुअल फन्ड समूह ०.०९ प्रतिशतले बढेका छन् ।

युनाइटेड इदी मर्दी हाइड्रोका सेयरधनीले ५.२६ प्रतिशत सेयर पाउने

काठमाडौं । युनाइटेड इदी मर्दी एण्ड आरबी हाइड्रोपावर लिमिटेडले ५.२६ प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको भदौ २५ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश प्रस्ताव आगामी १७औँ वार्षिक साधारणसभामा पेश गर्ने निर्णय गरेको हो । प्रस्तावअनुसार कम्पनीले हालको चुक्ता पुँजीको ५ प्रतिशत बराबर २ करोड ४१ लाख ९३ हजार २६० रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्नेछ । त्यस्तै, बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि चुक्ता पुँजीको ०.२६३२ प्रतिशत बराबर १२ लाख ७३ हजार ५३३ रुपैयाँ २१ पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव गरिएको कम्पनीले जनाएको छ । उक्त लाभांश प्रस्ताव वार्षिक साधारणसभाबाट पारित भएपछि मात्रै सेयरधनीले प्राप्त गर्नेछन् ।