१२ प्रतिशत लाभांश बाँड्ने निर्धन उत्थान लघुवित्तको घोषणा
काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । संस्थाको पुस २ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट कुल १२ प्रतिशत लाभांश प्रस्ताव गर्ने निर्णय गरेको हो । प्रस्तावअनुसार असार मसान्तसम्म कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र करसहित ७ प्रतिशत नगद लाभांश वितरण गरिनेछ । घोषित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई संस्थाको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीहरूलाई वितरण गरिनेछ।
नेपाल इन्स्योरेन्सले ६.३१ प्रतिशत नगद लाभांश दिने
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई वितरण गर्ने नगद लाभांश घोषणा गरेको छ । कम्पनीको पुस ३ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ६.३१५८ प्रतिशतका दरले करसहित नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । घोषित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृति प्राप्त भएपछि र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीहरूलाई वितरण गरिनेछ ।
सेयर बजारमा हरियाली, नेप्से २ हजार ६२५ बिन्दुमा
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । बुधबार (आज) नेप्से परिसूचक ५ दशमलव ७० अङ्कले बढेर २ हजार ६२५ दशमलव ७० बिन्दुमा कायम भएको हो । आज ३३२ कम्पनीको ८५ लाख ९८ हजार ४२४ कित्ता सेयर ५८ हजार ९६ पटक खरिदबिक्री हुँदा चार अर्ब पाँच करोड ३७ लाख २० हजार ७८२ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । आज होटल तथा पर्यटन, निर्जीवन बीमा र व्यापार समूहको उपसूचक घटेको छ भने अरू सबै समूहको उपसूचक बढेको छ । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेड र एसवाई प्यानल नेपाल लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने बाराही हाईड्रोपावर पब्लिक लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।