लिबर्टी इनर्जीको सेयर मूल्यमा सकारात्मक सर्किट
काठमाडौं । बिहीबार सेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १८.७१ अंकले घटेर २५२६ बिन्दुमा झरेको हो । नेप्सेका अनुसार ४८ कम्पनीको सेयर मूल्य बढ्दा २२० कम्पनीको सेयर मूल्य घटेको छ । १० कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन भएको छैन । बिहीबार ३४१ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ८७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार लिबर्टी इनर्जीको भएको छ । लिबर्टीको ४५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै रिलाइन्स स्पिीनिङको २० करोड, एनआरएन इन्फ्राइस्ट्रक्चरको १८ करोड, एसबिआई बैंकको १६ करोड र रिडि पावरको ११ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । लिबर्टी इनर्जीको सेयर मूल्य १५ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । नेप्सेमा अधिकांश उपसूचक घटेका छन् । कारोबारमा सहभागी सबै १३ उपसूचक राताम्मे हुँदा बजारमा व्यापक दबाब देखिएको हो । सबैभन्दा धेरै गिरावट उत्पादन तथा प्रशोधन समूहमा देखिएको छ । यो उपसूचक १२१ अंक अर्थात् १.१४ प्रतिशतले घटेर १० हजार ४५८.४५ बिन्दुमा झरेको छ । त्यसपछि निर्जीवन बीमा समूह ०.७८ प्रतिशत, वित्त समूह ०.६६ प्रतिशत, अन्य समूह ०.६४ प्रतिशत र म्युचुअल फन्ड समूह ०.५७ प्रतिशतले घटेका छन् । जलविद्युत समूह ०.५५ प्रतिशत, लघुवित्त समूह ०.५६ प्रतिशत, होटल तथा पर्यटन समूह ०.५० प्रतिशत र बैंकिङ समूह ०.४७ प्रतिशतले पनि गिरावट बेहोरेका छन् । यस्तै लगानी समूह ०.४१ प्रतिशत, विकास बैंक समूह ०.३४ प्रतिशत, व्यापार समूह ०.२७ प्रतिशत र जीवन बीमा समूह ०.१७ प्रतिशतले घटेका छन् ।
हाथवे इन्भेष्टमेन्टले दुई कम्पनीमा ४० करोड लगानी गर्ने
काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले दुई कम्पनीमा संस्थापक सेयरमार्फत ४० करोड रुपैयाँसम्म लगानी गर्ने निर्णय गरेको छ । कम्पनीको भदौ २४ गते बसेको २३५औँ सञ्चालक समिति बैठकले लगानीलाई क्षेत्रगत रूपमा विविधीकरण गर्ने तथा दीर्घकालीन लगानी नीति अनुरूप उक्त निर्णय गरेको कम्पनीले नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई जानकारी दिएको हो । निर्णयअनुसार हाथवे इन्भेष्टमेन्टले विजय श्री सुगर मिल्स लिमिटेडमा प्रतिसेयर १०० रुपैयाँका दरले २५ लाख कित्ता संस्थापक सेयर खरिद गर्दै २५ करोड रुपैयाँसम्म लगानी गर्नेछ । यस्तै, भिजन टेस्ला पावर प्रालिले प्रवर्द्धन गरिरहेको संखुवासभाको मकालु गाउँपालिकामा निर्माणाधीन इन्दुवा खोला पीआरओआर जलविद्युत आयोजना (२४.९२१ मेगावाट) मा प्रतिशेयर १०० रुपैयाँका दरले १५ लाख कित्ता संस्थापक सेयर खरिद गरी १५ करोड रुपैयाँसम्म लगानी गर्ने निर्णय पनि भएको छ ।
इमर्जिङ नेपालका सेयरधनीले ५५ हजार ५६० कित्ता सेयर बिक्री गर्ने
काठमाडौं । इमर्जिङ नेपाल लिमिटेडका आधारभूत सेयरधनी नन्दकिशोर मुन्दडाले ५५ हजार ५६० कित्ता सेयर बिक्री गर्ने मनसाय कम्पनीलाई जानकारी गराएका छन् । कम्पनीले बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई पत्र पठाउँदै मुन्दडाको सेयर बिक्रीसम्बन्धी निवेदन भदौ २४ गते प्राप्त भएको जनाएको हो । धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ८४ तथा नेपाल धितोपत्र बोर्डले २०८३ भदौ ९ गते जारी गरेको निर्देशनअनुसार आधारभूत सेयरधनीले आफूले धारण गरेको ५ प्रतिशत वा सोभन्दा बढी सेयर बिक्री गर्नुभन्दा कम्तीमा १५ दिनअघि कम्पनीलाई जानकारी गराउनुपर्ने व्यवस्था छ । सोही व्यवस्थाअनुसार मुन्दडाले आगामी तीन महिनाभित्र आफूले धारण गरेको उक्त सेयर बिक्री गर्ने आशय व्यक्त गर्दै कम्पनीमा निवेदन दिएका हुन् ।