सर्वोत्तम सिमेन्टको २० प्रतिशत लाभांश पारित

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडको सातौँ वार्षिक साधारण सभा भैरहवामा सम्पन्न भएको छ । ७६ प्रतिशतभन्दा बढी सेयरधनीको उपस्थिति रहेको सभाले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने प्रस्तावित २० प्रतिशत लाभांश पारित गरेको छ । साधारण सभाले आर्थिक वर्ष २०८१/८२ का लागि सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित २०८२ असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान तथा नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणहरू अनुमोदन गरेको छ । साथै, उक्त आर्थिक वर्षको मुनाफाबाट २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गरिएको छ । पारित प्रस्तावअनुसार सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गरिनेछ । सभाले लेखापरीक्षक नियुक्ति, बोनस सेयर वितरणपश्चात प्रबन्धपत्र तथा नियमावली संशोधनलगायतका सामान्य तथा विशेष प्रस्तावहरू समेत स्वीकृत गरेको छ । सभालाई सम्बोधन गर्दै कम्पनीका अध्यक्ष विष्णु न्यौपानेले सर्वोत्तम सिमेन्ट भविष्यमा अझ सुदृढ बन्दै देशकै अग्रणी सिमेन्ट कम्पनी बन्ने लक्ष्यका साथ अघि बढिरहेको बताए । उनले सेयरधनीलाई अझ बढी लाभांश दिन सकिने उपायमा कम्पनी निरन्तर क्रियाशील रहेको पनि जानकारी गराए । अध्यक्ष न्यौपानेले सर्वोत्तम सिमेन्ट नेपालमै पहिलो पटक अत्याधुनिक युरोपियन भिआरएम प्रविधिबाट सिमेन्ट उत्पादन गर्ने उद्योग भएको उल्लेख गरे । हाल कम्पनीसँग प्रतिदिन ३ हजार मेट्रिक टन क्षमताको सिमेन्ट प्लान्ट र ३ हजार मेट्रिक टन क्षमताको क्लिंकर प्लान्ट सञ्चालनमा रहेको उनले बताए ।

सेयरधारण घटाउन राष्ट्र बैंकको समयसीमा, २०८७ असारसम्म नगरे कारबाहीको चेतावनी

काठमाडौं । नेपाल राष्ट्र बैंकले तोकिएको सीमाभन्दा बढी सेयर धारण गरेका लगानीकर्तालाई सीमा कायम गर्न समय दिएको छ । बैंक तथा वित्तीय संस्थामा निर्धारित सीमाभन्दा बढी लगानी गरेका सेयरधनीले २०८७ असार मसान्तभित्र आफ्नो लगानी तोकिएको सीमाभित्र ल्याइ सक्नुपर्नेछ । विसं २०८७ असार मसान्तभित्र अनिवार्य रूपमा लगानी सीमा कायम गर्न नसकेमा कारबाही गर्ने राष्ट्र बैंकले चेतावनी दिएको छ ।  राष्ट्र बैंकका अनुसार कुनै एक बैंक तथा वित्तीय संस्थामा चुक्ता पुँजीको अधिकतम १५ प्रतिशतसम्म सेयर लगानी गर्न पाइन्छ भने अन्य बैंक तथा वित्तीय संस्थाहरूमा चुक्ता पुँजीको अधिकतम १ प्रतिशतसम्म मात्र लगानी गर्न सकिने व्यवस्था छ । साथै ‘घ’ वर्गका वित्तीय संस्थाको हकमा भने उक्त सीमा क्रमशः २५ प्रतिशत र १० प्रतिशत तोकिएको छ । यद्यपि, सरकार, नेपाल राष्ट्र बैंक तथा बैंक तथा वित्तीय संस्थाले सहायक कम्पनीमा संस्थापकको रूपमा गर्ने लगानीमा भने यो सीमा लागू हुने छैन । संस्थापक सेयरधनीहरूले हकमा तोकिएको सीमाभित्र सेयर स्वामित्व कायम नगरेमा सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट वितरण गरिने नगद लाभांश र बोनस सेयर रोक्का गरिनेछ । साथै, त्यस्ता सेयरधनीलाई सम्बन्धित संस्थाबाट जारी हुने हकप्रद सेयरमा सहभागी हुन समेत रोक लगाउन राष्ट्र बैंकले निर्देशन दिएको छ । राष्ट्र बैंकले आवश्यक ठानेमा त्यस्ता बैंक तथा वित्तीय संस्थालाई गाभ्न वा गाभिन निर्देशन दिन सक्ने व्यवस्था पनि गरेको छ । तर, सेयरधनीले चाहेमा हकप्रद सेयरको हक हस्तान्तरण गर्न भने कुनै अवरोध नहुने राष्ट्र बैंकले स्पष्ट गरेको छ ।

माउन्टेन इनर्जीको साधारणसभा सम्पन्न, २० प्रतिशत बोनस सेयर पारित

काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडको बाह्रौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सोमबार कम्पनीका अध्यक्ष प्रदिप जंग पाण्डेको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो । सभाले लाभांश सहितका विविध प्रस्ताव पारित गरेको छ ।  साधारणसभाले आव २०८१/८२ को मुनाफाबाट      सेयरधनीहरुलाई कम्पनीको हालको चुक्ता पुँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १.०५२६ प्रतिशत नगद लाभांश गरि कुल २१.०५२६  प्रतिशत लाभांश वितरण गर्ने संचालक समितिको प्रस्ताव पारित गरेको छ। कम्पनीको साधारणसभाले पारित गरेसँगै अब उक्त लाभांश लगानीकर्तामा वितरण हुनेछ । सभाले अध्यक्ष पाण्डेबाट  प्रस्तुत भएको आव २०८१/८२ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गरेको छ । त्यस्तै कम्पनीको लेखा परिक्षकको प्रतिवेदन, सहित २०८२ आषाढ मसान्तको वासलात, २०८१/८२ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वार्षिक वित्तिय विवरणसंग सम्बन्धित अनुसूचीहरु छलफल गरी पारित गरेको छ । सभाले कम्पनी ऐन २०६३ को दफा १११ अनुसार यस कम्पनीको आव २०८२/८३ को लागि लेखा परिक्षण गर्न लेखा परिक्षक नियुक्ती गरि निजको पारिश्रमिक तोक्ने निर्णय पनि गरेको छ । साथै सभाले प्रवन्ध पत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने निर्णय पारित गरेको छ । यस कम्पनीले ४२ मेगावाटको मिस्ट्री खोला र ५ मेगावाटको तादीखोला आयोजनाबाट नियमित विद्युत उत्पादन गरिरहेको छ ।