माया खोला हाइड्रोलाई १ करोड कित्ता हकप्रद सेयर निष्कासनको अनुमति

काठमाडौं । माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले १ करोड कित्ता हकप्रद सेयर निष्कासनका लागि विद्युत नियमन आयोगबाट पूर्वस्वीकृति प्राप्त गरेको छ ।  कम्पनीले नेपाल धितोपत्र बोर्डलाई जानकारी दिँदै हाल कायम १ अर्ब रुपैयाँ चुक्ता पुँजीको १ः१ अनुपातमा १ करोड कित्ता हकप्रद सेयर जारी गर्न आयोगबाट अनुमति प्राप्त भएको जनाएको हो । कम्पनीको नवौं वार्षिक साधारणसभाले हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेपछि पूर्वस्वीकृतिका लागि विद्युत नियमन आयोगमा निवेदन पेश गरिएको थियो । विद्युत नियमन आयोगले भदौ १७ गतेको पत्रमार्फत १ अर्ब रुपैयाँ बराबरको १ करोड कित्ता हकप्रद सेयर निष्कासन गर्न पूर्वस्वीकृति दिएको कम्पनीले जनाएको छ । कम्पनीले उक्त जानकारी नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज (नेप्से) र अन्य सम्बन्धित निकायलाई पठाएको छ ।

हिमालयन ८०–२० का लगानीकर्ताले पाउने भए १५ प्रतिशत लाभांश

काठमाडौं । हिमालयन क्यापिटल लिमिटेडले आफ्नो बन्दमुखी म्युचुअल फन्ड योजना ‘हिमालयन ८०–२०’ का इकाइधनीलाई आर्थिक वर्ष २०८२/८३ का लागि करसहित १५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । हिमालयन क्यापिटलले योजना व्यवस्थापकको रूपमा सञ्चालन गर्दै आएको हिमालयन म्युचुअल फन्डअन्तर्गतको पहिलो बन्दमुखी योजना ‘हिमालयन ८०–२०’ को आर्थिक वर्ष २०८२/८३ को लेखापरीक्षण सम्पन्न भएपछि प्रतिफल घोषणा गरेको हो । कम्पनीको भदौ १७ गते बसेको सञ्चालक समितिको ८१औँ बैठकले इकाइधनीलाई १५ करोड रुपैयाँ प्रतिफल वितरण गर्ने निर्णय गरेको जनाएको छ । उक्त प्रतिफल करसहित १५ प्रतिशतका दरले सम्बन्धित इकाइधनीलाई वितरण गरिने हिमालयन क्यापिटलले नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई जानकारी गराएको छ ।

५ प्रतिशत नगद लाभांश बाँड्ने मुक्तिनाथको घोषणा

काठमाडौं । मुक्तिनाथ क्यापिटल लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट ५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीको सञ्चालक समितिको भदौ ११ गते बसेको बैठकले चुक्ता पुँजीको करसहित ५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । लाभांश वितरण प्रस्ताव पारित गर्न कम्पनीले असोज ८ गते १७औँ वार्षिक साधारणसभा बोलाएको छ । सभा काठमाडौंको लाजिम्पाटस्थित मुक्तिनाथ विकास बैंकको सभाकक्षमा अपरान्ह साढे १२ बजे बस्नेछ ।  सभाले सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायतका प्रस्तावमाथि छलफल गरी पारित गर्नेछ । साथै, चालु आर्थिक वर्ष २०८३/८४ का लागि साविकका लेखापरीक्षक एनबीएसएम एण्ड एशोसिएट्सको पुर्ननियुक्त गर्ने प्रस्ताव सभाले पारित गर्नेछ । यस्तै, सभाले सञ्चालक नियुक्ति अनुमोदन गर्नेछ ।