सानिमा क्यापिटलले १० प्रतिशत नगद लाभांश बाँड्ने

काठमाडौं । सानिमा क्यापिटल लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट १० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।  कम्पनीको सञ्चालक समितिको भदौ १६ गते बसेको बैठकले चुक्ता पुँजीको करसहित १० प्रतिशतका दरले २ करोड ५० लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । लाभांश वितरण प्रस्ताव पारित गर्न कम्पनीले असोज ८ गते ११औँ वार्षिक साधारणसभा बोलाएको छ । सभा कम्पनीको रजिस्टर्ड कार्यालय नक्साल-१, काठमाडौंको सभाकक्षमा अपरान्ह ४ बजे बस्नेछ । सभाले सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायतका प्रस्तावमाथि छलफल गरी पारित गर्नेछ । साथै, चालु आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्तावसमेत सभाले पारित गर्नेछ ।

लगातार ६ दिनको गिरावटपछि बढ्यो नेप्से, पौने ३ अर्बको कारोबार

काठमाडौं । लगातार ६ कारोबार दिन ओरालो लागेको सेयर बजार मंगलबार सामान्य सुधारसहित हरियो बनेको छ । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक ९.२४ अंकले बढेर २५२२.६६ विन्दुमा बन्द भएको हो । नेप्से बढे पनि कारोबार रकम भने घटेको छ । सोमबार ३ अर्ब ६४ करोड ८६ लाख रुपैयाँ बराबरको कारोबार भएको बजारमा मंगलबार ३४१ कम्पनीका ७६ लाख १३ हजार कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम २ अर्ब ९० करोड ६९ लाख ४३ हजार रुपैयाँमा सीमित भयो । यस दिन ४८ हजार ३४१ पटक सेयर कारोबार भएको थियो । मंगलबार माथिल्लो मैलुङ खोला जलविद्युत कम्पनीको सेयर मूल्य सबैभन्दा धेरै ७.१५ प्रतिशतले बढ्यो । त्यस्तै, एमबीएल इक्विटी फन्डको इकाइ मूल्य करिब ६ प्रतिशत र इमर्जिङ नेपालको सेयर मूल्य करिब ५ प्रतिशतले उकालो लाग्यो । यता उपकार लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै घाटा बेहोरे । कम्पनीको सेयर मूल्य ८.४८ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा मंगलबार सोलु हाइड्रोपावर शीर्ष स्थानमा रह्यो । कम्पनीको १३ करोड ८२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भयो । शिवम् सिमेन्टको १३ करोड ५० लाख रुपैयाँभन्दा बढी र आँखुखोला जलविद्युत कम्पनीको १० करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । १३ उपसमूहमध्ये मंगलबार १२ उपसमूह हरियो बनेका छन् भने एक उपसमूह मात्रै घटेको छ । जलविद्युत उपसमूह सबैभन्दा धेरै १.०१ प्रतिशतले बढ्दा उत्पादन तथा प्रशोधन उपसमूह १ प्रतिशतले घटेको छ ।

शिखर पावरको १ लाख ११ हजार कित्ता सेयरको लक-इन अवधि असोज २ गते सकिने

काठमाडौं । शिखर पावर डेभलपमेन्ट लिमिटेडले सामूहिक लगानी कोषलाई छुट्याइएको १ लाख ११ हजार कित्ता साधारण सेयरको लक-इन अवधि आगामी असोज २ गते समाप्त हुने जनाएको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डलाई दिएको जानकारीअनुसार प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) मार्फत निष्काशन गरिएको सेयरमध्ये सामूहिक लगानी कोषका लागि छुट्याइएको ५ प्रतिशत अर्थात १ लाख ११ हजार कित्ता सेयरको लक-इन अवधि सकिन लागेको हो । कम्पनीको आईपीओ २०८२ चैत ३ गते बाँडफाँट गरिएको थियो । सोही मितिबाट गणना हुने गरी छ महिनाको लक-इन अवधि २०८३ असोज २ गते (१८ सेप्टेम्बर २०२६) सम्म कायम रहने कम्पनीले जनाएको छ । लक-इन अवधि समाप्त भएपछि उक्त सेयर कारोबारका लागि खुला हुनेछ ।