रिलायन्स स्पिनिङ्गले मंसिर २२ गतेदेखि आईपीओ बिक्री गर्ने, कम्तीमा ४१ हजार ४० रुपैयाँ आवश्यक
काठमाडौं । रिलायन्स स्पिनिङ्ग मिल्सले मंसिर २२ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ जारी गर्न लागेको हो । सर्वसाधारण लगानीकर्ताहरुलाई छुट्याएको ११ लाख ५५ हजार ९६० कित्ता सेयरमध्ये १० प्रतिशत अर्थात् १ लाख १५ हजार ५९६ कित्ता सेयर वैदेशिक रोजगारमा रहेका नेपालीलाई बिक्री गर्ने भएको हो । बुक बिल्डिङ्ग निर्देशिका, २०७७ को दफा (१३) को उपदफा (१) बमोजिम बोलकबोल प्रणाली मार्फत आवेदन दिने योग्य संस्थागत लगानीकर्ताहरुलाई ७ लाख ७० हजार ६४० कित्ता सेयर बाँडफाँट गर्दा कटअफ मूल्य ९१२ रुपैयाँ निर्धारण भएको थियो । सोही निर्देशिकाको दफा (१४) मा भएको व्यवस्था बमोजिम कट अफ मूल्यमा १० प्रतिशत छुट दिँदा हुन आउने प्रतिकित्ता ८२०.८० रुपैयाँ सेयर मूल्य तोकिएको छ । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम् ५० कित्तादेखि अधिकतम २० हजार कित्ता सेयरसम्म आवेदन दिन सक्नेछन् । यदि लगानीकर्ताले न्यूनतम् सेयरका लागि आवेदन दिने हो भने कम्तीमा ४१ हजार ४० रुपैयाँ जोहो गर्नुपर्नेछ । यदि अधिकतम सेयरका लागि आवेदन दिने हो भने १ करोड ६४ लाख १४ हजार रुपैयाँ जोहो गर्नुपर्ने देखिन्छ । कम्पनीको आईपीओमा लगानीकर्ताहरुले मंसिर २५ गतेसम्म आवेदन दिन सक्नेछन् । यदि सो अवधिमा पूर्ण बिक्री नभएमा पुस ७ गतेसम्म आवेदन दिने समय लम्बिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ । लगानीकर्ताहरुले बैंक तथा वित्तीय संस्था र सिडिएस एण्ड क्लियरिङले सञ्चालन गरिरहेको मेरो सेयर एपमार्फत आवेदन दिन सक्नेछन् ।
नेपाल फाइनान्सका दोस्रो ठूला सेयरधनी मानन्धर बाहिरिने, मूल्य १ सय रुपैयाँ
काठमाडौं । नेपाल फाइनान्सका संस्थापक ठूला सेयरधनी विजय मानन्धर बाहिरिने भएका छन् । मानन्धरले फाइनान्समा रहेको आफ्नो सेयर स्वामित्व बिक्री गरेर बाहिरिने भएका हुन् । फाइनान्समा मानन्धर दोस्रो ठूलो संस्थापक सेयरधनी हुन् । कम्पनीमा मानन्धरको ३.५४ प्रतिशत अर्थात् २ लाख ५८ हजार ७२८ कित्ता सेयर स्वामित्व छ । उनले आफ्नो स्वामित्वमा रहेको २ लाख २६ हजार ४०३ कित्ता संस्थापक सेयर बिक्रीमा राखेका छन् । उक्त सेयरको मूल्य न्यूनतम् प्रतिकित्ता १ सय रुपैयाँ तोकिएको छ । सो मूल्यका आधारमा २ करोड २६ लाख ४० हजार ३ सय रुपैयाँको सेयर बिक्रीमा राखिएको हो । खरिद गर्न इच्छुक लगानीकर्ताले १५ दिनभित्र न्यूनतम् मूल्य वा सो भन्दा बढी मूल्यमा आवेदन दिनुपर्नेछ । यसअघि संस्थापक सेयरधनीहरूलाई ३५ दिनको समय दिएको भएपनि कसैले पनि चासो नदिएपछि सर्वसाधारण लगानीकर्तालाई बिक्रीमा राखिएको कम्पनीले जनाएको छ ।
५ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढ्यो, ५ अर्बको कारोबार
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट देखिएको छ । बुधबार नेप्से परिसूचक १३.५२ अंकले घटेर दुई हजार ६३१ .१७ को बिन्दुमा कायम भएको हो । बुधबार ३३२ कम्पनीको एक करोड आठ लाख ७३ हजार ३७२ कित्ता सेयर ६७ हजार ४८५ पटक खरिदबिक्री हुँदा पाँच अर्ब २३ करोड ५६ लाख ९९ हजार ३३७ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । कारोबारमा वित्त समूह १.५९, होटल तथा पर्यटन ०.५२, उत्पादन तथा प्रशोधन ०.२४ र म्युचुअल फण्ड उपसमूह ०.४४ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । बैंकिङ ०.७५, विकास बैंक ०.५७, जलविद्युत् ०.५०, लगानी ०.५१, जीवन बिमा १.१८, लघुवित्त ०.४८, निर्जीवन बिमा ०.७४, व्यापार ०.३२ र अन्य समूह ०.५१ प्रतिशतले घटेको छ । सागर डिस्टिलरी, मिथिला लघुवित्त, झापा इनर्जी, स्वस्तिक लघुवित्त र श्रीनगर एग्रिटेकलगायत कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । सबैभन्दा बढी सामलिङ पावर कम्पनी लिमिटेडको सेयर मूल्य २.८५ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा बुधबार सबैभन्दा बढी बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडको १८ करोड ४९ लाख ७६ हजार ७६९ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कारोबार भएका सेयर सङ्ख्याका आधारमा भने ङादी ग्रुप पावर लिमिटेडको तीन लाख ६४ हजार ४०६ कित्ता किनबेच भएको छ ।