३ ब्रोकर कम्पनीको लाभांश घोषणा, कुनको कति ?

काठमाडौं । तीनवटा ब्रोकर कम्पनीले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् । लाभांश प्रस्ताव गर्ने कम्पनीमा सनी सेक्युरिटिज, केबीएल सेक्युरिटिज र ग्लोबल आइएमई सेक्युरिटिज रहेका छन् । सनी सेक्युरिटिजले २५ प्रतिशत, केबीएल सेक्युरिटिजले ७.५ प्रतिशत र ग्लोबल आइएमई सेक्युरिटिजले ३.८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् ।  लाभांश प्रस्ताव पारित गर्न तीनै कम्पनीले वार्षिक साधारण सभा बोलाएका छन् । सनी सेक्युरिटिजले असोज १ गते, केबीएल सेक्युरिटिजले असोज २ गते र ग्लोबल आइएमई सेक्युरिटिजले असोज ४ गते साधारण सभा गर्ने भएका छन् । तीनै कम्पनीको साधारण सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन तथा चालु आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पारित गर्नेछ । यस्तै, सनी सेक्युरिटिज र केबीएल सेक्युरिटिजको साधारण सभाले सञ्चालक नियुक्ति गर्ने प्रस्तावसमेत पारित गर्नेछ ।

संस्थापक सेयरको सीमा ५ वर्षभित्र कायम नगरे लाभांश र हकप्रदमा रोक

काठमाडौं । नेपाल राष्ट्र बैंकले तोकिएको सीमाभन्दा बढी संस्थापक सेयर धारण गर्ने सेयरधनीलाई पाँच वर्षभित्र सीमा कायम गर्न निर्देशन दिएको छ । तोकिएको सीमाभन्दा बढी भएको सेयर आफूले धारण गरेको मितिले पाँच वर्षसम्म सीमाभित्र नल्याए बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ९९ को उपदफा (३)(क) बमोजिम कारबाही हुने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार सीमा कायम नभएसम्म सम्बन्धित बैंक तथा वित्तीय संस्थाले त्यस्ता सेयरधनीले धारण गरेको सम्पूर्ण सेयरको नगद लाभांश तथा बोनस सेयर वितरणमा रोक लगाउनुपर्नेछ । साथै, त्यस्ता सेयरधनीलाई हकप्रद सेयरमा सहभागी हुनसमेत बन्देज लगाइनेछ । राष्ट्र बैंकले प्रचलित कानुन तथा आफ्ना निर्देशन पालना गर्ने सन्दर्भमा संस्थापक–संस्थापकबीच संस्थापक सेयर हस्तान्तरण गर्नुपर्ने अवस्था आएमा भने तोकिएको सीमाभन्दा बढी सेयर भए पनि खरिद–बिक्री वा हक हस्तान्तरण गर्न सकिने स्पष्ट पारेको छ । यसका लागि राष्ट्र बैंकको स्वीकृति लिनुपर्नेछ । प्रतिव्यक्ति, फर्म, कम्पनी, संस्था तथा समूहका लागि तोकिएको सीमाभन्दा बढी सेयर भए पनि स्वीकृति लिएर संस्थापक–संस्थापकबीच सेयर कारोबार गर्न बाधा नपर्ने व्यवस्था गरिएको छ ।  यस्तो अवस्थामा तोकिएको सीमाभन्दा बढी सेयरधारण गर्ने सेयरधनीलाई भने उक्त अवस्था आउनुअघि आफूले धारण गरेको सेयरमा मात्र नगद लाभांश तथा बोनस सेयर वितरण गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

एभरेष्ट बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । एभरेष्ट बैंकले लाभांश घोषणा गरेको छ । बैंक सञ्चालक समितिको भदौ ११ गते बसेको बैठकले १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।  बैंकले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीहरुलाई चुक्ता पुँजी १३ अर्ब ७२ करोड १३ लाख ७५ हजार रुपैयाँको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहितका लागि १० प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।  बैंकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपश्चात् आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीहरुले प्राप्त गर्नेछन् ।