अन्तत : रिलायन्स स्पिनिङ मिल्सले पायो आईपीओ निष्कासनको अनुमति

काठमाडौं । अन्ततस् रिलायन्स स्पिनिङ मिल्सको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) प्रक्रिया अघि बढ्ने भएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले मंगलबार (आज) डेढ वर्षदेखि रोकिएको आईपीओ  निष्कासन प्रक्रिया अघि बढाउन ग्लोबल आईएमई क्यापिटललाई निर्देशन दिएको हो । बोर्डले मंगलबार उच्च अदालत पाटनको परामदेशको आदेशलाई कार्यान्वयन गर्दै आईपीओ निष्कासनको अनुमति दिएको हो । यसअघि २०८१ असार १२ मा रिलायन्सले स्वीकृत पाए पनि त्यसका विरुद्ध उजुरी परेको थियो ।  सेबोनले मंगलबार निष्काशन तथा विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटललाई लेखेको पत्रमा समेत अदालतको आदेशलाई उल्लेख गरिएको छ । पत्रमा लेखिएको छ, ‘उच्च अदालत पाटनबाट मिति २०८१/०३/१२ मा भएको स्वीकृति बमोजिम निवेदक कम्पनीको सेयर निष्काशन सम्बन्धमा कानुनबमोजिम आवश्यक निकाशा दिनु भनी परमादेशको आदेश जारी भए अनुसार उक्त कम्पनीको सार्वजनिक निष्काशन सम्बन्धी प्रकृया अगाडी बढाउनुहुन जानकारी गराइन्छ ।’  सेबोनले कम्पनीको सेयर जारी सम्बन्धमा भएको अदालती प्रकृयाको कारण निष्काशनमा विलम्ब भएको जनाएको छ । सेबोनबाट आईपीओ निष्कासनको अनुमति पाएसँगै अब रिलायन्सको सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत हुने प्रक्रिया सुरु हुनेछ । रिलायन्सले एक वर्षअघि नै प्रतिकत्ता ८२० रुपैयाँ ८० पैसाका दरले सर्वसाधारणलाई आईपीओ निष्कासन गर्ने प्रक्रिया सुरु गरेको थियो । 

सालपा विकास बैंकले मंसिर २५ गतेदेखि आईपीओ बिक्री खुला गर्ने

काठमाडौं । सालपा विकास बैंकले मंसिर २५ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । बैंकले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ बिक्री खुला गर्ने भएको हो । बैंकले जारी पुँजी ५२ करोड २३ लाख ८८ हजार रुपैयाँको ३३ प्रतिशतका दरले हुन आउने १७ करोड २३ लाख ८८ हजार रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १७ लाख २३ हजार ८८० कित्ता सेयर जारी गर्नेछ । जसमध्ये १० प्रतिशत अर्थात् १ लाख ७२ हजार ३८८ कित्ता सेयर सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गरिने बैंकले जनाएको छ । बैंकको आईपीओमा मंसिर २९ गतेसम्म आवेदन दिन सकिनेछ । यदि उक्त अवधिभित्र बिक्री नभएमा पुस १० गतेसम्म आवेदन दिन समय लम्बिनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले न्यूनतम १० कित्तादेखि अधिकतम २५ हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।  बैंकको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ । लगानीकर्ताहरुले सीआश्वा प्रणालीमा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सक्नेछन् ।

कामना सेवा विकास बैंकले पायो अग्राधिकार सेयर निष्कासनको स्वीकृति

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले कामना सेवा विकास बैंकलाई अविमोच्य असञ्चिति अग्राधिकार निष्कासन गर्न स्वीकृति दिएको छ । बैंकले  अंकित मूल्य १ सयका दरले ३५ लाख कित्ता सेयर निष्कासन गर्न स्वीकृति पाएको हो । बैंकलाई ९ प्रतिशत लाभांश दर तोकिएको छ । विकास बैंकको १८औँ वार्षिक साधारण सभाबाट अग्राधिकार सेयर जारी गर्ने प्रस्ताव पारित गरी नेपाल राष्ट्र बैंकको स्वीकृति प्राप्त भएपछि धितोपत्र बोर्डमा पेस गरिएको थियो । बोर्डले सबै प्रक्रिया पूरा भएपछि सेयर जारी गर्ने अनुमति दिएको हो । अग्राधिकार सेयर निष्कासनपछि बैंकको पूँजीगत संरचना थप सुदृढ हुने, पुँजीकोष बढ्ने तथा बैंकले व्यवसाय विस्तारका अवसरहरू थप पाउने अपेक्षा गरिएको बैंकले जनाएको छ । बैंकका अनुसार हालको बजार तरलता तथा प्रतिफल दरको अवस्थालाई हेर्दा ९ प्रतिशत लाभांश प्रदान गर्ने अग्राधिकार सेयर संस्थागत लगानीकर्ताका लागि उचित माध्यम हुनेछ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई पुँजीकोष सुदृढीकरणका लागि हकप्रद सेयरका विकल्प स्वरूप अविमोच्य असञ्चित अग्राधिकार सेयर जारी गर्न सर्कुलरमार्फत गरेको थियो ।