सुपरमाई हाइड्रोपावरले ल्याउँदै ५९ करोड ४० लाखको हकप्रद सेयर

काठमाडौं । सुपरमाई हाइड्रोपावर लिमिटेडले ५९ करोड ४० लाख रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्न विद्युत् नियमन आयोगबाट पूर्वस्वीकृति पाएको छ । कम्पनीले हाल कायम चुक्ता पुँजीको करिब ९२.५२ प्रतिशत अर्थात् प्रतिकित्ता अनुपातमा ०.९२५२ बराबर हकप्रद सेयर निष्कासन गर्न अनुमति पाएको हो ।

कम्पनीले जारी गरेको सूचनाअनुसार आयोगले असोज २३ गते ५९ लाख ४० हजार कित्ता हकप्रद सेयर निष्कासनका लागि पूर्वस्वीकृति दिएको हो । कम्पनीको हालको चुक्ता पुँजी ६४ करोड २० लाख रुपैयाँ छ ।

कम्पनीले यसअघि कायम चुक्ता पुँजीको १ः१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्न अनुमति मागेको थियो । तर, विद्युत् नियमन आयोगले कर्जा भुक्तानीको प्रयोजनका लागि मात्र हकप्रद सेयर निष्कासन गर्न स्वीकृति दिएको हो ।

कम्पनीले हकप्रद सेयरबाट प्राप्त रकममध्ये ५१ करोड ४० लाख रुपैयाँ नबिल बैंकको कर्जा भुक्तानीमा र बाँकी ४ करोड ८० लाख रुपैयाँ मेसिनरी उपकरणको मर्मत तथा सम्भारमा खर्च गर्ने प्रस्ताव गरेको थियो । तर, आयोगको अभ्यासअनुसार मर्मतसम्भारमा खर्च गर्ने प्रयोजनका लागि हकप्रद सेयर निष्कासन गर्न नदिइने भएकाले बैंकको कर्जा तिर्न आवश्यक रकमका लागि मात्रै स्वीकृति दिइएको हो ।

आयोगले हकप्रद सेयरबाट प्राप्त रकम नबिल बैंकको कर्जा भुक्तानीमा प्रयोग गरी १५ दिनभित्र प्रमाणित कागजातसहित जानकारी गराउन कम्पनीलाई निर्देशन दिएको छ । त्यस्तै, आवश्यक अन्य निकायको सहमति लिनुपर्ने भएमा सहमति प्राप्त गरी आयोगलाई जानकारी गराउनुपर्ने सर्त पनि राखिएको छ ।

आयोगको निर्देशनअनुसार कम्पनीले पहिलो चरणमा संस्थापक सेयरधनीका लागि निश्चित समय तोकेर हकप्रद सेयर निष्कासन गर्नुपर्नेछ । संस्थापक सेयरधनीले रकम चुक्ता गरे–नगरेको विवरण सार्वजनिक गरेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि निष्कासन गर्नुपर्ने व्यवस्था गरिएको छ ।

इलाम जिल्लामा ७.८ मेगावाट क्षमताको सुपरमाई जलविद्युत् आयोजना सञ्चालन गरिरहेको कम्पनीले हकप्रद सेयर निष्कासनका लागि अब नेपाल धितोपत्र बोर्डलगायत सम्बन्धित निकायको आवश्यक प्रक्रिया पूरा गर्नुपर्नेछ । 

Share News