काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को आठौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले बैंकको चुक्ता पुँजीको ५.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावसहित प्रस्तुत सबै प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ ।
असोज २३ गते शुक्रबार काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्ड एन्ड ब्याङ्क्वेटमा बैंकका अध्यक्ष महेशप्रसाद दहालको अध्यक्षतामा सभा सम्पन्न भएको हो ।
सभामा सञ्चालक समितिका सदस्यहरू बन्धुप्रसाद बाँस्तोला, सुरेन्द्रराज रेग्मी, दीपककुमार अग्रवाल, विशाल उप्रेती, डा. मनीष थापा र अनिता रायमाझीलगायतको उपस्थिति थियो । बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीसहित सेयरधनी तथा सम्बन्धित पदाधिकारीहरू पनि सभामा सहभागी थिए ।
सभालाई सम्बोधन गर्दै अध्यक्ष दहालले समीक्षा अवधिमा बैंकले हासिल गरेका उपलब्धि, चालु आर्थिक वर्षका योजना तथा लक्ष्य र भावी रणनीतिबारे शेयरधनीलाई जानकारी गराएका थिए ।
सभामा सहभागी सेयरधनीहरूले बैंकको व्यावसायिक गतिविधि विस्तार गरी लगानीकर्ताको प्रतिफल बढाउनुपर्नेमा जोड दिएका थिए । उनीहरूले आगामी दिनमा संस्थागत सुशासन, पारदर्शिता र व्यावसायिक दक्षता अभिवृद्धि गर्दै बैंकलाई सबल वित्तीय संस्थाका रूपमा स्थापित गर्न सुझाव दिएका थिए ।
बिहान ९ बजे सुरु भएको बैंकको साधारण सभा दिउँसो करिब १२ बजे सम्पन्न भएको थियो ।