सुपर मादी हाइड्रोपावरले १५ प्रतिशत बोनस सेयर दिने

काठमाडौं । सुपर मादी हाइड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ । कम्पनीको भदौ ९ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजी २ अर्ब ३१ करोड ५२ लाख ५० हजार रुपैयाँको १५ प्रतिशत बराबर बोनस सेयर दिने प्रस्ताव गरेको हो  । प्रस्तावित बोनस सेयरको रकम ३४ करोड ७२ लाख ८७ हजार ५०० रुपैयाँ रहेको छ । जसअनुसार सेयरधनीले ३४ लाख ७२ हजार ८७५ कित्ता बोनस सेयर पाउनेछन् । त्यस्तै, बोनस सेयरमा लाग्ने लाभांश कर प्रयोजनका लागि चुक्ता पुँजीको ०.७८९४७ प्रतिशतका दरले १ करोड ८२ लाख ७८ हजार २८९ रुपैयाँ ४७ पैसा नगद लाभांश दिने प्रस्ताव गरिएको छ । बोनस सेयर र नगद लाभांश गरी कम्पनीले कुल ३६ करोड ५५ लाख ६५ हजार ७८९ रुपैयाँ ४७ पैसा बराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले प्रस्तावित लाभांश आगामी १७औँ वार्षिक साधारणसभामा पेस गर्ने जनाएको छ । साधारणसभाबाट स्वीकृत भएपछि मात्रै प्रस्तावित लाभांश सेयरधनीलाई वितरण हुनेछ ।

बेनी हाइड्रोले भदौ २२ गतेदेखि आईपीओ बिक्री गर्ने, कति कित्ता आवेदन दिने ?

काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले भदौ २२ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सेयर बिक्री गरिसकेपछि अब दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताहरुका लागि बिक्री खुला गर्न लागेको हो । कम्पनीले जारी पुँजी १ अर्ब ४ करोड रुपैयाँको २० प्रतिशत अर्थात् २० करोड ८० लाख रुपैयाँको अंकित मूल्य १ सय रुपैयाँ दरका २० लाख ८० हजार कित्ता सेयर बिक्री गर्न लागेको हो । जसमध्ये जारी पुँजीको १० प्रतिशत अर्थात् १० करोड ४० लाख कित्ता स्थानीय बासिन्दा र सर्वसाधारणलाई छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् १ लाख ४ हजार कित्ता विदेशमा रहेका नेपाली, २ प्रतिशत अर्थात् २० हजार ८०० कित्ता कर्मचारी र ५ प्रतिशत अर्थात् ५२ हजार कित्ता सेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँड गरिसकेको छ ।  अब दोस्रो चरणमा कम्पनीले ८ करोड ६३ लाख २० हजार कित्ता शेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गर्ने भएको हो । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम १० हजार कित्ता सेयरसम्म आवेदन दिन सकिनेछ ।  कम्पनीको आईपीओमा लगानीकर्ताहरुले भदौ २५ गतेसम्म आवेदन दिन सक्नेछन् । यदि उक्त अवधिमा पूर्ण बिक्री नभएमा असोज ५ गतेसम्म आवेदन दिने समय लम्बिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ । कम्पनीको आईपीओमा लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई सीआस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।

२२९ कम्पनीको सेयर मूल्य घट्यो

काठमाडौं । सोमबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १९.१३ अंकले घटेर २५९९.५८ बिन्दुमा झरेको छ ।  नेप्सेका अनुसार ४७ कम्पनीको सेयर मूल्य बढ्दा २२९ कम्पनीको सेयर मूल्य घटेको छ । २ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।  सोमबार ३५० कम्पनीको ८५ लाख कित्ता सेयर किनबेच हुँदा ३ अर्ब २३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार रिलाइन्स स्पिीनिङको भएको छ । रिलाइन्सको १२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।  साथै सोलु हाइड्रोको ११ करोड, साहस ऊर्जाको १० करोड, रिडि पावरको ९ करोड र एक्सएल डेभलपमेन्टको ७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।  आज सर्वोत्तम पेन्ट्सको सेयर मूल्य १४.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।   सोमबार नेप्सेमा सबै उपसूचक घटेका छन् । बैंकिङदेखि बीमा, जलविद्युत् र उत्पादन समूहसम्म सबै क्षेत्र राताम्मे बनेका छन् ।  जलविद्युत् उपसूचक सबैभन्दा धेरै १.१९ प्रतिशत घटेर ३,६८१.४४ बिन्दुमा झरेको छ । निर्जीवन बीमा उपसूचक १.१२ प्रतिशत घट्दा जीवन बीमा उपसूचक पनि ०.८१ प्रतिशत ओरालो लागेको छ । बैंकिङ उपसूचक ०.६७ प्रतिशत घटेर १,४३७.६६ बिन्दुमा कायम भएको छ । विकास बैंक उपसूचक ०.४७ प्रतिशत, वित्त उपसूचक ०.८० प्रतिशत र लघुवित्त उपसूचक ०.५३ प्रतिशतले घटेका छन् । उत्पादन तथा प्रशोधन उपसूचक ०.४६ प्रतिशत, अन्य उपसूचक ०.७८ प्रतिशत, म्युचुअल फन्ड उपसूचक ०.८० प्रतिशत र ट्रेडिङ उपसूचक ०.५० प्रतिशतले गिरावट बेहोरेका छन् । यस्तै, होटल तथा पर्यटन उपसूचक सामान्य ०.०१ प्रतिशतले घट्दा लगानी उपसूचक ०.४१ प्रतिशतले ओरालो लागेको छ ।