सिंगटी हाइड्रोले १०० प्रतिशत हकप्रद निष्काशन गर्ने
काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई बोनस सेयर वितरण गरेपछि कायम हुने चुक्ता पूँजीको १०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले यसअघि गत आर्थिक वर्षको मुनाफाबाट ५ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको थियो । सो बोनस सेयर परिवर्तित भई कायम हुने चुक्ता पूँजीलाई आधार मानेर १ बराबर १ अनुपातमा हकप्रद सेयर जारी गर्ने निर्णय मंसिर ८ गते बसेको सञ्चालक समितिको बैठकले गरेको हो । हकप्रद निष्काशनबाट संकलित रकम कम्पनीको ऋण चुक्ता गर्न प्रयोग गरिने कम्पनीले जनाएको छ । हकप्रद सम्बन्धी प्रस्ताव आगामी वार्षिक साधारण सभामा पेश गरी स्वीकृत गरिनेछ ।
९ प्रतिशत लाभांश वितरण गर्ने नेपाल एसबिआई बैंकको घोषणा
काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले आर्थिक वर्ष २०८१/८२ का लागि लाभांश घोषणा गरेको छ । मंसिर ८ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो आवको मुनाफाबाट सेयरधनीलाई वितरण गरिने लाभांश प्रस्ताव गर्ने निर्णय गरेको हो । बैंकले हाल कायम चुक्ता पुँजीको ४ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि समेत) गरी कुल ९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । घोषित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीहरूलाई वितरण गरिने बैंकले जनाएको छ ।
नेक्सजेन म्यानेजमेन्टले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज
काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्स लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) जारी गर्ने भएको छ । यसका लागि कम्पनीले निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई दिएको छ । नेक्सजेन म्यानेजमेन्टले १०० रुपैयाँ अंकित दरका १५ लाख कित्ता साधारण सेयर बजारमा ल्याउनेछ, जसको कुल मूल्य १५ करोड रुपैयाँ हुने कम्पनीले जनाएको छ । आईपीओ निष्कासनसम्बन्धी सम्झौता साेमबार काठमाडौंको नयाँ बानेश्वरस्थित लक्ष्मी सनराइज क्यापिटलमा सम्पन्न भयो । सम्झौतामा नेक्सजेनका तर्फबाट प्रबन्ध सञ्चालक रमेश कुमार भट्टराई र क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठले हस्ताक्षर गरेका छन् । नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्स लिमिटेडको अधिकृत पूँजी १०० करोड रुपैयाँ र जारी पूँजी ५० करोड रुपैयाँ रहेको छ । कम्पनीले स्थापना भएको तेस्रो वर्षदेखि लगातार छ वर्षसम्म खुद मुनाफा आर्जन गर्दै आएको छ । गत वर्ष नगद लाभांश वितरण गरेको कम्पनीले यस वर्षको मुनाफा जगेडा कोषमा सारिएको जानकारी दिएको छ । कम्पनीको नेटवर्थ पनि अंकित मूल्यभन्दा उच्च रहेको छ । कम्पनीका अध्यक्ष पूर्व बैकर तथा बीमा प्राधिकरणका पूर्व अध्यक्ष देवेन्द्र प्रताप शाह रहेका छन् । सम्झौता कार्यक्रममा शेयरधनी विजय बहादुर शाह र कमल पन्थीको पनि उपस्थिति रहेको थियो ।