३ हाइड्रोपावर कम्पनीको लाभांश घोषणा, कुनको कति ?

काठमाडौं । तीनवटा हाइड्रोपावर कम्पनीले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् । हिल्टन हाइड्रो इनर्जी, काबेली हाइड्रोपावर र आशुतोष इनर्जीले लाभांश प्रस्ताव गरेका हुन् । हिल्टन हाइड्रो इनर्जीले चुक्ता पुँजीको करसहित २० प्रतिशत, आशुतोष इनर्जीले करसहित १८.९४ प्रतिशत र काबेली हाइड्रोपावरले करसहित १६.३१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् । प्रस्तावित लाभांश पारित गर्न तीनवटै कम्पनीले भदौ २७ गते वार्षिक साधारणसभा बोलाएका छन् । आशुतोष इनर्जीको साधारणसभा होटल हिमालय, कुपन्डोल, ललितपुरमा हुनेछ । हिल्टन हाइड्रो इनर्जी र काबेली हाइड्रोपावरले भने काठमाडौंको नयाँ बानेश्वरस्थित द एभरेस्ट होटलमा साधारणसभा बोलाएका छन् ।  सभामा बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण अनुमोदन गर्ने, विभिन्न जलविद्युत आयोजना तथा कम्पनीमा सेयर लगानी गर्ने र बैठक भत्ता परिमार्जन गर्ने प्रस्ताव पनि पेस गरिनेछ । त्यस्तै, सञ्चालक समितिको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन तथा लेखापरीक्षकको प्रतिवेदन पारित गर्ने र चालु आर्थिक वर्ष २०८३/८४ का लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि सभामा पेस हुनेछ ।

हिमालयन बैंकको १० प्रतिशत डिबेन्चर नेप्सेबाट सूचीकरण खारेज

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले हिमालयन बैंक लिमिटेडको १० प्रतिशत डिबेन्चर २०८३ को सूचीकरण खारेज गरेको छ । नेप्सेका अनुसार बैंकले जारी गरेको ७ वर्ष अवधिको १० प्रतिशत ब्याजदर भएको प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यको २५ लाख ६६ हजार ९०४ कित्ता डिबेन्चरको सूचीकरण खारेज गरिएको हो । ‘१० प्रतिशत हिमालयन बैंक लिमिटेड डिबेन्चर २०८३’को परिपक्व अवधि भदाै ८ गते समाप्त भएको नेप्सेले जनाएको छ । परिपक्व अवधि समाप्त भएसँगै भदाै ५ गतेको कारोबार समयपश्चात उक्त ऋणपत्रको सूचीकरण खारेज गरिएको नेप्सेको पत्रमा उल्लेख छ। नेप्सेले हिमालयन बैंकबाट प्राप्त सूचीकरण खारेजीसम्बन्धी पत्रका आधारमा ऋणपत्रको सूचीकरण खारेज गर्ने निर्णय गरेको जनाएको छ । उक्त डिबेन्चर ७ वर्ष अवधिका लागि १० प्रतिशत ब्याजदरमा जारी गरिएको थियो ।

सर्वोत्तम पेन्ट्सको सेयर मूल्य १५ प्रतिशतले बढ्यो

काठमाडौं । शुक्रबार सेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) १०.६७ अंकले घटेर २६१८.७२ बिन्दुमा झरेको छ ।  नेप्सेका अनुसार ७० कम्पनीको सेयर मूल्य बढ्दा १९८ कम्पनीको सेयर मूल्य घटेको छ । १० कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।  शुक्रबार ३४४ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ४ अर्ब १६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार रिलाइन्स स्पिीनिङको भएको छ । रिलाइन्सको २६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।   साथै सोलु हाइड्रोको २४ करोड, रिडि पावरको १८ करोड र सानिमा मिडल तमोरको १३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।   सर्वोत्तम पेन्ट्सको सेयर मूल्य १५ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।