चार दिनपछि नेप्से बढ्यो, कारोबार ४ अर्ब ४० करोड नाघ्यो
काठमाडौं । बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ । नेप्से ७.१७ अंक अर्थात् ०.२७ प्रतिशतले बढेर २६२९.४० बिन्दु मा बन्द भएको हो । लगातार चार कारोबार दिन घटिरहेको नेप्से परिसूचक बिहीबार भने हरियालीमा बन्द भएको छ । नेप्सेसँगै कारोबार रकममा पनि सुधार देखिएको छ । बुधबार ३ अर्ब २९ करोड रुपैयाँको कारोबार भएको बजारमा बिहीबार ३४५ कम्पनीका ९५ लाख ७६६ कित्ता सेयर ४७ हजार ९१९ पटक किनबेच हुँदा कुल कारोबार रकम ४ अर्ब ४० करोड १४ लाख रुपैयाँ पुगेको छ । बिहीबार माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट र सर्वोत्तम पेन्ट्सको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भयो । माउन्ट एभरेष्ट पावर लगातार सातौं कारोबार दिन र सर्वोत्तम पेन्ट्स लगातार छैटौं कारोबार दिन सकारात्मक सर्किटमा पुगेका हुन् । यस्तै, एनआईसी एशिया सेलेक्ट फण्ड–३० को इकाइ मूल्य ६.५ प्रतिशतभन्दा बढी बढ्यो । भने कुमारी धनवृद्धि योजना को इकाइ मूल्य सबैभन्दा धेरै ९.७७ प्रतिशत ले घट्यो । कारोबार रकमका आधारमा नौ वर्षे कृषि विकास बैंक बन्ड शीर्ष स्थानमा रह्यो । यस बन्डको ५० करोड ६५ लाख रुपैयाँ बराबरको कारोबार भयो । त्यसपछि रिलायन्स स्पिनिङ मिल्सको ३० करोड रुपैयाँभन्दा बढी र सोलु हाइड्रोपावरको करिब २३ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । बिहीबार कारोबारमा आएका १३ उपसमूहमध्ये ६ उपसमूहको परिसूचक बढ्यो भने ७ उपसमूह घटे । सबैभन्दा धेरै जलविद्युत उपसमूह ०.९९ प्रतिशतले उकालो लाग्यो । साथै बैंकिङ, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन र अन्य उपसमूह पनि सामान्य अंकले बढेका छन् ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका ५ जना संस्थापकले बिक्रीमा राखे सेयर
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक (एनआईएमबी) का पाँच जना संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको १ लाख ७४ हजार ८८७ कित्ता संस्थापक सेयर बिक्रीमा राखेका छन् । बैंकका अनुसार पाँच जना संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको उक्त सेयर आंशिक वा पूर्ण रूपमा बिक्री गर्न आवश्यक स्वीकृतिका लागि निवेदन दिएपछि बिक्री प्रक्रिया अघि बढाइएको हो । नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार संस्थापक समूहको सेयर बिक्री गर्दा विद्यमान संस्थापक सेयरधनीलाई पहिलो प्राथमिकता दिनुपर्ने व्यवस्था छ । सोहीअनुसार सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक सेयरधनीबाट सेयर खरिदका लागि आवेदन प्राप्त नभएमा अन्य व्यक्ति वा संस्थालाई उक्त सेयर बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।
युनाइटेड अजोड इन्स्योरेन्सको १० प्रतिशत हकप्रद सेयर नेप्सेमा सूचीकृत
काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको १० प्रतिशत हकप्रद सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ। कम्पनीको कुल २३ लाख १० हजार कित्ता हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको हो। कम्पनीले निष्कासन गरेको उक्त हकप्रद सेयर बुधबार नेप्सेमा सूचीकरण भएको हो। सूचीकरणसँगै सम्बन्धित सेयरधनीले नियमअनुसार उक्त सेयर कारोबार गर्न सक्नेछन्।