१३ प्रतिशत लाभांश पारित गर्न कृषि विकास बैंकले डाक्यो मंसिर २९ गते सेयरधनी भेला
काठमाडौं । लाभांश प्रस्ताव पारित गर्न कृषि विकास बैंकले वार्षिक साधारण सभा बोलाएको छ । बैंक सञ्चालक समितिको मंसिर ४ गते बसेको बैठकले मंसिर २९ गते बोडे भक्तपुरमा बिहान ११ बजे १९औँ वार्षिक साधारण सभा बोलाएको हो । बैंकको सभाले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजीको ३.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहितका लागि ९.७५ प्रतिशत नगद गरी कुल १३ प्रतिशत लाभांश प्रस्ताव पारित गर्नेछ । बैंकको सभाले बोनस वितरण पश्चात् कायम हुने जारी र चुक्ता पुँजी वृद्धि गर्ने, प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने, गत आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन र चालु आर्थिक बर्ष २०८२/८३ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्नेछ । यस्तै, अविमोच्य असंचिति अग्राधिकार सेयरधनीलाई तोकिए बमोजिम चुक्ता पुँजीको ६ प्रतिशत नगद लाभांश वितरण गर्न स्वीकृत गर्नेछ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले मंसिर १४ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले मंसिर ११ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भई कायम सेयरधनीहरूले साधारण सभामा सहभागिता जनाई बैंकको लाभांश प्राप्त गर्न सक्नेछन् ।
मर्जरका लागि जोडी खोज्दै शाइन रेसुङ्गा बैंक
काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक मर्जर तथा एक्विजिसनमा जाने भएको छ । बैंक सञ्चालक समितिको मंसिर ४ गते बसेको बैठकले बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिसनमा जाने निर्णय गरेको हो । साथै, बैंक सञ्चालक समितिले मर्जर सम्बन्धी प्रस्ताव पारित गर्न मंसिर २६ गते बुटवल, रुपन्देहीमा १७औँ वार्षिक साधारण सभा अपरान्ह साढे १२ बजे डाकेको छ । सभाले गाभ्ने/गाभिने तथा प्राप्ति/समाहित हुने प्रयोजनका लागि उपयुक्त बैंक तथा वित्तीय संस्थाको पहिचान गर्ने, सहमति पत्रमा हस्ताक्षर गर्ने र सैद्धान्तिक स्वीकृतिका लागि राष्ट्र बैंकमा निवेदन दिने, सम्पत्ति तथा दायित्वको मूल्याङ्कन गर्न परामर्शदाता, मूल्याङ्कनकर्ता, लेखापरीक्षक नियुक्त गर्ने लगायत आवश्यक काम गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ । साथै, बैंकको सभाले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजीको ३ प्रतिशतका दरले १४ करोड ६२ लाख ७१ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनसहितका लागि १० प्रतिशतका दरले ४८ करोड ७५ लाख ७० हजार रुपैयाँ नगद गरी कुल १३ प्रतिशत लाभांश प्रस्ताव पारित गर्नेछ । यस्तै, सभाले प्रबन्ध पत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, गत आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन र चालु आर्थिक बर्ष २०८२/८३ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्नेछ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले मंसिर १२ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले मंसिर ११ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भई कायम सेयरधनीहरुले साधारण सभामा सहभागिता जनाई बैंकको लाभांश प्राप्त गर्न सक्नेछन् ।
शून्य प्रिमियममा ५० करोड रुपैयाँसम्म सेयर कर्जा, बजारमा नयाँ तरङ्ग पैदा
काठमाडौं । एनआईसी एशिया बैंकले ‘एनआईसी एशिया सेयर लोन’ योजना सार्वजनिक गरेको छ । बैंकले शून्य प्रिमियमसहित प्रतिस्पर्धी ब्याजदरमा 'सेयर लोन' योजना सार्वजनिक गरेको हो । सेयर धितो राखेर कर्जा प्रवाह गरिने यो योजनामार्फत बैंकले लगानीकर्तालाई सहज, किफायती र लचिलो कर्जा उपलब्ध गराउने लक्ष्य राखेको छ । ग्राहकहरूको आवश्यकता, बजारको चाल तथा समयको मागलाई ध्यानमा राख्दै बैंकले अर्थतन्त्रको महत्वपूर्ण पिलर मानिने सेयर बजारलाई सम्बोधन गर्ने उद्देश्यसहित यो कर्जा योजना ल्याएको जनाएको छ । यस अन्तर्गत व्यक्तिगत लगानीकर्ताले अधिकतम २५ करोड रुपैयाँ र संस्थागत लगानीकर्ताले अधिकतम ५० करोड रुपैयाँसम्म कर्जा प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ । प्रतिस्पर्धी ब्याजदर, छिटो तथा पारदर्शी सेवा र लचिलो भुक्तानी योजनासहितको सुविधाले सुसज्जित यो कर्जालाई अझ प्रभावकारी बनाउन बैंकले एकद्वार प्रणालीमा आधारित ‘कर्जा सहायता केन्द्र’ स्थापना गरी ग्राहकका सल्लाह, सुझाव, गुनासो तथा जिज्ञासाको समयमै समाधान गर्ने व्यवस्था मिलाएको छ । बैंकले यो योजनाले सेयर बजारमा सक्रिय लगानीकर्तालाई थप सहजता प्रदान गर्ने र वित्तीय पहुँच विस्तारमा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।