बढ्यो सेयर बजार, ४ कम्पनीको मूल्यमा सकारात्मक सर्किट

काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ६ अंकले बढेर २५५० बिन्दुमा पुगेको हो ।  नेप्सेका अनुसार १६७ कम्पनीको सेयर मूल्य बढ्दा ७६ कम्पनीको मूल्य घटेको छ । १३ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । सोमबार ३३५ कम्पनीको ८८ लाख कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ९४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार साहस ऊर्जाको भएको छ । साहसको १७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै शिवम् सिमेन्टको १६ करोड, एनआरएन इन्फ्राइस्ट्रक्चरको १५ करोड ८० लाख, राधी विद्युत कम्पनीको १५ करोड ३२ लाख र युनियन हाइड्रोको १३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज ४ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । बन्दीपुर केबलकारको सेयर मूल्य १० प्रतिशतले बढेको छ । सागर डिस्टीलरी, बुंगल हाइड्रो र झापा इनर्जीको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ । सोमबारको कारोबारमा समूहमा नन लाइफ इन्स्योरेन्स र अन्यको सूचक बाहेक अरु सबै सूचक बढेका छन् । बैंकिङ ०.१३, विकास बैंक १.५०, फाइनान्स ०.५६, होटल तथा पर्यटन १.०८, हाइड्रोपावर ०.८८, लगानी ०.५३, जीवन बीमा ०.६४, उत्पादन तथा प्रशोधन ०.५३, माइक्रोफाइनान्स ०.३४ तथा व्यापार समूह ०.०९ प्रतिशतले बढेका छन् ।

लक्ष्मी सनराइज बैंकले १०.५३ प्रतिशत लाभांश दिने

काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । कात्तिक ३० गते बसेको बैंकको सञ्चालक समितिको बैठकले १०.५३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । बैंकले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ ।

शिवम् सिमेन्ट्सको लाभांश घोषणा

काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडले साढे १२ प्रतिशत लाभांश दिने भएको छ ।  कम्पनी सचिव लेखनाथ अर्यालकाअनुसार शिवमले २०८१–८२ को वार्षिक साधारणसभा मंसिर २५ गते गर्ने र सो सभाले कम्पनीले प्रस्ताव गरेको लाभांश पारित गर्ने एजेन्डा रहेको छ ।    कम्पनीले चुक्ता पुँजी ५ अर्ब ५४ करोड ६८ लाख रुपैयाँ बराबरको २.५० प्रतिशत अर्थात १३ करोड ६४ लाख रुपैयाँ बराबरको बोनस सेयर र १० प्रतिशत अर्थात् ५४ करोड ५६ लाख रुपैयाँ नगद लाभांश दिने भएको छ ।  कम्पनीले साधारणसभा प्रयोजनका लागि मंसिर ११ गते एक दिनका लागि बुक क्लोजको मिति तय गरेको सचिव अर्यालले जानकारी दिएका छन् । मंसिर १० गतेसम्म कायम हरेका सेयरधनीले मात्र कम्पनीले प्रस्ताव गरेको बोनस पाउनेछन् ।