काठमाडौं । सोमबार (असोज ५ गते) बिहान लगानीकर्ताहरू सेयर कारोबारका लागि तयार थिए । केही धितोपत्र दलाल व्यवसायी (ब्रोकर) कम्पनीका कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) पनि सामान्य रूपमा सञ्चालन भइरहेका थिए । तर, कारोबार सुरु हुने समयमै अवस्था एकाएक बदलियो । सम्पूर्ण सेयर कारोबार रोकियो । कारोबार रोकिनुको कारण थियो, ७२ वटा ब्रोकरको कारोबार व्यवस्थापन प्रणाली राखिएको डाटा हब प्रालिमा भएको साइबर आक्रमण ।
एउटा प्रणालीमा समस्या आउँदा अर्को प्रणालीबाट कारोबार सञ्चालन गर्न सकिने व्यवस्था सूचना प्रविधिको सामान्य अभ्यास मानिन्छ । विशेषगरी लाखौं लगानीकर्ता जोडिएको र खर्बौं रुपैयाँ बराबरको पुँजी परिचालन हुने सेयर बजारमा आकस्मिक प्राविधिक समस्या आउँदा सेवा निरन्तर राख्न वैकल्पिक प्रणाली अर्थात् डिजास्टर रिकोभरी सिस्टम (डीआर) को व्यवस्था गरिन्छ । नेपालको सेयर बजारमा पनि त्यस्तो व्यवस्था गरिएको दाबी हुँदै आएको छ ।
तर, सोमबारको घटनाले दाबी र व्यवहारमा फरक देखिएको ब्रोकर व्यवसायीहरू बताउँछन् । डिजास्टर रिकोभरी सिस्टम भनिएको व्यवस्था किन लागू भएन ? भन्दै ब्राेकर व्यवसायीहरू प्रश्न गरिरहेका छन् ? एक ब्रोकर व्यवसायीका अनुसार ब्रोकर कम्पनीहरूले नेपाल स्टक एक्सचेञ्जले तोकेको मापदण्डअनुसार सूचना प्रविधि परीक्षण गराउँदै आएका छन् । त्यस क्रममा डिजास्टर रिकोभरी सिस्टम रहेको विवरणसमेत पेश गरिएको उनले बताए ।
‘डिजास्टर रिकोभरी सिस्टम गरेका थियाैं । हामीले आइटी अडिट गराएर नेप्सेले तोकेको मापदण्डभित्र रहेर डिजास्टर रिकोभरी सिस्टम छ भनेका छौं । सबै ब्रोकर कम्पनीले त्यो छ भनेर पठाइसकेका छन्,’ उनले भने ।
उनका अनुसार ब्रोकर कम्पनीहरूले डाटा सेन्टरका लागि मासिक रूपमा लाखौं रुपैयाँ खर्च गर्दै आएका छन् । ‘पहिला पैसा तिर्न नपर्ने प्रणालीलाई अहिले ४-५ लाख तिर्नु परेको छ । त्यो पैसा भनेको डिजास्टर रिकोभरी सिस्टमसहित डाटा ब्याकअपको हो,’ उनले भने ।
उनका अनुसार कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) सुरु हुँदा हिमालयन क्लाउडलगायत केही डाटा सेन्टरका विकल्पसमेत हेरिएको थियो । पछि प्रणाली विस्तार हुँदै जाँदा डाटा हबसँग सम्बन्धित व्यवस्था अघि बढेको थियाे । तर, सोमबार डिजास्टर रिकोभरी सिस्टम हुँदाहुँदै कारोबार किन रोकियो भन्ने प्रश्न भने कायमै रहेको उनले बताए ।
‘डिजास्टर रिकोभरी सिस्टम थियो भने कारोबार किन स्थगित गरियो भन्ने प्रश्न हो । डिजास्टर रिकोभरी सिस्टम र सीआर सबै चाहिन्छ भनिएको थियाे । हामीले सबै गरेका पनि थियाैं । तर, अप्ठ्यारो बेलामा डीआर किन चलेन ?’ उनले प्रश्न गर्दै भने ।
अर्का ब्रोकर व्यवसायीले पनि एउटा प्रणालीमा समस्या आएपछि अर्को प्रणालीबाट कारोबार सञ्चालन हुने व्यवस्था रहेको भनिए पनि सोमबारका दिन त्यो व्यवहारमा नदेखिएको बताए ।
‘एउटामा समस्या आएपछि त्यसलाई समाधान गर्नेतर्फ लागेर अर्को प्रणालीबाट सञ्चालन हुने व्यवस्था छ भनिएको थियो । तर, सोमबारको कारोबारमा त्यो देखिएन । यदि थियो भने चल्थ्यो । नचलेपछि त्यस्तो प्रणाली नरहेको पुष्टि भयो,’ उनले भने ।
उनका अनुसार एउटा प्रणालीमा मात्र समस्या आएको अवस्थामा त्यसकै आधारमा सम्पूर्ण बजार बन्द गर्नुको औचित्यबारे सम्बन्धित निकायले स्पष्ट पार्नुपर्छ । यही घटनाले नियामक निकायको भूमिकामाथि पनि प्रश्न उठाएको छ । धितोपत्र दलाल व्यवसायी मात्र होइन, नेपाल स्टक एक्सचेञ्ज र नेपाल धितोपत्र बोर्डको भूमिकाबारे पनि प्रश्न गरिरहेका छन् ।
स्टक ब्रोकर एसोसिएसन अफ नेपालका एक अधिकारी भने अहिलेको घटनालाई लिएर एकअर्कालाई दोष दिनुभन्दा आगामी दिनमा यस्ता समस्या दोहरिन नदिने गरी प्रणाली सुधार गर्नुपर्ने बताउँछन् । उनका अनुसार डाटा सेन्टर, वाइको, ब्रोकर कम्पनी, नेप्से र धितोपत्र बोर्डसहित सम्बन्धित सबै पक्ष बसेर डिजास्टर रिकोभरी सिस्टमलाई प्रभावकारी बनाउनुपर्छ ।
ब्रोकर व्यवसायीहरूका अनुसार डाटा सुरक्षित राख्ने र कारोबार प्रणाली सञ्चालनका लागि उनीहरूले नियमित रूपमा ठूलो रकम खर्च गर्दै आएका छन् ।
‘हामीले महिनाको ५-६ लाख रुपैयाँ तिर्छौं । कतिपय ब्रोकर कम्पनी त्योभन्दा बढी तिर्छन् । त्यो डाटाको क्षमताअनुसार पैसा तोकिएको हुन्छ । समस्या उत्पन्न भएपछि वैकल्पिक प्रणालीबाट तत्काल सेवा सञ्चालन हुनुपर्ने थियो,’ उनले भने, ‘यो समस्या निम्तिएपछि अर्को सिस्टमबाट तत्काल सेवा सुचारु हुनुपर्थ्यो । डिजास्टर रिकोभरी सिस्टम सञ्चालनमा आएन ।’
घटनापछि उठेका प्रश्नको जवाफ तत्कालै दिनुभन्दा पहिले वास्तविक प्राविधिक अवस्था पत्ता लगाउनुपर्ने नेपाल स्टक एक्सचेञ्जका एक उच्च अधिकारी बताउँछन् । उनका अनुसार डिजास्टर रिकोभरी सिस्टम भएको वा नभएको मात्र विषय नभई त्यसले वास्तविक अवस्थामा काम गर्न सक्ने अवस्था थियो कि थिएन भन्ने प्राविधिक पक्ष पनि महत्वपूर्ण हुन्छ ।
‘डीआर सिस्टम भएको भए चलाउन सकिन्थ्यो, सकिँदैनथ्यो भन्ने विषय फरक हो । यसको कारण के हो ? यथार्थ के हो भन्ने विषयमा रिपोर्ट तयार भइरहेको छ । अहिले अध्ययन भइरहेको छ,’ उनले भने ।
सोमबार देखिएको समस्या वैकल्पिक प्रणाली पूर्ण रूपमा सञ्चालन गर्न सकिने अवस्थासँग मात्र जोडेर हेर्न नहुने उनले बताए । ‘अस्ति आएको समस्या डीआर सिस्टम भएको भए फुल फेजमा आएको भए पनि हामीले मार्केट खोल्न सक्ने अवस्था थिएन । त्यसको संवेदनशीलता पनि बुझ्न जरुरी छ,’ उनले भने ।
डेटा हब प्रालिका प्रबन्ध निर्देशक दीपक श्रेष्ठका अनुसार डिजास्टर रिकभरी तथा बिजनेस कन्टिन्युटी भन्ने सेवा हुन्छ । त्यसमा पाँच-दस मिनेटमा वा शून्य डेटा क्षतिसहित प्रणाली पुनः सञ्चालनमा ल्याउन सकिन्छ । पाँच मिनेट, दस मिनेट वा एक घण्टामा ब्याकअप प्रणाली सञ्चालनमा ल्याउन सकिने सेवा लिन सकिन्छ । तर, त्यो सेवा सब्सक्राइब गरिएको थिएन । त्यो सेवा सब्सक्राइब नगर्नुको कारण खर्च पनि रहेको उनले बताए ।
‘यस्तो सेवा दिन महँगो पर्छ । अमेजन, माइक्रोसफ्टजस्ता कम्पनीले दिने स्तरको सेवा तयार गर्न धेरै खर्च लाग्छ । नेपालमा रहेको आर्थिक गतिविधि र आर्थिक अवस्थाले यस्तो सेवा धान्न सक्छ कि सक्दैन भन्ने प्रश्न पनि आउँछ,’ उनले भने, ‘ब्रोकर कम्पनीहरूले सेयर खरिदबिक्रीबाट निश्चित कमिसन मात्रै पाउँछन् । कमिसन कम भएकाले ब्रोकरहरूले पनि यस्तो सेवा लिन सक्ने अवस्था नभएको हो कि । हामीले त बारम्बार यस्तो सेवा लिनुपर्छ भनेर भनिरहेका छौं । हामीलाई जोखिम छ । जुनसुकै किसिमको आक्रमण पनि हुन सक्छ ।’