बिजनेस भिसामा अपराधको जालो

९ महिनामै १२१ जना डिपोर्ट

काठमाडौं । अध्यागमन विभागले अध्यागमन  कानुन विपरीत कार्य गरेको भन्दै ८८ चिनियाँको भिसा रद्द गरेको छ । बुधबार सिन्धुलीको मरिण गाउँपालिकास्थित जियान फुड प्रालिमा कार्यरत चिनियाँले अन्य कम्पनीको नाममा बिजनेस भिसा लिएको भेटिएपछि विभागले भिसा रद्द गरेको हो ।

विभागले सिन्धुलीमा बसोबास गरेका चिनियाँहरूको शंकास्पद गतिविधि लामो समयदेखि अनुसन्धान गरिरहेको थियो । जिल्ला प्रशासन कार्यालय, सिन्धुलीको समन्वयमा चिनियाँको गतिविधि विभागले नियालेको हो।

मासु प्रशोधन केन्द्रमा काम गर्ने थोरै संख्यामा रहेका चिनियाँले वर्किङ भिसा लिएको खुलेको छ । बाँकी चिनियाँहरूले फरक- फरक प्रयोजनका लागि भिसा लिएका थिए ।

उनीहरूले वर्किङ र व्यापारिक भिसा लिए पनि भिसा अनुसारको काम गरेका थिएनन् । उनीहरू सिन्धुलीको गाउँमा जाने महिला तथा युवतीहरूलाई प्रलोभनमा पारेर अनैतिक क्रियाकलापमा प्रोत्साहन गर्ने गरेको खुलेको छ ।

सिन्धुलीका महिला तथा युवतीलाई अनावश्यक दुःख दिने गरेको पाइएपछि भिसा रद्द गर्ने अवस्थामा पुगेको विभागका प्रवक्ता टीकाराम ढकालले विकासन्युजलाई जानकारी दिए ।

‘अध्यागमन विभागको टोली गएर जिल्ला प्रशासन कार्यालय सिन्धुलीको समन्वयमा त्यहाँका चाइनिज नागरिकहरूको अनुगमन गर्यौं,’  उनले भने, ‘उनीहरूले अध्यागमनको कानुन विपरीत काम गरेको पुष्टि भयो । उनीहरूको गतिविधिले समाज र राष्ट्रलाई असर पुर्याउने भएकाले कारबाही गर्नुपर्ने बाध्यता आएको हो ।’ 

उनका अनुसार विभाग र जिल्ला प्रशासन सिन्धुली सँगै मिलेर चिनियाँहरूको गतिविधिसहित सूचना संकलन गरेको थियो । नेपालको कानुन विपरीत र आपराधिक क्रियाकलापमा लागेकाले कारबाही भएको हो ।

उनीहरूले अवाञ्छित गतिविधि गर्न थालेको सूचना बारम्बार आउने गरेको थियो । पर्यटक भएर वा विदेशी कामदारको प्रकृति अनुसार काम नगरेकाले भिसा रद्द गर्नु परेको छ ।

प्रवक्ता ढकालका अनुसार  चिनियाँहरू अनलाइन स्क्याम, ठगी, बैंकिङ कसुर, विदेशी मुद्रा अपचलन, अर्काको नाममा कम्पनी चलाउने र लागुपदार्थ लगायतका कारोबारमा संलग्न छन् । ओभर स्टे तथा अध्यागमन कानुनविरुद्ध काम गरिरहेका छन् ।

मरिन मासु प्रशोधन केन्द्रमा ५ सय १ जना चिनियाँ रहेकाे विभागले जनाएकाे छ । जसमध्ये ३ सय २९ जनाको पर्यटक भिसा, एक जनाको वर्किङ र बाँकी सबैको बिजनेस भिसा रहेको थियो । 

कम्पनीमा काम गर्नेहरू तथा कम्पनी सञ्चालन गर्ने भनेर लिएकाको संख्या एकदमै कम रहेको प्रवक्ता ढकालले जानकारी दिए । बिजनेस भिसा लिएका काम गर्ने चिनियाँकाे संख्या धेरै रहेको उनको उल्लेख गरे ।

डिपोर्ट नभएसम्म भिसा रद्द गरिएका चिनियाँलाई सिन्धुलीमा राखिएको छ । भिसा रद्द गरिएको सबै प्रक्रियाको जानकारी गराइ सकिएको ढकालले बताए ।

केही चिनियाँलाई सिन्धुलीमा राखेर मनिटरिङ गरिएको छ ।  ढकालका अनुसार केही चिनियाँहरूको स्क्रिनिङ भइसकेको र केही काठमाडौं आइसकेका छन् । 

विभागले व्यापारिक भिसामा बसेका चिनियाँलाई कारबाही गरेको छ । व्यपार नगर्ने र भिसाको दुरुपयोग गर्नेहरू कारबाहीमा परेका हुन् । पर्यटक भिसामा रहेकाले काम गर्ने खुलेको पाइएपछि अनुसन्धान प्रक्रिया अगाडि बढेको ढकालले बताए । दोस्रो चरणमा पर्यटक भिसामा बसेर काम गर्नेलाई कारबाही गरिने उनले उल्लेख गरे । 

भिसाको दुरुपयोग 

‘चिनियाँहरूले रेस्टुरेन्ट खोल्ने, सफ्टवेयर कम्पनी, कम्प्युटर पसल खोल्ने भनेर बिजनेस भिसा लिएका थिए,’  ढकालले विकासन्युजसँग भने, ‘चिनियाँहरू मोजमस्ती गर्ने, रमाइलो गर्ने, बस्ने, खाने र नेपालीहरूको परम्परागत संस्कृति परम्परालाई पनि अलिकति नष्ट गर्ने लगायतका जस्ता गतिविधिमा संलग्न भएको पाइएको छ ।’  

विभागले कम्पनीमा वर्किङ भिसामा रहेका चिनियाँलाई केही गरेको छैन । काठमाडौंमा छुट्टै व्यवसाय गर्छु भनेर बिजनेस भिसा लिएका ८८ जनालाई कारबाहीको प्रक्रिया अगाडि बढाइसकेको छ । 

विभागले वर्किङ भिसा बाहेकका चिनियाँहरूलाई ५० हजार रुपैयाँसम्म जरिवाना गराउने उनले जानकारी दिए । तीन वर्ष नेपालमा आउन नपाउने गरेर निष्काशन गर्ने तयारी भइरहेको ढकालले बताए ।

नेपालबाट पठाइसकेपछि उनीहरूको पासपोर्ट कालोसूचीमा राखिन्छ । कालोसूचीमा राखिसकेपछि तीन वर्ष पुनः नेपाल आउन पाउँदैनन् । उनीहरूको गतिविधि अनैतिक र शङ्कास्पद देखिएकाले विभागले कारबाही प्रक्रिया अगाडि बढाएको ढकालले उल्लेख गरे ।

 कम्पनीको नाममा भिसा, काम अन्तै 

चिनियाँ महिलाहरू पनि भिसा दुरुपयोग गर्नेमा सहभागी भएको पाइएको छ । ‘महिलाहरू सफ्टवेयर कम्पनी खोल्ने भनेर भिसा लिएको देखिन्छ,’ प्रवक्ता ढकालले भने, ‘कम्पनी नखोल्ने तर मासु प्रशोधन केन्द्रमा गएर काम गर्ने गरेका थिए ।’ 

नेपालमा बस्न चिनियाँले सफ्टवेयर कम्पनी, रेस्टुरेन्ट अथवा अन्य कुनै प्रयोजनको लागि भिसा लिने गरेको खुलेको छ । नेपालको उदार भिसा नीति भएकाले विदेशीले त्यसलाई उपयोग गरिहाल्ने गरेको ढकालको भनाइ  छ।  

भिसाको नाममा सफ्टवेयर कम्पनी खोल्ने तर मासु प्रशोधन केन्द्रमा गएर काम गर्ने खुलेको उनले बताए । ‘यता काम देखिएको  छैन, अफिस छैन, प्रोडक्सन छैन, कामदार पनि छैन, लगानी ल्याउन प्रयाससमेत गरेका छैनन्,’  उनले भने ।

विभागले गरेको अनुसन्धान अनुसार चिनियाँहरू ६ महिनासम्म पर्यटक भिसामा बस्छन् । ६ महिनापछि पुन: पाँच महिनाको पर्यटक भिसा थप गर्ने गरेको खुलेको छ । उनीहरूले नेपालको उदार भिसा नीतिको गलत प्रयोग गर्ने गरेको ढकालको बुझाइ छ ।

पछिल्लो केही वर्ष यता नेपालमा चिनियाँहरूले भिसा परिवर्तन गरेर बस्ने गरेका छन् । सबैभन्दा धेरै भिसा परिवर्तन गरेर बस्नेमा पनि चिनियाँ छन् । चिनियाँलाई १५० दिनसम्म निःशुल्क भिसा दिने गरिएको छ ।

करिब २३ सय व्यावसायिक भिसामा विदेशी

२ हजार २ सय ९० जना व्यापारिक भिसामा विदेशीहरू छन् । जसमध्ये चिनियाँहरू १ हजार ३४५ रहेका छन् ।

त्यसैगरी, संयुक्त राज्य अमेरिका, कोरिया, बङ्गलादेश, जापान, युके, भियतनाम, रसिया, क्यानडा र अन्य मुलुकका नागरिकहरू पनि व्यावसायिक भिसामा छन् । अमेरिकाका २१७, साउथ कोरिया  १५९, बङ्गलादेशको १११, जापान ४८ र बेलायतका ४७,  भियतनाम ३६, रसिया २७, क्यानडा २३ र अन्य मुलुकका २७८ जना रहेका छन् । 

विभागका अनुसार विदेशीले सम्बन्धित संस्थाको सिफारिसमा श्रम स्वीकृति लिएर वर्किङ भिसा प्राप्त गर्छन् ।

श्रम स्वीकृति कसरी पाउँछन् ?

सम्बन्धित मन्त्रालयको पत्र, गृह मन्त्रालयको कार्य सहमति, बायोडाटा, पासपोर्ट र भिसाको प्रतिलिपि, कम्पनीको करचुक्ता कागजपत्र, कम्पनी दर्ता प्रमाणपत्र, प्यान कार्ड, कम्पनीले खोजेको दैनिक पत्रिकामा प्रकाशित विज्ञापन र सामाजिक सुरक्षा कोषमा दर्ता प्रमाणपत्र भएमा नेपालमा रहेका विदेशी कामदारले श्रम स्वीकृति सजिलै पाउँछन् । 

नेपालमा बिजनेस भिसा प्राप्त गर्न के गर्नु पर्छ ?

विदेशी लगानीलाई एफडीआई भनिन्छ । भिसा प्राप्त गर्ने व्यक्तिले  प्रतिबद्धतासहितको कागजपत्र पेश गर्नुपर्छ । विदेशीले नेपालमा ‘रोजगारी दिन्छु, नेपाली र विदेशीलाई काममा लगाउँछु ।  नाफा कमाए भने आफ्नो मुलुक लैजान्छु भनेका हुन्छन् । विदेशीले उत्पादन गर्छु’  भनेर बिजनेस भिसा लिएका हुन्छन्। 

विभागले पाँच/छ महिनाको लागि स्टडी तथा काम गर्न, कम्पनी खोल्ने, अफिसको मार्केट स्टडी गर्न भिसा दिने गरेको छ । पहिलो पटकको बिजनेस भिसा एक वर्षको हुन्छ ।  पटक-पटक गरेर छ र नौ महिनाको दिने गरेको छ।

१० करोड बढी लगानी गर्नेलाई निःशुल्क भिसा

विदेशी लगानी भित्र्याइसकेपछि प्रत्येक वर्ष भिसा नवीकरण गर्नुपर्छ । १० करोडभन्दा बढी लगानी गरेकालाई निःशुल्क भिसा दिने गरेको छ । पाँच वर्षसम्मको एकैपटक भिसा दिने गरिएको छ। 

१० करोडभन्दा कम लगानी भएमा शुल्क लाग्ने गरेको प्रवक्ता ढकालले जानकारी दिए । नेपालमा पर्यटकको भिसा लिनेमा सबैभन्दा बढी चिनियाँ रहेका छन् । भिसा नलिएर नेपालमा प्रवेश गर्न सक्ने भएकाले विभागको अभिलेखमा देखिँदैन । दोस्रोमा भारतीयहरू नेपाल आएका छन् । 

डिपोर्टमा पनि चिनियाँ बढी

सबभन्दा बढी चिनियाँ डिपोर्ट हुने गरेका छन् । विभागले प्रत्येक वर्ष विदेशीहरूलाई डिपोर्ट गर्दै आइरहेकाे छ । 

विभिन्न खालका अपराधमा संलग्न भएकाले जनवरी जनवरीदेखि हालसम्म ४१५ जना विदेशी डिपोर्ट भएका छन् । जसमध्ये चाइनिज मात्र १ सय २१ डिपोर्ट भइसकेका हुन् ।

Share News