काठमाडौं । एउटै व्यक्तिले अस्पतालको नर्सिङ प्रशासन र नर्सिङ क्याम्पसको नेतृत्व सम्हाल्दा संस्था चलाउन सहज हुन्छ कि सेवा व्यवस्थापनमै समस्या थपिन्छ ?
परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालकी प्रमुख नर्सिङ प्रशासक तथा परोपकार नर्सिङ क्याम्पसकी क्याम्पस प्रमुख डा. रिना श्रेष्ठको दोहोरो जिम्मेवारीलाई लिएर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा परेको पछिल्लो उजुरीले यही प्रश्न उठाएको छ ।
अस्पतालमा कार्यरत कर्मचारीहरूको नाममा गरिएको सामूहिक आग्रहमा श्रेष्ठले अस्पताल र क्याम्पस दुवैतर्फको जिम्मेवारी सम्हाल्दा सेवा प्रवाह तथा प्रशासनिक व्यवस्थापन प्रभावित भएको दाबी निवेदनमा गरिएको छ ।
गत जेठ २२ गते मन्त्रालयमा दर्ता गरिएको उजुरीमा उजुरीकर्ताहरूले अस्पतालको नर्सिङ प्रशासन र क्याम्पसको शैक्षिक नेतृत्व फरक–फरक जिम्मेवार व्यक्तिबाट सञ्चालन गर्नुपर्ने भन्दै श्रेष्ठलाई हालको जिम्मेवारीबाट फिर्ता बोलाई सक्षम नर्सिङ प्रशासक पठाउन मन्त्रालयसँग आग्रह गरेका छन् ।
उजुरीमा मुख्य प्रश्न श्रेष्ठको व्यक्तिगत कार्यसम्पादनभन्दा पनि एकै व्यक्तिलाई दिइएको दोहोरो संस्थागत जिम्मेवारीले व्यवस्थापनमा प्रभाव पारेको बताइएको छ ।
अस्पतालको दैनिक नर्सिङ सेवा, जनशक्ति परिचालन, ड्युटी व्यवस्थापन र प्रशासनिक समन्वयसँगै नर्सिङ क्याम्पसको शैक्षिक तथा प्रशासनिक जिम्मेवारीसमेत एउटै पदाधिकारीले सम्हाल्दा दुवैतर्फ अपेक्षित प्रभावकारिता कायम गर्न कठिन भएको दाबी कर्मचारी पक्षबाट गरिएको छ ।
डा. श्रेष्ठको नाममा उजुरी परेको यो पहिलो घटना भने होइन । उनी वीर अस्पतालको वरिष्ठ अस्पताल नर्सिङ प्रशासकका रूपमा कार्यरत रहँदा २०७८ माघमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय सतर्कता केन्द्रलगायतका निकायमा उजुरी परेको थियो ।
वीर अस्पतालका नर्सिङ कर्मचारी तथा अस्पताल सुधार पक्षधर कर्मचारीका नाममा परेको उक्त उजुरीमा श्रेष्ठमाथि विभिन्न प्रशासनिक तथा आर्थिक अनियमितताको आरोपसमेत लगाइएको थियो ।
१९ बुँदे उजुरीमा अनियमितताको छानबिनसँगै उनको शैक्षिक प्रमाणपत्र र सम्पत्तिसमेत अनुसन्धान गर्न माग गरिएको थियो ।
उजुरीमा सरकारी बिदा नलिई अध्ययन गरेको, कार्यालय समयमै निजी कलेजमा अध्यापन गर्न जाने गरेको तथा वीर अस्पतालबाटै कार्यालय समयमा निजी नर्सिङ कलेजमा अनलाइन अध्यापन गर्ने गरेको आरोप लगाइएको थियो ।
त्यस्तै, करारमा कार्यरत नर्सहरूको म्याद थपका लागि सिफारिस गर्दा पैसा माग गरेको र प्रयोगात्मक अभ्यासका लागि वीर अस्पताल आउने निजी नर्सिङ कलेजसँग आर्थिक कारोबार गरेको आरोपसमेत लगाइएको थियो ।
अस्पतालमा व्यापक विरोध भएपछि डा श्रेष्ठलाई भरतपुर अस्पताल सरुवा गरिएको थियो ।
यस विषयमा विकासन्युजले डा. श्रेष्ठसँग बुझ्ने प्रयास गरेपनि संवाद हुन सकेन ।