काठमाडौं । मोरङको विराटनगरस्थित औषधि उत्पादक कम्पनी निप्पोन फर्मास्युटिकल लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीले आवश्यक नियामकीय स्वीकृति प्राप्त भएपछि आईपीओ जारी गर्ने जनाएको छ ।
कम्पनीले आईपीओ निष्कासन तथा बिक्री व्यवस्थापनको जिम्मेवारी नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई दिएको छ । यस सम्बन्धमा दुवै पक्षबीच सम्झौता सम्पन्न भएको कम्पनीले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
सम्झौतापत्रमा निप्पोन फर्मास्युटिकलका तर्फबाट प्रबन्ध निर्देशक मन्टु घिमिरे र नबिल इन्भेष्टमेन्ट बैंकिङका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनीष नारायण जोशीले हस्ताक्षर गरेका छन् ।
निप्पोन फर्मास्युटिकल मोरङको विराटनगर महानगरपालिका–१२ बखरीमा रहेको औषधि उत्पादन कम्पनी हो । कम्पनी सन् २००६ मा दर्ता भएको र सन् २०१७ मा उद्योग स्थापना गरिएको जनाएको छ ।
कम्पनीले विश्व स्वास्थ्य संगठनको असल उत्पादन अभ्यास (डब्लुएचओ–जीएमपी) लगायत अन्तर्राष्ट्रिय गुणस्तर मापदण्डअनुसार ट्याब्लेट, क्याप्सुल, तरल औषधि, मलम, क्रिम, जेल, ओआरएस, ड्राइ सिरप र पेनिसिलिनलगायत विभिन्न प्रकारका औषधि उत्पादन गर्दै आएको छ ।
सन् २०२२ देखि व्यावसायिक उत्पादन तथा बजार विस्तार सुरु गरेको कम्पनीले हाल विभिन्न उपचारात्मक समूहका ६० भन्दा बढी औषधिजन्य उत्पादन बजारमा ल्याइसकेको जनाएको छ ।
‘सबैका लागि सुस्वास्थ्य’ भन्ने मूल नाराका साथ सञ्चालनमा रहेको कम्पनीले स्वदेशमै आवश्यक औषधिको उत्पादन बढाएर स्वास्थ्य क्षेत्रमा आत्मनिर्भरता अभिवृद्धि गर्ने लक्ष्य लिएको जनाएको छ ।