७ प्रतिशत लाभांश बाँड्ने माछापुच्छ्रे क्यापिटलको घोषणा

काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीलाई ७ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको साउन २१ गते बसेको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको करसहित ७ प्रतिशतका दरले २ करोड ४३ हजार ७६५ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव अनुमोदनका लागि कम्पनीले भदौ २४ गते दिउँसो साढे १२ बजे काठमाडौंको बालुवाटारस्थित बालुवाटार प्यालेस बैंक्वेटमा सातौं वार्षिक साधारण सभा बोलाएको छ । सभामा आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन तथा लेखापरीक्षकको प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । त्यसैगरी, चालु आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षण समितिको सिफारिसअनुसार लेखापरीक्षक नियुक्ति गर्ने तथा पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा प्रस्तुत गरिने कम्पनीले जनाएको छ ।

सिद्धार्थ बैंकबाट बाहिरिदैँ ४ जना संस्थापक

काठमाडौं । सिद्धार्थ बैंकका चार संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको संस्थापक सेयर बिक्रीमा राखेका छन् । उनीहरूले आफ्नो स्वामित्वमा रहेको ४ लाख ६९ हजार १२२ कित्ता सेयर बिक्री गरेर बैंकबाट बाहिरिन लागेका हुन् ।  बैंकका अनुसार संस्थापक सेयरधनी कृष्णराज पराजुलीले आफ्नो नाममा रहेको १ लाख १० हजार कित्ता र कृष्णकुमारी गुरुङले ४७ हजार ४७९ कित्ता सेयर बिक्रीमा राखेका छन् । पराजुली र गुरुङको नाममा रहेको सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्रै आवेदन दिन पाउनेछन् । ३५ दिनभित्र विद्यमान संस्थापक सेयरधनीबाट सेयर खरिद नभएमा सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ । यस्तै, लीलादेवी शारदाले २ लाख ७२ हजार ७३७ कित्ता र अजयकुमार जालानले ३८ हजार ९०६ कित्ता संस्थापक सेयर बिक्रीमा राखेका छन् । शारदा र जालानको नाममा रहेको सेयर खरिदका लागि सर्वसाधारण लगानीकर्ता समेतले ७ दिनभित्र आवेदन दिनुपर्नेछ । 

सेयर बजारमा साढे ५ अर्बको कारोबार

काठमाडौं । सोमबार सेयर बजारमा सामान्य गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २.२५ अंकले घटेर २६४१ बिन्दुमा झरेको छ ।  नेप्सेका अनुसार ७२ कम्पनीको सेयर मूल्य बढ्दा २०१ कम्पनीको सेयर मूल्य घटेको छ । ५ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।  सोमबार ३५० कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ५२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार रिलाइन्स स्पिीनिङको भएको छ । रिलाइन्सको १ अर्ब ३८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।  साथै सोलु हाइड्रोको ३८ करोड, रिडि पावरको १६ करोड, खानीखोला हाइड्रोको १५ करोड र विकास हाइड्रोको १२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।  आज सर्वोत्तम पेन्टस् र माउन्ट एभरेष्टको सेयर मूल्य १५ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।