प्राइम बैंकको नाफा ४.११ अर्ब, लाभांश क्षमता ९.१० प्रतिशत
काठमाडौं । प्राइम कमर्सियल बैंकको गत आर्थिक वर्ष २०८२/८३ मा खुद नाफा २८.४८ प्रतिशत बढेर ४ अर्ब ११ करोड २५ लाख ६८ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा बैंकले ३ अर्ब २० करोड ७ लाख ५८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत असारसम्म बैंकको खुद ब्याज आम्दानी ४.४७ प्रतिशत बढेर ९ अर्ब २१ करोड २६ लाख ९३ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकले ८ अर्ब ८१ करोड ८१ लाख ६२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । समीक्षा अवधिमा बैंकको खुद शुल्क तथा कमिसन आम्दानी १ अर्ब ९४ करोड ९३ लाख ५८ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी ११ अर्ब ९० करोड ८ लाख ३९ हजार रुपैयाँ र सञ्चालन नाफा ६ अर्ब ८३ करोड ३० लाख ५५ हजार रुपैयाँ रहेको छ । गत वर्ष बैंकको वितरणयोग्य नाफा १ अर्ब ९० करोड ७४ लाख १२ हजार रुपैयाँ रहेको छ । यस आधारमा बैंकको लाभांश वितरण क्षमता ९.१० प्रतिशत रहेको छ । २० अर्ब ९५ करोड ४७ लाख ८१ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १३ अर्ब ९७ करोड ६१ लाख ९८ हजार रुपैयाँ रहेको छ । गत असारसम्म बैंकको निक्षेप संकलन ५.४६ प्रतिशत बढेर २ खर्ब ७७ अर्ब ७४ करोड ३६ लाख रुपैयाँ र कर्जा लगानी ८.२९ प्रतिशत बढेर २ खर्ब २६ अर्ब ४४ करोड ११ लाख रुपैयाँ प्रवाह गरेको छ । बैंकको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८३.३६ प्रतिशत रहेको छ । अघिल्लो वर्ष १६.५० रुपैयाँ रहेको प्रतिसेयर आम्दानी गत वर्ष बढेर १९.६३ रुपैयाँ पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १७५ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात १२.२२ गुणा छ । बैंकको खराब कर्जा ५.८१ प्रतिशतबाट बढेर ६.६९ प्रतिशत पुगेको छ । बैंकको कोर क्यापिटलअन्तर्गत टायर वान क्यापिटल एडुकेसी रेसियो अघिल्लो वर्षको ९.९८ प्रतिशतबाट घटेर ९.८८ प्रतिशत कायम भएको छ । समग्र क्यापिटल एडुकेसी रेसियो भने १२.८७ प्रतिशतमा कायम रहेको छ ।
सर्वोत्तम पेन्ट्स र माउन्ट एभरेष्टको सेयर मूल्यमा सकारात्मक सर्किट
काठमाडौं । बिहीबार सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ८.८१ अंकले बढेर २६५१ बिन्दुमा पुगेको छ । नेप्सेका अनुसार १७१ कम्पनीको सेयर मूल्य बढ्दा ८६ कम्पनीको सेयर मूल्य घटेको छ । १९ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन । बिहीबार ३४७ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ७२ करोड रुपैयाँ बराबरको कारेबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार घलेम्दी हाइड्रोको भएको छ । घलेम्दीको २९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै एनआरएन इन्फ्राइस्ट्रक्चरको १६ करोड, सोलु हाइड्रोको १५ करोड, सेन्ट्रल फाइनान्सको १२ करोड र युनाइटेड मोदीको ११ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज सर्वोत्तम पेन्ट्स र माउन्ट एभरेष्टको सेयर मूल्य १५ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।
धनुषा डिष्टिलरीले आईपीओ ल्याउने, विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल
काठमाडौं । धनुषा डिष्टिलरी लिमिटेडले सर्वसाधारणमा साधारण सेयर (आईपीओ) जारी गर्ने निर्णय गरेको छ । कम्पनीले सेयर निष्काशन प्रक्रिया अघि बढाउन मुक्तिनाथ क्यापिटललाई विक्री प्रबन्धकमा नियुक्त गरेको हो । मुक्तिनाथ क्यापिटलको कार्यालयमा आयोजित एक कार्यक्रममा धनुषा डिष्टिलरीका अध्यक्ष किसन कुमार धनावत र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीबीच यससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौताअनुसार कम्पनीले भविष्यमा जारी हुने पूँजीको २० प्रतिशत साधारण सेयर सर्वसाधारणलाई विक्री गर्नेछ । सन् १९९८ मा स्थापना भएको धनुषा डिष्टिलरीले उद्योग विभागबाट उत्पादन तथा बजारीकरणको दर्ता प्रमाणपत्र लिई गुणस्तरीय मदिरा उत्पादन गर्दै आएको छ । कम्पनीको वार्षिक उत्पादन क्षमता ९१ लाख ८० हजार लिटर रहेको छ । हाल कम्पनीले प्रिमियम ब्रान्ड मुस्ताङ गोल्ड ह्विस्की र मुस्ताङ भोड्का उत्पादन गरी बजारमा वितरण गर्दै आएको छ । कम्पनीले आगामी दिनमा थप नयाँ उत्पादन बजारमा ल्याउने र गुणस्तर कायम राख्दै उत्पादन विविधीकरण तथा विस्तार गर्ने योजना बनाएको छ । साथै, नेपाली बजारका साथै अन्तर्राष्ट्रिय बजारमा समेत प्रतिस्पर्धा गर्न सक्षम बन्ने लक्ष्य कम्पनीले राखेको छ ।