आइएमई लाइफ इन्स्योरेन्सको नाफा १५ करोड ८३ लाख रुपैयाँ, यस्ता छन् अन्य वित्तीय सूचक
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८२/८३ को प्रथम त्रैमास (साउन–असोज)को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार कम्पनीले असोजसम्ममा १५ करोड ८३ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ । कम्पनीले अघिल्लो आवको यही अवधिमा १४ करोड ५० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको नाफा ९.१७ प्रतिशतले बढेको छ । कम्पनीका महाविपत्ति कोषमा २७ करोड ८६ लाख ४० हजार रुपैयाँ रहेको छ । अघिल्लो आवको यही समयमा कम्पनीको महाविपत्ति कोषमा २६ करोड २८ लाख रुपैयाँ थियो । पहिलो त्रैमाससम्ममा कम्पनीको रिटेन्ड अर्निङमा ८६ करोड २६ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवको यही अवधिमा रिटेन्ड अर्निङ ७२ करोड १७ लाख रपैयाँ थियो । त्यस्तै, कम्पनीको अन्य इक्विटीमा २० करोड ५३ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीको अन्य इक्युटीमा २३ करोड २ लाख रुपैयाँ थियो । तेस्रो त्रैमासमा कम्पनीले कम्पनीले १ अर्ब ५९ करोड ५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको असोजसम्ममा कम्पनीले १ अर्ब २१ करोड ४२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको कुल बीमाशुल्क आर्जन ३०.९९ प्रतिशतले बढेको छ । त्यस्तै, कम्पनीले असोजसम्ममा १ अर्ब ५३ करोड ६३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिसम्म कम्पनीले १ अर्ब १६ करोड ४२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन ३१.९६ प्रतिशतले बढेको छ । असोज मसान्तसम्ममा कम्पनीको जीवन बीमा कोषमा १४ अर्ब १८ करोड ६२ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्षको यही अवधिमा जीवन बीमा कोषमा १० अर्ब ७ करोड ४२ लाख रुपैयाँ थियो । अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको जीवन बीमा कोषको आकार ४०.८२ प्रतिशतले बढेको छ । असोज मसान्तसम्ममा कम्पनीको कुल सम्पत्ति २२ अर्ब १६ करोड २१ लाख ८६ हजार रुपैयाँ र सेयर पुँजी पाँच अर्ब रुपैयाँ रहेको छ । कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) १२.६७ रुपैयाँ, पीई रेसियो ३३.५६ गुणा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ १३७.४१ रुपैयाँ रहेको छ ।
५ अंकले घट्यो नेप्से, ४ कम्पनीको सेयरमा सकारात्मक सर्किट
काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५ अंकले घटेर २५६० बिन्दुमा झरेको हो । नेप्सेका अनुसार ९० कम्पनीको सेयर मूल्य बढ्दा १५१ कम्पनीको मूल्य घटेको छ । ११ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । सोमबार ३२७ कम्पनीको ८६ लाख कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५१ करोड रुपैयाँको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार एनआरएन इन्फ्राइस्ट्रक्चर एन्ड डेभलपमेन्टको भएको छ । एनआरएनको ४८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै युनियन हाइड्रोको २५ करोड, राधी विद्युतको १७ करोड र शिवम् सिमेन्टको १५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज ४ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । दरमखोला हाइड्रो, सागर डिस्टीलरी, बुंगल हाइड्रो र माबिलुङको सेयर मूल्य ९.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । त्यसैगरी उन्नति सहकार्य लघुवित्तको सेयर मूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ । सोमबारको कारोबारमा होटल तथा पर्यटन समूह १.६४ प्रतिशतले बढेको छ । त्यस्तै व्यापार ०.५५ र लगानी ०.१० प्रतिशतले बढेका छन् । यीबाहेक सबै समूहका सूचक घटेका छन् । बैंकिङ ०.६०, विकास बैंक ०.६३, फाइनान्स ०.७५, हाइड्रोपावर ०.१०, जीवन बीमा ०.२६, उत्पादन तथा प्रशोधन ०.३०, माइक्रोफाइनान्स ०.०८, निर्जीवन बीमा ०.४१ तथा अन्य ०.२९ प्रतिशतले घटेका छन् ।
नगरकोट रिसोर्टको तेस्रो वार्षिक साधारणसभा सम्पन्न, आईपीओ जारी गर्ने तयारी
काठमाडौं । नगरकोट रिसोर्ट लिमिटेडको तेस्रो वार्षिक साधारणसभा सञ्चालक समितिका अध्यक्ष सुरेन्द्र राउत क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन, वासलात, नाफा–नोक्सान तथा नगद प्रवाह विवरण पारित गरेको छ । गत आर्थिक वर्षमा रिसोर्टले ४ करोड ८५ लाख रुपैयाँ कारोबार गर्दै ५५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको जनाएको छ । हाल रिसोर्टले २४ कोठाबाट सेवा प्रदान गर्दै आएको छ भने दोस्रो चरण अन्तर्गत नयाँ भवन, स्पा र सम्मेलन कक्ष निर्माण कार्य तीव्र गतिमा अघि बढाइरहेको छ । अध्यक्ष क्षेत्रीले कम्पनीले छोटो अवधिमा उल्लेखनीय प्रगति हासिल गरेको र नगरकोट रिसोर्टलाई नेपालको अग्रणी पर्यटन गन्तव्यको रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरे । रिसोर्टले दीगो पर्यटन, स्थानीय सहकार्य र उच्चस्तरीय आतिथ्य विस्तारलाई आगामी वर्षको प्राथमिकतामा राखेको जानकारी दिइयो । कम्पनीले प्रारम्भिक सार्वजनिक प्रस्ताव (आईपीओ) जारी गर्ने तयारी गरिरहेको छ र यसका लागि केयर रेटिङ नेपाल लिमिटेडबाट 'बीबी' रेटिङ प्राप्त गरिसकेको छ ।