आज सेयर कारोबार नहुने

७२ ब्रोकरको सर्भरमा समस्या

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज सोमबारको नियमित सेयर कारोबार स्थगित गरेको छ ।

नेप्सेका अनुसार ७२ वटा कारोबार सदस्य कम्पनीको सर्भर राखिएको डाटा हब प्रालिको डाटा सेन्टरमा असोज ४ गते बिहानदेखि प्राविधिक समस्या आएको थियो । समस्या समाधानका लागि प्रयास भइरहेको भए पनि हालसम्म पूर्ण रूपमा समाधान हुन सकेको छैन ।

यस्तो अवस्थामा कारोबार सञ्चालन गर्दा नेप्सेको कारोबार प्रणालीमा समेत क्षति पुग्न सक्ने देखिएपछि आजको कारोबार स्थगित गरिएको नेप्सेले जनाएको छ ।

स्टक ब्रोकर एसोसिएसन अफ नेपालले समेत प्राविधिक समस्या समाधान नभएसम्म आजको नियमित कारोबार सत्र स्थगित गर्न नेप्सेसमक्ष निवेदन दिएको थियो ।

सोही आधारमा नेप्सेले धितोपत्र सूचीकरण तथा कारोबार नियमावली, २०७५ को नियम २१(१०) अनुसार २०८३ असोज ५ गतेको सम्पूर्ण नियमित कारोबार स्थगित गरेको हो ।

नेप्सेले कारोबार स्थगित हुँदा लगानीकर्ता तथा सम्बन्धित पक्षमा पर्न गएको असुविधाप्रति क्षमा मागेको छ ।

Share News