काठमाडौं । र्यान्समवेयर आक्रमणका कारण सोमबार रोकिएको सेयर कारोबार आज मंगलबारदेखि पूर्ववत् रूपमा सञ्चालन हुने भएको छ ।
७२ वटा ब्रोकर कम्पनीको कारोबार व्यवस्थापन प्रणालीको ब्याकअप राखिएको डाटा हब प्रालिको डाटा सेन्टरमा देखिएको प्राविधिक समस्या समाधान भएसँगै सेयर कारोबार नियमित हुने नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
नेपाल स्टक एक्सचेन्जले मंगलबार बिहान सूचना जारी गर्दै डाटा हब प्रालिमा देखिएको प्राविधिक समस्या समाधान भएको जानकारी प्राप्त भएकाले आजदेखि नेप्सेमा पूर्ववत् रूपमा कारोबार सञ्चालन हुने जनाएको हो ।
डाटा हब प्रालि नेपाल स्टक एक्सचेन्जका ७२ वटा कारोबार सदस्यका डाटा सेन्टरका रूपमा रहेको छ । सोही डाटा सेन्टरमा समस्या देखिएपछि सोमबार सेयर कारोबार स्थगित गरिएको थियो ।
नेप्सेका अनुसार समस्या समाधान भएसँगै ७२ वटै ब्रोकर कम्पनीको कारोबार व्यवस्थापन प्रणालीमार्फत सेयर कारोबार नियमित रूपमा सञ्चालन हुनेछ ।