यस्तो छ कामना सेवा विकास बैंकको लाभांश इतिहास

काठमाडौं । कामना सेवा विकास बैंकले सेयरधनीलाई १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंक सञ्चालक समितिको शुक्रबार बसेको बैठकले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले हाल कायम चुक्ता पुँजी ४ अर्ब २१ करोड १९ लाख ३० हजार रुपैयाँमध्ये अग्राधिकार सेयर पुँजी ३५ करोड रुपैयाँमा ९ प्रतिशतका दरले १ करोड ४० लाख ६७ हजार रुपैयाँ र साधारण सेयर पुँजी ३ अर्ब ८६ करोड १९ लाख ३० हजार रुपैयाँमा १५ प्रतिशतका दरले ५७ करोड ९२ लाख ८९ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त नगद लाभांश कर प्रयोजनका लागि समेत हुने बैंकले जनाएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिनेश थकालीका अनुसार प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि र बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीलाई वितरण गरिनेछ । यसअघि बैंकले आर्थिक वर्ष २०८१/८२ को नाफाबाट १० प्रतिशत बोनस सेयर र ५.७८ प्रतिशत नगद गरी कुल १५.७८ प्रतिशत लाभांश वितरण गरेको थियो ।  यस्तै, आर्थिक वर्ष २०८०/८१ मा ७ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद गरी १२ प्रतिशत, आव २०७८/७९ मा ४.४१ प्रतिशत बोनस सेयर र ०.२३ प्रतिशत नगद गरी ४.६४ प्रतिशत तथा आव २०७७/७८ मा १८.५ प्रतिशत बोनस सेयर र ०.९७ प्रतिशत नगद गरी कुल १९.४७ प्रतिशत लाभांश वितरण गरेको थियो । बैंकले आव २०७६/७७ मा ४.४ प्रतिशत बोनस सेयर र ०.२३ प्रतिशत नगद गरी ४.६३ प्रतिशत, आव २०७५/७६ मा ६.८ प्रतिशत नगद, आव २०७४/७५ मा १.५ प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद गरी ९.५ प्रतिशत तथा आव २०७३/७४ मा ५.५ प्रतिशत बोनस सेयर र ६.५ प्रतिशत नगद गरी १२ प्रतिशत लाभांश वितरण गरेको थियो । त्यसैगरी, आव २०७२/७३ मा २१.५८ प्रतिशत बोनस सेयर, आव २०७१/७२ मा २२.६० प्रतिशत बोनस सेयर र १.१९ प्रतिशत नगद गरी २३.७९ प्रतिशत, आव २०७०/७१ मा २१ प्रतिशत बोनस सेयर र १.१० प्रतिशत नगद गरी २२.१० प्रतिशत, आव २०६९/७० मा १५ प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद गरी २१ प्रतिशत तथा आव २०६८/६९ मा १५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

ग्रिनप्लाई नेपालले करिब साढे १६ लाख कित्ता आईपीओ जारी गर्ने

काठमाडौं । प्लाइउड उत्पादन तथा निर्यात गर्दै आएको ग्रिनप्लाई नेपालले आईपीओ जारी गर्ने भएको छ ।  कम्पनीको शुक्रबार (आज) सम्पन्न विशेष साधारण सभाले जारी पुँजीको २० प्रतिशत अर्थात् १६ लाख ४० हजार कित्ता साधारण सेयर सर्वसाधारणका लागि निष्कासन गर्ने प्रस्ताव पारित गरेको हो । मोरङको बुढीगंगा गाउँपालिका–५ मा रजिष्टर्ड कार्यालय रहेको कम्पनी गत आर्थिक वर्षमै पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण भइसकेको थियो ।  आईपीओ निष्कासनको तयारीस्वरूप कम्पनीले विशेष साधारण सभामार्फत संस्थापक सेयरको मूल्यसमेत निर्धारण गरेको छ । सभाले संस्थापक सेयरको अंकित मूल्यमा १२५ रुपैयाँ प्रिमियम थप गरी मूल्य कायम गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार ग्रिनप्लाई नेपालले पछिल्ला वर्षमा वित्तीय रूपमा समेत सुधार गर्दै आएको छ ।  आर्थिक वर्ष २०८१/८२ मा कम्पनीको बिक्री अघिल्लो वर्षको तुलनामा १८.९६ प्रतिशतले बढेर करिब ४७ करोड ५० लाख रुपैयाँ पुगेको छ । कम्पनी विगत पाँच वर्षदेखि निरन्तर नाफामा सञ्चालन हुँदै आएको दाबी गरिएको छ । यसले कम्पनीको वित्तीय अवस्था, व्यवस्थापन क्षमता तथा व्यवसायिक स्थायित्व बलियो रहेको देखाउने कम्पनीको भनाइ छ । ग्रिनप्लाईले आफ्नो उत्पादनको करिब ३० प्रतिशत नेपाली बजारमा बिक्री गर्दै आएको छ भने ७० प्रतिशतभन्दा बढी उत्पादन भारतलगायत अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्दै आएको जनाएको छ ।  निर्यातका लागि कम्पनीले भारतीय बजारमा बीआईएस सर्टिफिकेशन समेत प्राप्त गरेको छ । निर्यात प्रवद्र्धनबापत नेपाल सरकारबाट निर्यात अनुदानसमेत प्राप्त गर्दै आएको कम्पनीले जनाएको छ । आर्थिक वर्ष २०८१/८२ मा कम्पनीको पूँजीगत संरचनामा पनि सुधार भएको जनाएको छ । कम्पनीको ओभरअल गियरिङ अनुपात ७.४१ गुणाबाट घटेर २.४४ गुणामा आएको छ । यस अवधिमा कम्पनीमा ६ करोड रुपैयाँ नयाँ सेयर पुँजी थपिएको थियो ।  नेपाल वित्तीय प्रतिवेदन मापदण्ड (एनएफआरसी) अनुरूप सञ्चित नाफा समायोजन भएपछि कम्पनीको मूर्त खुद सम्पत्ति (नेट ट्यांजिबल एसेट) करिब ८ करोड २० लाख रुपैयाँबाट बढेर २२ करोड ६० लाख रुपैयाँ पुगेको कम्पनीले जनाएको छ ।

सेयर किने, लाभांश बिर्सिए

काठमाडौं । तपाईंले वर्षौंअघि कुनै बैंक तथा वित्तीय संस्थाको सेयर किन्नुभएको थियो ? सेयर किनेपछि त्यसको लाभांश आयो कि आएन भनेर कहिल्यै हेर्नुभएको छैन ? यदि त्यसो हो भने तपाईंको नाममा पनि लाखौं रुपैयाँ लाभांश थन्किएको हुन सक्छ । तर, त्यसरी थन्किएको रकम सधैं बैंक तथा वित्तीय संस्थामै रहँदैन । लाभांश घोषणा भएको पाँच वर्षसम्म पनि सम्बन्धित सेयरधनीले नबुझे त्यस्तो रकम कम्पनी रजिस्ट्रारको कार्यालयले सञ्चालन गरिरहेको लगानीकर्ता संरक्षण कोषमा जम्मा हुन्छ । कम्पनी रजिस्ट्रारको कार्यालय स्रोतका अनुसार लामो समयदेखि लाभांश नलिएका एकै लगानीकर्ताले ४ लाख रुपैयाँसम्म फिर्ता लिएका छन् । कार्यालयमा अहिले पनि २०५२ सालदेखिको लाभांश नलिएका सेयरधनी रकम दाबी गर्न आउने गरेका छन् ।  बैंक तथा वित्तीय संस्थाहरूको पछिल्लो तथ्याङ्कअनुसार उनीहरूले घोषणा गरेको नगद लाभांशमध्ये ४ अर्ब बढी रकम अझै सेयरधनीले बुझिलिएका छैनन् । पाँच वर्षभन्दा बढी समयसम्म लाभांश नलिइएपछि अहिले लगानीकर्ता संरक्षण कोषमा मात्रै १ अर्ब २० करोड रुपैयाँ बढी जम्मा छ ।  कम्पनी रजिष्ट्रारको कार्यालयका अनुसार गत आर्थिक वर्ष २०८२/८३ मा मात्रै लगानीकर्तालाई ९३ लाख रुपैयाँ फिर्ता गरिएको थियो । अघिल्लो आर्थिक वर्षमा ४१ लाख रुपैयाँ फिर्ता भएको थियो । लगानीकर्तालाई ताकेता गर्ने अभ्यास बढेपछि आफ्नो लाभांश खोज्दै आउने क्रम बढेको कार्यालयको भनाइ छ । कम्पनी रजिष्ट्रारको कार्यालयमा वर्षौं पुरानो लाभांश खोज्दै आउने लगानीकर्ता अहिले पनि भेटिन्छन् । कार्यालय स्रोतका अनुसार कतिपय सेयरधनीले २०५२ सालदेखिको लाभांशसमेत दाबी गरेका छन् । रकम फिर्ता लिन आउनेमध्ये धेरैले आफूलाई त्यसबारे सूचना नै नपुगेको बताउने गरेका कार्यालय स्रोतको भनाइ छ ।  ‘विगतमा सेयर आवेदन तथा अभिलेखको प्रणाली अहिलेको जस्तो व्यवस्थित थिएन । नागरिकता संकलन गरेर एउटै व्यक्तिले धेरैको सेयर आवेदन भर्ने अभ्यास थियो । त्यतिबेला बैंक खाता राख्ने अभ्यास पनि थिएन,’ कार्यालय स्रोतले भन्यो, ‘त्यसकारण कतिपय व्यक्तिलाई आफ्नो नाममा सेयर छ कि छैन, सेयरबाट लाभांश आएको छ कि छैन भन्ने जानकारीसमेत हुँदैन ।’ अहिले डिम्याटको अभ्यास र बैंक खाता अनिवार्य गरिएपछि भने यस्तो समस्या घट्दै गएको कार्यालयको भनाइ छ । कार्यालयका अनुसार अहिले हरेक वर्ष थपिँदै गएको लाभांशको ठूलो हिस्सा नयाँ सेयरधनीको नभई पुरानै सेयरधनीको हो । नयाँ रकम थपिएको भए पनि बैंक खाता नमिलेका कारण भुक्तानी हुन नसकेको अवस्था बढी रहेको कार्यालयले जनाएको छ ।  डिम्याट भएपछि लाभांश खातामा नबिल बैंकका नायव महाप्रबन्धक गणेशप्रसाद अवस्थीका अनुसार अहिले डिम्याट भएका सेयरधनीको लाभांश बैंक खातामा सिधै जम्मा हुने भएकाले नयाँ लाभांश अड्किने समस्या कम रहेको छ । ‘अहिले त डिम्याट भइसकेपछि स्वतः बैंक खातामा जम्मा हुन्छ । डिम्याट नभएका सेयरधनीहरूको लाभांश बाँकी हुन्छ,’ उनले भने ।  उनका अनुसार पुरानो समयमा सेयर लिँदा बैंक खाता उपलब्ध नगराएका सेयरधनीको लाभांश कम्पनीमै रहन्छ । पछिल्लो समय डिम्याट खाता खोलिसकेपछि बैंक खाता पनि जोडिने भएकाले सोही खातामा नगद लाभांश सिधै पठाउन सकिन्छ । बोनस सेयरसमेत डिम्याट खातामै जाने गरेको छ । लगानीकर्ता छोटेलाल रौनियारका अनुसार लाभांश नलिनुको एउटा कारण लगानीकर्ताको निष्क्रियता पनि हो । विशेषगरी लाभांश आएको छ कि छैन भनेर धेरै लगानीकर्ताले नियमित रूपमा जाँच नगर्ने गरेको उनको भनाइ छ । कतिपयको कर तिर्न बाँकी रहेका कारण बोनस वा लाभांशसम्बन्धी प्रक्रिया पूरा नभएको अवस्था पनि हुन सक्ने उनले बताए । ‘कतिपय लगानीकर्तालाई लाभांश घोषणा भएको जानकारी हुँदैन । कतिपयले सेयर किनेर राखेपछि बिर्सिएका हुन्छन् । कोही दूरदराजमा हुन्छन् भने कोही विदेशमा,’ उनले भने, ‘सेयर किनेपछि लगानीकर्ताले आफ्नो लगानीप्रति नियमित चासो राख्नुपर्छ । साधारणसभा, लाभांश घोषणा र आफ्नो सेयरसम्बन्धी विवरणबारे जानकारी लिनुपर्छ ।’ उनका अनुसार मोबाइल नम्बर नराखेका, नम्बर परिवर्तन भएपछि अद्यावधिक नगरेका वा गलत नम्बर दिएका लगानीकर्ता पनि छन् । कतिपयले बैंक खाता खोले पनि त्यसलाई सक्रिय नगरेका कारण लाभांश खातामा आउन नसक्ने अवस्था रहेको उनको भनाइ छ । कम्पनी तथा बैंकहरूले पनि आफ्नो सेयरधनीलाई सूचना पु¥याउन सक्रिय हुनुपर्ने उनको भनाइ छ । लगानीकर्ताले सूचना नपाउँदा आफ्नो रकमबारे अनभिज्ञ रहन सक्ने भएकाले कम्पनीले उपलब्ध माध्यमबाट जानकारी गराउनुपर्ने उनले बताए । ‘कम्पनीहरूले पनि चासो राखेर कुनै न कुनै माध्यमबाट सूचना दिनुपर्छ । ताकि त्यो सेयरधनीले सूचना पाओस्,’ लगानीकर्ता रौनियारले भने । ग्लोबल आइएमई बैंकका कम्पनी सचिव विष्णु प्रसाद बाँस्कोटाका अनुसार कतिपय लगानीकर्ताले सानो कित्ता सेयर भएकाले आफ्नो लगानीलाई धेरै महत्व नदिँदा लाभांश नलिएको हुन सक्छ । कतिपय सेयरधनी विदेशमा रहेको र कतिपयले आफ्नो लगानी कहाँ कति छ भनेर ध्यानपूर्वक नहेर्ने गरेको उनको भनाइ छ । ‘आफूले कहाँ सम्पत्ति लगानी गरेको छ, कहाँ राखिएको छ, त्यसको प्रतिफल कस्तो आइरहेको छ भनेर सम्बन्धित सेयरधनीहरूले चासो राख्नुपर्ने हो,’ उनले भने, ‘कतिपयले एकपटक सेयर भरेपछि त्यसको फलोअप गर्दैनन् । डिम्याट नगरेका तथा कम्पनीसँग सम्पर्कमा नरहेका सेयरधनीका कारण पनि लाभांश बाँकी रहेको छ ।’ बास्कोटाका अनुसार ८–१० वर्षअघिसम्म आईपीओ आउँदा एक व्यक्तिले धेरैको नागरिकता संकलन गरेर फर्म भर्ने अभ्यास हुने गरेको थियो । त्यस्ता सेयरधनी अहिले पनि भेटिन्छन् । कतिपय अवस्थामा आफूले सेयर नभराएको दाबी गर्ने र रकम ठूलो देखिएपछि आफूले नै सेयर भरेको दाबी गर्ने अवस्था आउने गरेको उनले बताए । डिम्याट प्रणाली सुरु भएपछि भने सेयर स्वामित्व र अभिलेख प्रणाली धेरै व्यवस्थित भएको उनको भनाइ छ । अहिले सम्बन्धित व्यक्ति आफैं सेयर भर्ने र आफ्नो विवरणसँगै डिम्याट तथा बैंक खाता जोडिने भएकाले पुरानो जस्तो समस्या कम हुँदै गएको छ । के हुन्छ कोषमा रहेको रकम ? कम्पनी रजिष्ट्रारको कार्यालयका अनुसार लगानीकर्ता संरक्षण कोषमा जम्मा भएको १ अर्ब २० करोड रुपैयाँ सम्बन्धित सेयरधनीले दाबी गरेपछि फिर्ता पाउने रकम हो । सम्बन्धित सेयरधनी आफैं आएर प्रमाण पेस गरेमा रकम फिर्ता दिइन्छ । सेयरधनीको मृत्यु भइसकेको अवस्थामा पनि कानुनी हकदारले आवश्यक प्रमाण पूरा गरी रकम लिन सक्ने व्यवस्था छ ।  कोषमा रहेको रकम अन्य प्रयोजनमा परिचालन नगरिएको कार्यालयले जनाएको छ । रकम सुरक्षित खातामा राखिएको छ । कार्यविधिमा बैंकको मुद्दती निक्षेपमा राख्न सकिने व्यवस्था भए पनि अहिले उक्त रकम मुद्दती निक्षेपमा राख्नका लागि कोही नआएको कार्यालय स्रोत बताउँछ ।  मुद्दतीबाट प्राप्त हुने ब्याजबाट लगानीकर्ता सचेतनासम्बन्धी कार्यक्रम गर्न सकिने व्यवस्था कार्यविधिमा छ । तर कार्यालयको मुख्य उद्देश्य सम्बन्धित लगानीकर्तालाई रकम फिर्ता गर्नु हो । ‘यो लगानीकर्ताको पैसा हो । जति फिर्ता भयो, त्यति नै राम्रो हो,’ कार्यालय स्रोतले भन्यो ।  कुन बैंकमा कति छ ? पछिल्लो तथ्याङ्कअनुसार बैंक तथा वित्तीय संस्थाहरुमा ४ अर्ब १४ करोड रुपैयाँ बढी लाभांश रकम अझै सेयरधनीले बुझिलिएका छैनन् भने पाँच वर्षभन्दा बढी समयसम्म लाभांश नलिइएपछि अहिले लगानीकर्ता संरक्षण कोषमा मात्रै १ अर्ब २० करोड रुपैयाँ बढी जम्मा छ । बाँकी लाभांशमध्ये सबैभन्दा धेरै कृषि विकास बैंकका सेयरधनीको नाममा रहेको छ । बैंकको ५० करोड २५ लाख ७० हजार रुपैयाँ लाभांश बुझिलिन बाँकी छ । त्यसपछि ग्लोबल आइएमई बैंकमा ४१ करोड २२ लाख रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा ३९ करोड ६ लाख रुपैयाँ, प्राइम बैंकमा ३२ करोड ७ लाख रुपैयाँ, हिमालयन बैंकमा २९ करोड ५९ लाख रुपैयाँ, कुमारी बैंकमा २५ करोड ७१ लाख रुपैयाँ लाभांश बाँकी रहेको छ । यस्तै, प्रभु बैंकमा २५ करोड ८३ लाख रुपैयाँ, स्ट्याण्डर्ड चार्टर्ड बैंकमा २० करोड ४४ लाख रुपैयाँ, नेपाल एसबिआई बैंकमा १९ करोड ७१ लाख रुपैयाँ, नेपाल बैंकमा १८ करोड १८ लाख रुपैयाँ, एनएमबि बैंकमा १६ करोड २७ लाख रुपैयाँ, सिटिजन्स बैंकमा १२ करोड ९१ लाख रुपैयाँ, लुम्बिनी विकास बैंकमा १२ करोड ५७ लाख रुपैयाँ, महालक्ष्मी विकास बैंकमा ११ करोड ६४ लाख रुपैयाँ लाभांश सेयरधनीले बुझ्न बाँकी छ । सानिमा बैंकमा ८ करोड ६५ लाख रुपैयाँ, सिद्धार्थ बैंकमा ८ करोड ७४ लाख रुपैयाँ, एनआईसी एशिया बैंकमा ८ करोड ५८ लाख रुपैयाँ, एभरेष्ट बैंकमा ३ करोड ४७ लाख रुपैयाँ, माछापुच्छ्रे बैंकमा ४ करोड ९४ लाख रुपैयाँ, सांग्रिला डेभलपमेन्ट बैंकमा २ करोड ६४ लाख रुपैयाँ, गरिमा विकास बैंकमा ३ करोड ३३ लाख रुपैयाँ, मुक्तिनाथ विकास बैंकमा १ करोड ४५ लाख रुपैयाँ, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकमा २ करोड ३९ लाख रुपैयाँ, मञ्जुश्री फाइनान्समा १ करोड ४२ लाख रुपैयाँ, आईसीएफसी फाइनान्समा १ करोड ३४ लाख रुपैयाँ, लाभांश बुझिलिन बाँकी छ ।  यस्तै, कामना सेवा विकास बैंकमा २१ लाख ३३ हजार रुपैयाँ, एक्सेल डेभलपमेन्ट बैंकमा १७ लाख ७३ हजार रुपैयाँ, सिन्धु विकास बैंकमा ३ लाख ५ हजार रुपैयाँ, ज्योति विकास बैंकमा ६४ लाख २२ हजार रुपैयाँ, रिलायन्स फाइनान्समा ७० लाख ६ हजार रुपैयाँ, गुह्वेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्समा ४१ लाख ७८ हजार रुपैयाँ, पोखरा फाइनान्समा २४ लाख ३५ हजार रुपैयाँ, बेष्ट फाइनान्समा ५ लाख ९४ हजार रुपैयाँ, सेन्ट्रल फाइनान्समा ५ लाख ७८ हजार रुपैयाँ, जानकी फाइनान्समा १ लाख ७९ हजार रपैयाँ, श्रीइन्भेष्टमेन्ट फाइनान्समा २ लाख ४२ हजार रुपैयाँ र क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्समा २ लाख ४६ हजार रुपैयाँ लाभांश बुझिलिन बाँकी छ ।