एसवाई प्यानलको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । एसवाई प्यानल नेपालको आईपीओमा आवेदन दिने आज कात्तिक २३ गते अन्तिम दिन रहेको छ । कात्तिक १९ गतेदेखि बिक्री खुला गरेको कम्पनीको आईपीओमा सर्वसाधारण लगानीकर्ताहरुले आजसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले जारी पुँजी १ अर्ब ३० करोड ८१ लाख ३७ हजार १ सय रुपैयाँको ४० प्रतिशत अर्थात् ५२ करोड ३२ लाख ५४ हजार ८ सय रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ५२ लाख ३२ हजार ५४८ कित्ता सेयर जारी गर्नेछ । जसमध्ये २ प्रतिशत अर्थात् २ लाख ६१ हजार ६२७ कित्ता सेयर उद्योग प्रभावित क्षेत्र चितवनको रत्ननगर नगरपालिकाका स्थानीय बासिन्दा, १० प्रतिशत अर्थात् ४ लाख ९७ हजार ९२ कित्ता सेयर विदेशमा रोजगार गरिरहेका नेपालीलाई बिक्री गरिसकेको छ । बाँकी रहेको ४९ लाख ७० हजार ९२१ कित्ता सेयरमध्ये ३ प्रतिशत अर्थात् १ लाख ४९ हजार १२७ कित्ता कर्मचारीहरूलाई, ५ प्रतिशत अर्थात् २ लाख ४८ हजार ५४६ कित्ता सामूहिक लगानी कोष र ४० लाख ७६ हजार १५६ कित्ता सर्वसाधारण लगानीकर्ताहरुका लागि बिक्री खुला गरिएको कम्पनीले जनाएको छ । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ । कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो सेयर वेब तथा एपबाट पनि आवेदन दिन सक्नेछन् ।

मारूती सिमेन्ट्सको १० प्रतिशत लाभांश घोषणा

काठमाडौं । मारूती सिमेन्ट्सले लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजीको करसहित १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लाभांश पारित गर्न कम्पनीले ३१औँ वार्षिक साधारण सभा मंसिर १५ गते बिहान साढे ११ बजे रजिस्टर्ड कार्यालय बिराटनगरमा बोलाएको हो । सभाले आर्थिक वर्ष २०८१/८२ कम्पनीको संचालक समितिले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रदान गरेको १ लाख रुपैयाँ भन्दा माथिका रकमहरू अनुमोदन गर्नेछ । यस्तै कम्पनीको संचालक समितिको निर्णयबाट विभिन्न बैंकहरूबाट लिएको ऋण र आर्थिक वर्ष २०८१/८२ मा गरेका निर्णयहरू अनुमोदन गर्नेछ ।  यस्तै संचालक समितिको गत आव २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन र चालु आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्नेछ ।

लक्ष्मी सनराइज क्यापिटलको १५औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । लक्ष्मी सनराइज क्यापिटलले १५औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न गरेको छ । सभामा वार्षिक प्रतिवेदन, आषाढ मसान्तको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण अनुमोदन गरिएको छ ।  साथै आगामी आव २०८२/०८३ को लेखापरीक्षण कार्यका लागि हालका लेखापरीक्षक एन.बी.एस.एम एण्ड एशोसिएट्सलाई पुनः नियुक्त गर्ने निर्णय गरिएको छ । सभाले आषाढ मसान्त २०८२ अनुसार प्रति सेयर आम्दानी १८.२० रहेकोमा वितरण योग्य आम्दानीको १७.८३ प्रतिशत मध्ये १५.७९ प्रतिशत अर्थात ७.७२ करोड (कर सहित) नगद लाभांश सेयरधनीलाई वितरण गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीले नेपालको पुँजी बजारको इतिहासमा पहिलोपटक सेयर निष्काशनसँग सम्बन्धित मर्चेण्ट बैंकिङ्ग र सामूहिक लगानी कोष सञ्चालनको सुरुआत गरेको थियो। विगत तीन दशकदेखि कम्पनीले नेपालको धितोपत्र बजारको विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । हाल कम्पनीले करिब ६ अर्ब रुपैयाँ बराबरको पाँचवटा बन्दमुखी म्युचुअल फण्ड र एक वटा खुल्लामुखी म्युचुअल फण्ड सञ्चालन गर्दै आएको छ । आव २०८१/०८२ मा सबै म्युचुअल फण्डले दोहोरो अंकको प्रतिफल वितरण गर्न सफल भएका छन् ।  साथै लक्ष्मी सस्टनेवल ईनर्जी फण्ड जसको पुँजी एक अर्ब रुपैयाँ रहेको छ, दिगो उर्जा क्षेत्रमा लगानी गर्ने उद्देश्यमा अघि बढिरहेको क्यापिटलले जनाएको छ ।