प्रभु स्टक मार्केटले ५ प्रतिशत नगद लाभांश दिने

काठमाडौं । प्रभु स्टक मार्केट लिमिटेडले सेयरधनीलाई ५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीको सञ्चालक समितिको भदौ २९ गते बसेको बैठकले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफा तथा रिजर्भ कोषबाट चुक्ता पुँजीको ५ प्रतिशतका दरले १ करोड रुपैयाँ नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

लाभांश प्रस्ताव पारित गर्न कम्पनीले असोज २३ गते अपराह्न ४ बजे काठमाडौंको बुद्धनगरस्थित कार्यालयमा तेस्रो वार्षिक साधारण सभा बोलाएको छ ।

सभामा गत आर्थिक वर्षको सञ्चालक समितिको वार्षिक प्रतिवेदन तथा लेखापरीक्षकको प्रतिवेदन पारित गर्ने र चालु आर्थिक वर्ष २०८३/८४ को लेखापरीक्षणका लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने प्रस्तावसमेत पेस हुनेछ ।

त्यसैगरी, सञ्चालक समितिको रिक्त स्थानमा गरिएको सञ्चालकहरूको नियुक्ति अनुमोदन गर्ने, सञ्चालक समितिको संख्या परिवर्तन गर्ने तथा सञ्चालकको पारिश्रमिक, भत्ता र सुविधासम्बन्धी व्यवस्थामा संशोधन गर्ने प्रस्ताव सभामा पेस हुनेछ ।

कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई सम्पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्तावसमेत सभाले पारित गर्नेछ । 

Share News