ग्रिनप्लाई नेपालले करिब साढे १६ लाख कित्ता आईपीओ जारी गर्ने

काठमाडौं । प्लाइउड उत्पादन तथा निर्यात गर्दै आएको ग्रिनप्लाई नेपालले आईपीओ जारी गर्ने भएको छ । 

कम्पनीको शुक्रबार (आज) सम्पन्न विशेष साधारण सभाले जारी पुँजीको २० प्रतिशत अर्थात् १६ लाख ४० हजार कित्ता साधारण सेयर सर्वसाधारणका लागि निष्कासन गर्ने प्रस्ताव पारित गरेको हो ।

मोरङको बुढीगंगा गाउँपालिका–५ मा रजिष्टर्ड कार्यालय रहेको कम्पनी गत आर्थिक वर्षमै पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण भइसकेको थियो । 

आईपीओ निष्कासनको तयारीस्वरूप कम्पनीले विशेष साधारण सभामार्फत संस्थापक सेयरको मूल्यसमेत निर्धारण गरेको छ ।

सभाले संस्थापक सेयरको अंकित मूल्यमा १२५ रुपैयाँ प्रिमियम थप गरी मूल्य कायम गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार ग्रिनप्लाई नेपालले पछिल्ला वर्षमा वित्तीय रूपमा समेत सुधार गर्दै आएको छ । 

आर्थिक वर्ष २०८१/८२ मा कम्पनीको बिक्री अघिल्लो वर्षको तुलनामा १८.९६ प्रतिशतले बढेर करिब ४७ करोड ५० लाख रुपैयाँ पुगेको छ ।

कम्पनी विगत पाँच वर्षदेखि निरन्तर नाफामा सञ्चालन हुँदै आएको दाबी गरिएको छ । यसले कम्पनीको वित्तीय अवस्था, व्यवस्थापन क्षमता तथा व्यवसायिक स्थायित्व बलियो रहेको देखाउने कम्पनीको भनाइ छ ।

ग्रिनप्लाईले आफ्नो उत्पादनको करिब ३० प्रतिशत नेपाली बजारमा बिक्री गर्दै आएको छ भने ७० प्रतिशतभन्दा बढी उत्पादन भारतलगायत अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्दै आएको जनाएको छ । 

निर्यातका लागि कम्पनीले भारतीय बजारमा बीआईएस सर्टिफिकेशन समेत प्राप्त गरेको छ । निर्यात प्रवद्र्धनबापत नेपाल सरकारबाट निर्यात अनुदानसमेत प्राप्त गर्दै आएको कम्पनीले जनाएको छ ।

आर्थिक वर्ष २०८१/८२ मा कम्पनीको पूँजीगत संरचनामा पनि सुधार भएको जनाएको छ । कम्पनीको ओभरअल गियरिङ अनुपात ७.४१ गुणाबाट घटेर २.४४ गुणामा आएको छ ।

यस अवधिमा कम्पनीमा ६ करोड रुपैयाँ नयाँ सेयर पुँजी थपिएको थियो । 

नेपाल वित्तीय प्रतिवेदन मापदण्ड (एनएफआरसी) अनुरूप सञ्चित नाफा समायोजन भएपछि कम्पनीको मूर्त खुद सम्पत्ति (नेट ट्यांजिबल एसेट) करिब ८ करोड २० लाख रुपैयाँबाट बढेर २२ करोड ६० लाख रुपैयाँ पुगेको कम्पनीले जनाएको छ ।

Share News