काठमाडौं । यस वर्षको दशैंअघि नै सरकारका पाँच जना सचिवहरू सेवाबाट बाहिरिने भएका छन् ।
असोज दोस्रो सातादेखि तेस्रो सातासम्मको करिब पाँच दिनको अवधिमा सचिव तथा सचिवसरहका पाँच उच्च अधिकारी अनिवार्य अवकाशमा जाने भएका हुन् ।
निजामती किताबखानाको अवकाशसम्बन्धी विवरणअनुसार पूर्वाधार विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल, जल तथा ऊर्जा आयोगका सचिव डा. सरजुकुमार वैद्य, नायव महान्यायाधिवक्ता सञ्जीवराज रेग्मी, उपमहालेखापरीक्षक बैकुण्ठबहादुर अधिकारी र राष्ट्रिय योजना आयोगका सदस्य सचिव रविलाल पन्थ असोजमा सेवाबाट बाहिरिने भएका हुन् ।
सूचीअनुसार सबैभन्दा पहिले गोपालप्रसाद सिग्देल असोज १३ गते अवकाशमा जानेछन् । सचिव पदमा पाँच वर्षे कार्यकाल पूरा गरेपछि उनी अनिवार्य अवकाशमा जान लागेका हुन् । प्राविधिक सेवाबाट सचिव बनेका सिग्देलले पूर्वाधार तथा विकास क्षेत्रसँग सम्बन्धित विभिन्न महत्त्वपूर्ण जिम्मेवारी सम्हाल्दै आएका छन् ।
सिग्देलले अवकाश लिएको दुई दिनपछि जल तथा ऊर्जा आयोगका सचिव डा. सरजुकुमार वैद्य असोज १५ गते सेवाबाट बाहिरिनेछन् । ५८ वर्षे उमेरहद पूरा भएका कारण उनी अनिवार्य अवकाशमा जान लागेको किताबखानाको तथ्यांकले देखाएको छ ।
वैद्यले जल तथा मौसम विज्ञान विभागको महानिर्देशकदेखि विभिन्न मन्त्रालय तथा निकायको सचिवसम्मको जिम्मेवारी सम्हालिसकेका छन् ।
असोज १७ गते दुई जना विशिष्ट श्रेणीका अधिकारीको अवकाश हुनेछ । नायब महान्यायाधिवक्ता सञ्जीवराज रेग्मी र उपमहालेखापरीक्षक बैकुण्ठबहादुर अधिकारी सोही दिन सेवाबाट बाहिरिनेछन् ।
कितावखानाका अनुसार दुवै जना सचिवहरु ५८ वर्षे उमेरहदका कारण अनिवार्य अवकाशमा जान लागेका हुन् ।
रेग्मी र अधिकारीले अवकाश लिएको भोलिपल्ट राष्ट्रिय योजना आयोगका सदस्यसचिव रविलाल पन्थ असोज १८ गते अवकाशमा जानेछन् । सचिव पदमा पाँच वर्षे कार्यकाल पूरा भएपछि उनी सेवाबाट बाहिरिन लागेका हुन् ।
पन्थले संघीय सरकारका विभिन्न निकायमा जिम्मेवारी सम्हाल्नुका साथै गण्डकी प्रदेशको प्रमुख सचिवका रूपमा समेत काम गरिसकेका छन् ।
असोज १३ देखि १८ गतेसम्म पाँच दिनको अवधिमा पाँच जना विशिष्ट श्रेणीका अधिकारी सेवाबाट बाहिरिने किताबखानाको तथ्यांकले देखाएको छ ।