७२ ब्रोकरको डाटा जोखिममा, ४५ खर्बको पुँजी बजारको सुरक्षामाथि प्रश्न

काठमाडौं । सन् २०२० अक्टोबर १ मा टोकियो स्टक एक्सचेन्ज (टीएसई) को कारोबार प्रणालीमा प्राविधिक समस्या आयो । एक्सचेन्जको इतिहासमै पहिलो पटक पूरै दिन बजार बन्द भयो र ३ हजार ५०० भन्दा बढी कम्पनीको कारोबार रोक्नुपर्यो । जापानको नियामकले छानबिन सुरु गर्यो । नैतिक जिम्मेवारी लिँदै टीएसईका प्रमुख कार्यकारी अधिकृत कोइचिरो मियाहाराले पदबाट राजीनामा दिए भने अन्य उच्च अधिकारीको तलबसमेत कटौती गरियो ।

नोभेम्बर २०२० मा अस्ट्रेलियन सेक्युरिटिज एक्सचेन्ज (एएसएक्स) को सफ्टवेयर अद्यावधिकपछि डाटा जडानमा समस्या आयो । कारोबार सुरु भएको केही मिनेटमै पूरै दिन बजार बन्द गर्नुपर्यो । अस्ट्रेलियाको नियामकले अनुसन्धान थाल्यो ।

लगानीकर्ताले एएसएक्सविरुद्ध अदालतमा मुद्दासमेत दायर गरे । पछि एएसएक्सले नियामकलाई २०.५ मिलियन अस्ट्रेलियन डलर जरिवाना र ३ मिलियन डलर अदालती खर्च तिर्न सहमति जनाएको थियो । प्रभावित ब्रोकर तथा लगानीकर्तालाई राहत दिन एक्सचेन्जले विशेष व्यवस्था पनि गर्नुपरेको थियो ।

यी उदाहरण प्रस्तुत गर्दै सेयर बजार विश्लेषक सुवास चन्द्र ढुङ्गानाले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘अनि नेपालमा चाहिँ ? यो एकदम सामान्य विषय हो ! यो भइरहन्छ, यसैमा हामीले बानी पार्नुपर्छ ! हामी अहिले अन्तर्राष्ट्रिय स्तरको प्रविधि भित्र्याउने योजना भइरहेको अवस्थामा यस्ता झिनामसिना कुरामा अल्झिनु मूर्खता सिवाय अरू केही होइन !’

विश्वका ठूला पुँजी बजारमा कारोबार प्रणालीमा आउने प्राविधिक वा साइबर सुरक्षासम्बन्धी समस्या केवल एक दिन कारोबार रोकिएको घटनाका रूपमा मात्रै हेरिँदैन । यस्ता घटनाले बजारको प्राविधिक पूर्वाधार, साइबर सुरक्षा, जोखिम व्यवस्थापन, वैकल्पिक प्रणाली र नियामकीय तयारीमाथि समेत प्रश्न उठाउँछन् ।

७२ ब्रोकर कम्पनीको सर्भर राखिएको डाटा सेन्टर डाटा हब प्रालिको प्रणालीमा र्यान्समवेयर आक्रमणपछि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सोमबार सेयर कारोबार स्थगित गर्याे । यो घटना केवल एक दिन कारोबार रोकिएको विषयमा मात्रै सीमित नभई नेपालको पुँजी बजारको प्राविधिक पूर्वाधार र साइबर सुरक्षाको अवस्थामाथि पनि प्रश्न उठाउने विषय बनेको छ । 

लगानीकर्ता छोटेलाल रौनियारका अनुसार नेपालको सेयर बजारमा प्रयोग भइरहेको प्रणालीको गुणस्तर र अन्तर्राष्ट्रिय मापदण्डको विषयमा सुरुदेखि नै प्रश्न उठ्दै आएको छ । विगतदेखि नै प्रणाली बेला-बेला ह्याक हुने, ढिलो चल्ने तथा अनलाइन टीएमएसमा समस्या देखिने गरेको उनले सुनाए । 

लगानीकर्ताको करिब ४५ खर्ब रुपैयाँ पुँजी रहेको सेयर बजारमा यस्ता समस्यालाई सामान्यीकरण नगर्न आफूहरूले विगतदेखि नै आवाज उठाउँदै आएको रौनियार बताउँछन् ।

‘नेपालको सेयर बजारमा अन्तर्राष्ट्रिय स्तरको टीएमएस ल्याउनुपर्ने आवश्यकता छ । त्यसका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड, नेप्से र अर्थ मन्त्रालयले गम्भीरतापूर्वक काम गर्नुपर्छ भनेर हामीले विगतदेखि नै भन्दै आएका हौं,’ उनले भने, ‘एक-दुई अर्ब रुपैयाँ खर्च गरेर अन्तर्राष्ट्रिय स्तरको टीएमएस ल्याउनुपर्ने हो । सरकारले गम्भीर भएर लोभ-लालचमा नलागी अन्तर्राष्ट्रिय मापदण्डअनुसारको प्रणाली ल्याउनुपर्छ भने पनि सुनुवाइ भएन ।’

रौनियारका अनुसार प्रणाली निर्माण तथा सञ्चालनको खर्च बजारबाटै उठ्ने कमिसनबाट व्यवस्थापन गर्न सकिने भए पनि दीर्घकालीन प्राविधिक पूर्वाधार निर्माणमा पर्याप्त ध्यान पुग्न सकेको छैन । भोलिका दिनमा गैरआवासीय नेपाली तथा विदेशी लगानीकर्ता नेपालमा प्रवेश गर्दा नेपालको पुँजी बजारको प्राविधिक पूर्वाधार पनि सोहीअनुसारको हुनुपर्ने उनको भनाइ छ ।

बजारमा कारोबार बन्द हुँदा त्यसको तत्कालीन आर्थिक असर मात्र नभई नेपालको पुँजी बजारप्रतिको विश्वसनीयतामा समेत असर पर्न सक्ने एक ब्रोकर व्यवसायी बताउँछन् । ‘कारोबार बन्द गर्नु भनेको राज्य र लगानीकर्ताका लागि ठूलो घाटाको विषय हो,’ उनले भने, ‘एक दिन बजार बन्द हुनु एउटा विषय हो । तर, प्रणाली कति सुरक्षित छ, हामीले कस्तो प्रणाली प्रयोग गरिरहेका छौं र साइबर सुरक्षाका हिसाबले कति सुरक्षित छौं भन्ने मुख्य विषय हो ।’

उनका अनुसार संसारभर साइबर आक्रमण भइरहेका छन् । सम्भावित आक्रमणपछि प्रणालीलाई कसरी सुरक्षित राख्ने, क्षति कम गर्ने र वैकल्पिक प्रणालीबाट सेवा सञ्चालन गर्ने भन्ने विषय महत्त्वपूर्ण हुन्छ । ‘अरूले चोरी गर्न प्रयत्न गर्नु स्वाभाविक हो । त्यसकारण आफैंले कसरी सुरक्षित राख्ने भन्नेमा ध्यान दिनुपर्छ,’ उनले भने ।

डाटा सेन्टरमा डाटा राख्दा अपनाउनुपर्ने सुरक्षा मापदण्ड, आवश्यक सुरक्षा उपकरण तथा आकस्मिक अवस्थामा प्रणाली सञ्चालन गर्न सकिने वैकल्पिक संरचनाका विषयमा समेत पुनरावलोकन आवश्यक रहेको उनको भनाइ छ ।

अर्का एक ब्रोकर व्यवसायीका अनुसार ब्रोकर कम्पनीहरूले वाईसीओ (वाइको) लाई डाटा व्यवस्थापनदेखि डिजास्टर रिकभरीसम्मका विभिन्न सेवाका लागि नियमित शुल्क तिर्दै आएका छन् । यस्तो अवस्थामा आपत्कालीन अवस्थामा वैकल्पिक प्रणालीबाट कारोबार सञ्चालन गर्न सकिने व्यवस्था किन कार्यान्वयनमा आएन भन्ने प्रश्न पनि उठेको उनले बताए ।

‘कुनै एउटा साइटमा आक्रमण भएको छ भने अर्को सिस्टमबाट कारोबार सुचारु गर्न सकिन्थ्यो । तर, त्यो हुन सकेन,’ ती ब्रोकर व्यवसायीले भने । उनका अनुसार यसको जिम्मेवारी ब्रोकर कम्पनी, सेवा प्रदायक र नियामकबीच कसरी बाँडिएको थियो भन्ने विषयमा समेत समीक्षा आवश्यक छ ।

‘वाईसीओ (वाइको) लाई डिजास्टर रिकभरीसहितको पैसा तिरेको ब्रोकर कम्पनीहरूको दाबी छ । यदि पैसा तिरेको हो भने किन त्यो व्यवस्था लागू भएन भनेर हेर्नुपर्छ,’ उनले भने ।

डाटा हबको पछिल्लो घटनाले नेपालको सेयर बजारमा साइबर सुरक्षाको तयारी, डाटा भण्डारणको संरचना, सेवा प्रदायकमाथिको निर्भरता र आकस्मिक अवस्थामा कारोबार निरन्तरता दिन सकिने वैकल्पिक व्यवस्थाबारे पुनः समीक्षा गर्नुपर्ने आवश्यकता देखाएको छ । अबको चुनौती कारोबार पुनः सञ्चालन गर्नु मात्र नभई यस्ता घटना दोहोरिँदा बजारको कारोबार र डाटा सुरक्षालाई कसरी निरन्तरता दिने भन्नेमा केन्द्रित हुने देखिन्छ ।

सिडिएस एण्ड क्लियरिङ लिमिटेडका एक उच्च अधिकारीका अनुसार सीडीएससीको मुख्य प्रणालीमा हालसम्म कुनै समस्या देखिएको छैन । डाटा हबमा समस्या आएपछि आफ्नो प्रणालीमा पनि सम्भावित जोखिम हुन सक्ने भएकाले सम्बन्धित प्रणालीसँगको जडानबारे परीक्षण भइरहेको उनले बताए ।

‘हाम्रो प्रणालीमा समस्या देखिएको छैन । तर, जोखिम भने देखियो,’ ती अधिकारीले भने ।

ब्रोकर कम्पनी तथा अन्य प्रणालीसँग फछ्र्योट प्रक्रियाका क्रममा हुने जडानबाट साइबर सुरक्षा जोखिम भित्रिन सक्ने सम्भावनालाई ध्यानमा राखेर परीक्षण भइरहेको सीडीएससीको भनाइ छ । सीडीएससीले आफ्नो मुख्य प्रणाली अन्य पक्षलाई पूर्ण रूपमा उपलब्ध नगराएको र हाल ब्रोकर कम्पनीको प्रणालीसँगको जडानसमेत विच्छेद गरिएको जनाएको छ । सम्बन्धित प्रणाली पूर्ण रूपमा सुरक्षित भएको पुष्टि भएपछि मात्रै पुनः जडान गर्ने तयारी गरिएको छ ।

यस्तो अवस्थामा वैकल्पिक प्रणाली अर्थात् डिजास्टर रिकभरी साइटको भूमिका महत्त्वपूर्ण हुन्छ । एउटा स्थानमा समस्या आए अर्को स्थानबाट प्रणाली सञ्चालन गर्न सकिने व्यवस्था भए कारोबार तथा अन्य सेवा पूर्ण रूपमा बन्द गर्नुपर्ने अवस्था कम गर्न सकिन्छ । 

सीडीएससीले आफ्नो डाटा सेन्टर सिंहदरबारसहित तीन स्थानमा राखेको जनाएको छ । एउटा स्थानमा समस्या आए अर्को स्थानबाट प्रणाली सञ्चालन गर्न सकिने र सबै स्थानमा वास्तविक समयमै डाटा अद्यावधिक हुने व्यवस्था रहेको सीडीएससीको भनाइ छ ।

नेप्सेका एक अधिकारीका अनुसार ७२ ब्रोकर कम्पनीको डाटा डाटा सेन्टर डाटा हबमा राखिएको छ भने १९ वटा ब्रोकर कम्पनीले डिजी हबको सेवा प्रयोग गरिरहेका छन् । नासा सेक्युरिटिजको भने आफ्नै डाटा सेन्टर रहेको उनले बताए ।

नेपालमा केही क्लाउड तथा डाटा सेन्टर सेवा प्रदायक रहेको र डाटा हब पनि त्यसमध्ये एक रहेको उनले बताए । तर, एउटै डाटा सेन्टरमा ठूलो संख्यामा ब्रोकर कम्पनीको डाटा राखिँदा उत्पन्न हुन सक्ने जोखिमलाई अहिलेको घटनाले देखाएको उनको भनाइ छ ।

‘अब ब्रोकर कम्पनीले अलग-अलग रूपमा डाटा राख्नुपर्ने, आफ्नै डाटा सेन्टर व्यवस्थापन गर्नुपर्ने र पूर्ण रूपमा आउटसोर्सिङमा निर्भर हुन नहुने विषयमा पनि सोच्नुपर्ने देखिन्छ,’ उनले भने ।

उनका अनुसार घटनाबाट तत्काल ठूलो क्षति नभए पनि भविष्यमा अझ ठूलो क्षति हुन सक्ने जोखिमबारे बजारका सबै पक्ष सचेत हुनुपर्ने देखिएको छ ।

Share News