काठमाडौं । सरकारले सेयर बजारका लगानीकर्ताका लागि पुँजीगत लाभ कर घटाउने निर्णय औपचारिक रूपमा नेपाल राजपत्रमा प्रकाशित गरेको छ ।
नयाँ व्यवस्थाअनुसार, नेपाल धितोपत्र बोर्डमा सूचीकृत निकायको हित निःसर्गबाट प्राप्त लाभमा बासिन्दा प्राकृतिक व्यक्तिले तिर्नुपर्ने करको दर स्वामित्व अवधिका आधारमा निर्धारण गरिएको छ ।
३६५ दिनभन्दा बढी अवधि स्वामित्वमा रहेको हितबाट प्राप्त लाभमा पुँजीगत लाभ कर तीन दशमलव सात पाँच प्रतिशत कायम गरिएको छ । ३६५ दिन वा सोभन्दा कम अवधि स्वामित्वमा रहेको हितबाट प्राप्त लाभमा करको दर पाँच प्रतिशत कायम गरिएको छ ।
यसअघि अल्पकालीन र दीर्घकालीन लगानीका लागि पुँजीगत लाभ करका दरहरू फरक थिए र हालको व्यवस्थाभन्दा बढी दर लागू हुँदै आएको थियो ।
अर्थ मन्त्रालयका अनुसार यो व्यवस्था आर्थिक ऐन, २०८३ को दफा १८ को उपदफा १ ले दिएको अधिकार प्रयोग गरी मन्त्रिपरिषद्को निर्णयअनुसार गरिएको हो । नयाँ कर दर आज मंगलबारदेखि लागू हुनेछ ।
