काठमाडौं । पुष्पलाल इन्भेष्टमेन्ट कम्पनी लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकका रूपमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।
सम्झौताअनुसार कम्पनीले प्रति कित्ता १०० रुपैयाँ अंकित दरका १५ लाख कित्ता साधारण सेयर निष्काशन गर्नेछ । यसबाट कम्पनीले १५ करोड रुपैयाँ बराबरको आईपीओ जारी गर्ने तयारी गरेको हो ।
आईपीओ निष्काशन तथा बिक्री प्रबन्धनसम्बन्धी सम्झौतामा लक्ष्मी सनराइज क्यापिटलका अध्यक्ष राजीव सापकोटा र पुष्पलाल इन्भेष्टमेन्टका अध्यक्ष लालप्रसाद सावा लिम्बुले हस्ताक्षर गरेका छन् । सम्झौता कार्यक्रममा लक्ष्मी सनराइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठको पनि उपस्थिति रहेको थियो ।
पुष्पलाल इन्भेष्टमेन्ट कम्पनीले नेपालको अर्थतन्त्रमा दिगो वृद्धि र विकासमा योगदान पुर्याउने लक्ष्यसहित लगानी गर्दै आएको जनाएको छ ।
कम्पनीले ‘सानो लगानी, ठूलो अवसर, राष्ट्र निर्माणमा’ भन्ने नारासहित ऊर्जा, सूचना तथा प्रविधि, सञ्चार र पर्यटनलगायत विभिन्न क्षेत्रमा रणनीतिक लगानी गर्दै आएको जनाएको छ ।