डेटा सेन्टरको प्राविधिक समस्याबारे अध्ययन गर्न नेप्सेलाई सेबोनको निर्देशन

काठमाडौं । नेपाल धितोपत्र बोर्डले डेटा सेन्टरमा आएको प्राविधिक समस्याका कारण धितोपत्र कारोबार स्थगित भएको घटनाबारे आवश्यक अध्ययन तथा जाँचबुझ गरी सुधारसहितको प्रतिवेदन पेश गर्न नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) लाई निर्देशन दिएको छ ।

नेपालमा धितोपत्रको दोस्रो बजार सञ्चालन गर्दै आएको नेप्सेले असोज ४ गते बिहानदेखि धितोपत्र दलाल व्यवसायीको कार्य गर्न अनुमतिपत्र प्राप्त ९२ कम्पनीमध्ये ७२ व्यवसायीको सर्भर राखिएको डेटा सेन्टरमा प्राविधिक समस्या आएको जानकारी दिएको थियो । उक्त समस्याका कारण असोज ५ गते धितोपत्र कारोबार स्थगित गरिएको थियो ।

बोर्डले कारोबार रोक्नुपर्ने गरी उत्पन्न विषम परिस्थितिबारे आवश्यक अध्ययन तथा जाँचबुझ गरी यस्ता घटना पुनः दोहोरिन नदिन गर्नुपर्ने सुधारसहितको प्रतिवेदन असोज १२ गतेभित्र पेश गर्न नेप्सेलाई निर्देशन दिएको जनाएको छ ।

यसैगरी, नेप्सेबाट घटनाबारे जानकारी प्राप्त हुनासाथ प्राविधिकलगायतका समस्या पहिचान गरी कारोबार स्थगित गर्नुपर्ने कारण पत्ता लगाउन बोर्डका उपकार्यकारी निर्देशकको नेतृत्वमा पाँच सदस्यीय निरीक्षण टोली खटाइएको बोर्डले जनाएको छ ।

बोर्डका अनुसार निरीक्षण टोलीले पेश गर्ने सुझावका आधारमा आगामी दिनमा नेपालको धितोपत्र बजारलाई स्वस्थ, सुरक्षित तथा पारदर्शी बनाउन थप कार्य अघि बढाइनेछ ।

बोर्डका प्रवक्ता निरञ्जय घिमिरेले जारी गरेको विज्ञप्तिमा धितोपत्र बजारसँग सम्बन्धित यस्ता घटनाको पुनरावृत्ति रोक्न आवश्यक सुधारका काम अघि बढाउने प्रतिबद्धता व्यक्त गरिएको छ ।

Share News