स्ट्याण्डर्ड चार्टर्डले सञ्चालकको भत्ता बढाउने, लाभांश पाउन मंसिर २९ गते कुर्नुपर्ने

काठमाडौं । लाभांश प्रस्ताव पारित गर्न स्ट्याण्डर्ड चार्टर्ड बैंकले वार्षिक साधारण सभा बोलाएको छ । बैंक सञ्चालक समितिको मंसिर ४ गते बसेको बैठकले मंसिर २९ गते काठमाडौंमा बिहान १० बजे ३९औँ वार्षिक साधारण सभा बोलाएको हो । बैंकको सभाले बैंकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजीको करसहित १९ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गर्नेछ । बैंकको सभाले सञ्चालकहरूको भत्ता तथा सुविधा वृद्धि गर्ने र सोही अनुरूप नियमावलीमा संशोधन गर्नेछ । यस्तै, गत आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन र चालु आर्थिक बर्ष २०८२/८३ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्नेछ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले मंसिर १६ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले मंसिर १५ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भई कायम सेयरधनीहरूले साधारण सभामा सहभागिता जनाई बैंकको लाभांश प्राप्त गर्न सक्नेछन् । 

आइसिएफसि फाइनान्सले सञ्चालकको सेवा सुविधा बढाउने, लाभांश पारित गर्न डाक्यो सभा

काठमाडौं । लाभांश प्रस्ताव पारित गर्न आइसिएफसि फाइनान्सले वार्षिक साधारण सभा बोलाएको छ । फाइनान्स कम्पनीको सञ्चालक समितिको मंसिर ७ गते बसेको बैठकले २२औँ वार्षिक साधारण सभा मंसिर २९ गते काठमाडौंमा बिहान १० बजे बोलाएको हो ।  फाइनान्सको सभाले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी १ अर्ब १८ करोड ३४ लाख ७९ हजार रुपैयाँको करसहित १५.७८ प्रतिशतका दरले १८ करोड ६८ लाख ६४ हजार रुपैयाँ नगद लाभांश प्रस्ताव पारित गर्नेछ ।  कम्पनीको सभाले सञ्चालकहरूको सेवा सुविधा थप गर्ने र सोही अनुरुप नियमावलीमा संशोधन गर्नेछ । यस्तै, गत आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन र चालु आर्थिक बर्ष २०८२/८३ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्नेछ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले मंसिर १९ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले अघिल्लो दिनसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भई कायम सेयरधनीहरूले साधारण सभामा सहभागिता जनाई बैंकको लाभांश प्राप्त गर्न सक्नेछन् । 

नेशनल फण्ड म्यानेजमेन्टले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज

काठमाडौं । नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेडले साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो ।  यस अन्तर्गत, प्रत्येक सेयरको अंकित मूल्य १०० रुपैयाँ रहनेछ र कुल २१ लाख ६ हजार कित्ता सेयर सर्वसाधारणका लागि जारी गरिनेछ । कम्पनीले २१ करोड ६ लाख रुपैयाँ बराबरको आईपीओ सर्वसाधारणका लागि निष्काशन गर्ने भएको छ ।  सम्झौता अनुसार नेशनल फण्ड म्यानेजमेन्टका प्रमुख कार्यकारी अधिकृत सरोज गुरागाई र लक्ष्मी सनराइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठले हस्ताक्षर गरी निकट भविष्यमा आईपीओ सुरु गर्ने योजना तय गरेका छन् । नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेड कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक लिमिटेड कम्पनीको रुपमा दर्ता भइसकेको छ । नेपाल धितोपत्र बोर्डबाट विशेषीकृत लगानी कोष नियमावली, २०७५ बमोजिम प्राइभेट इक्वीटी फण्ड, भेन्चर क्यापिटल फण्ड र हेज फण्डको कोष व्यवस्थापकको इजाजत प्राप्त गरेको कम्पनीले बुक बिल्डिङ्ग विधिबाट निष्काशित धितोपत्रका लागि योग्य संस्थागत लगानीकर्ता बन्न स्वीकृति पाएको छ ।