सनराइज फोकस्ड इक्विटी फन्डका लगानीकर्ताले ४.५ प्रतिशत नगद लाभांश पाउने

काठमाडौं । एलएस क्यापिटल लिमिटेडले सञ्चालन गरिरहेको सनराइज फोकस्ड इक्विटी फन्ड का इकाइधनीलाई आर्थिक वर्ष २०८२/८३ का लागि ४.५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको छ । कम्पनीले नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई सूचना पठाउँदै सञ्चालक समितिको भदौ ५ गते बसेको १५८औँ बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको जानकारी दिएको हो । सूचनाअनुसार लक्ष्मी सनराइज बैंक लिमिटेडद्वारा प्रवर्द्धित तथा एलएस क्यापिटल लिमिटेडद्वारा व्यवस्थापन गरिएको सनराइज फोकस्ड इक्विटी फन्डका इकाइधनीलाई उक्त नगद लाभांश वितरण गरिनेछ । लाभांश वितरणसम्बन्धी थप प्रक्रिया तथा बुक क्लोज मिति लगायतका विवरण सम्बन्धित निकायको स्वीकृतिपछि सार्वजनिक गरिने कम्पनीले जनाएको छ ।

२ कम्पनीको लाभांश घोषणा, मर्जरमा जाने एजेण्डा

काठमाडौं । विभिन्न दुई कम्पनीले लाभांश घोषणा गरेका छन् । भेन्चर हायर पर्चेज लिमिटेड र नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेडले लाभांश घोषणा गरेका हुन् । भेन्चर हायर पर्चेजको भदौ ५ गते बसेको सञ्चालक समितिको बैठकले १५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । प्रस्तावित लाभांश पारित गर्न कम्पनीले भदौ ३० गते दिउँसो ३ बजे काठमाडौं-३, पानीपोखरीमा १०औँ वार्षिक साधारणसभा बोलाएको छ । सभाले सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन तथा लेखापरीक्षक नियुक्ति, सञ्चालक नियुक्तिको अनुमोदन, सञ्चालक समितिको बैठक भत्ता निर्धारण र सार्वजनिक निष्कासनसम्बन्धी प्रस्ताव पारित गर्नेछ । यस्तै, नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेडको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट चुक्ता पुँजीको २.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १५ लाख ५७ हजार ३४३ रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको छ । उक्त लाभांश पारित गर्न कम्पनीले भदौ १४ गते दिउँसो ३:३० बजे एभरेस्ट होटल, नयाँ बानेश्वरमा दोस्रो वार्षिक साधारणसभा बोलाएको छ । सभाले सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, लेखापरीक्षक नियुक्ति तथा स्वतन्त्र सञ्चालक नियुक्तिको अनुमोदन गर्नेछ । त्यस्तै, कम्पनीको उद्देश्यसँग मेल खाने लगानी कम्पनीहरूलाई गाभ्ने (मर्जर) वा प्राप्ति (एक्विजिसन) गर्ने सम्बन्धमा सञ्चालक समितिलाई अख्तियारी दिने तथा प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव पनि सभामा पेस हुनेछ । 

नेपाल टेलिकमले माग्यो ब्रोकरको सूची, १० अर्बको कारोबार हुनुपर्ने

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले आर्थिक वर्ष २०८३/८४ का लागि धितोपत्र दलाल (ब्रोकर) सेवा प्रदायक कम्पनीको सूची दर्ता गर्न प्रस्ताव आह्वान गरेको छ । कम्पनीलाई चालु आवको लागि धितोपत्र दलाल सेवा आवश्यक भएकोले योग्यता पुगेका कम्पनीलाई सूची दर्ता गर्न आग्रह गरेको हो ।  टेलिकमका अनुसार सूचीकरणका लागि इच्छुक धितोपत्र दलाल सेवा प्रदायक कम्पनी प्रचलित कानुनबमोजिम कम्पनी वा संगठित संस्थाका रूपमा दर्ता भएको हुनुपर्नेछ । त्यस्तै, धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ बमोजिम नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी अद्यावधिक नवीकरण गरेको र स्थायी लेखा नम्बर प्राप्त गरेको हुनुपर्नेछ । कम्पनीले नेपाल धितोपत्र बोर्डले तोकेको न्यूनतम चुक्ता पुँजी पूरा गरेको, आर्थिक वर्ष २०८१/८२ को खुद कार्यशील पुँजी धनात्मक रहेको र सोही आर्थिक वर्षको करचुक्ता गरेको हुनुपर्नेछ ।  त्यसैगरी, अन्तिम दुई आर्थिक वर्ष २०८०/८१ र २०८१/८२ मा धितोपत्र खरिद-बिक्रीको औसत वार्षिक कारोबार रकम १० अर्ब रुपैयाँभन्दा बढी भएको हुनुपर्नेछ । धितोपत्र दलालका रूपमा कम्तीमा दुई वर्ष काम गरेको अनुभव पनि आवश्यक पर्नेछ । सूचीकरणका लागि कम्तीमा एउटा पूर्ण वा आंशिक सरकारी स्वामित्व भएको कम्पनी, संगठित संस्था वा अन्य संगठित संस्थामा धितोपत्र दलालका रूपमा कम्तीमा एक वर्ष काम गरेको अनुभव हुनुपर्ने टेलिकमले जनाएको छ । साथै, प्रचलित कानुनबमोजिम कारोबार गर्न अयोग्य नभएको हुनुपर्नेछ ।