ग्लोबल आइएमई बैंकका सेयरधनीले १० प्रतिशत लाभांश पाउने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीलाई १० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । बैंकको बुधबार बिहान बसेको सञ्चालक समितिको ४७३औं बैठकले चुक्ता पुँजीको १० प्रतिशत लाभांश प्रस्ताव गर्ने निर्णय गरेको हो । प्रस्तावअनुसार सेयरधनीले ६ प्रतिशत नगद लाभांश र ४ प्रतिशत बोनस सेयर (करसहित) पाउनेछन् । बैंकले यो लाभांश वितरणका लागि नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिएपछि आगामी २०औं वार्षिक साधारणसभामा प्रस्ताव पेश गर्ने जनाएको छ। लाभांश सम्बन्धी निर्णयबारे बैंकले नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई जानकारी गराएको छ ।

ठाकुर बराल र भेञ्चर ट्रेडिङले बिक्रीमा राखे लुम्बिनी विकास बैंकको सेयर

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडको १ लाख ५१ हजार ५८५ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकका संस्थापक सेयरधनी ठाकुरप्रसाद बरालले आफ्नो नाममा रहेको ८ हजार कित्ता र भेञ्चर ट्रेडिङ एन्ड इन्भेस्टमेन्ट प्रालिले आफ्नो नाममा रहेको १ लाख ४३ हजार ५८५ कित्ता संस्थापक सेयर बिक्रीमा राखेका हुन् । बैंकले विद्यमान संस्थापक सेयरधनीलाई प्राथमिकता दिँदै उक्त सेयर खरिद गर्न इच्छुक भए ३५ दिनभित्र लिखित जानकारी गराउन आग्रह गरेको छ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक सेयरधनीबाट सेयर खरिदका लागि आवेदन नआएमा अन्य व्यक्ति तथा संस्थागत लगानीकर्तालाई सेयर बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।

प्रभु इन्स्योरेन्सले जम्मा गर्यो सेयरधनीको खातामा बोनस सेयर

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले सेयरधनीको हितग्राही खातामा ८.७० प्रतिशत बोनस सेयर जम्मा गरेको छ । गत वैशाख ९ गते सम्पन्न ३०औँ वार्षिक साधारणसभाबाट पारित ८.७० प्रतिशत बोनस सेयर सेयरधनीको हितग्राही खातामा जम्मा गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार २०८२ चैत २६ गतेसम्म कारोबार भई अभिलेखमा कायम रहेका सेयरधनीको बोनस सेयर सम्बन्धित हितग्राही खातामा जम्मा गरिएको हो । उक्त बोनस सेयर नेपाल स्टक एक्सचेन्ज लिमिटेड र सिडिएस एन्ड क्लियरिङ लिमिटेडमा सूचीकृत तथा दर्ता भई अभौतिक रूपमा कारोबार हुने व्यवस्था भइसकेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार चैत २५ गतेसम्म सेयर धितोबन्धक राखी कर्जा लिएका सेयरधनीको बोनस सेयर सम्बन्धित बैंक तथा वित्तीय संस्थाको नाममा रोक्का जनाई हितग्राही खातामा जम्मा गरिएको छ । कर्जा भुक्तानी भइसकेको भए सम्बन्धित बैंक तथा वित्तीय संस्थामा सम्पर्क गरी बोनस सेयर फुकुवा गराउन कम्पनीले सेयरधनीलाई आग्रह गरेको छ । चैत २५ गतेपछि सेयर धितोबन्धक राखी कर्जा लिएका सेयरधनीको बोनस सेयर भने रोक्का नजनाई हितग्राही खातामा जम्मा हुने कम्पनीले जनाएको छ । सम्बन्धित बैंक तथा वित्तीय संस्थाले बोनस सेयर रोक्का भए वा नभएको यकिन गरी आवश्यक प्रक्रिया अघि बढाउन कम्पनीले अनुरोध गरेको छ । भौतिक स्वरूपमा सेयर रहेका र हालसम्म सेयर अभौतिकीकरण नगरेका सेयरधनीले प्रभु क्यापिटल लिमिटेड, कमलादी वा आफूलाई पायक पर्ने प्रभु बैंकका शाखा कार्यालय तथा अन्य निक्षेप सदस्यमार्फत हितग्राही खाता खोली सेयर अभौतिकीकरण गर्न सक्ने कम्पनीले जनाएको छ । त्यसपछि बोनस सेयर सम्बन्धित हितग्राही खातामा प्राप्त गर्न सकिनेछ ।