१५.४६ प्रतिशत लाभांश बाँड्ने एनआइएमबिको घोषणा, बोनसभन्दा नगद बढी

काठमाडौं । एनआइएमबि एस क्यापिटलले लाभांश वितरण गर्ने भएको छ । कम्पनीको सञ्चालक समितिको मंसिर २२ गते बसेको बैठकले १५.४६ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।  कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजीको ३.०९ प्रतिशतका दरले ३ करोड रुपैयाँ बोनस सेयर र कर प्रयोजनसहितका लागि १२.३७ प्रतिशतका दरले १२ करोड रुपैयाँ नगद गरी कुल १५.४६ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।  लाभांश पारित गर्न कम्पनीले पुस २० गते साढे १२ बजे क्यापिटलको सभाहल लाजिम्पाट काठमाडौंमा १३औँ वार्षिक साधारण सभा बोलाएको छ ।  कम्पनीको सभाले गत आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, चालु आव आर्थिक वर्ष २०८२/८३ को लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक तोक्नेछ ।  यस्तै, कम्पनीको जारी पुँजी परिवर्तन गर्ने तथा सो परिवर्तन सम्बन्धमा प्रबन्धपत्र वा नियमावलीमा संशोधन गर्न परेमा अख्तियारी संचालक समितिलाई दिने, संचालकहरुको कार्यकाल समाप्त भएकाले पुनः नियुक्ति गर्ने र गत आर्थिक वर्ष २०८१/८२ मा कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत खर्च गरिएको अनुदान रकम पारित गर्नेछ ।

बढ्यो सेयर बजार, ३ कम्पनीमा सकारात्मक सर्किट

काठमाडौं । मंगलबार सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ७ अंकले बढेर २६१४ बिन्दुमा पुगेको छ । नेप्सेका अनुसार १४८ कम्पनीको सेयर मूल्य बढ्दा १०१ कम्पनीको मूल्य घटेको छ । ९ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । मंगलबार ३३१ कम्पनीको ८७ लाख कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ७५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार न्यादी ग्रुपको ३१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै लक्ष्मी सनराइज बैंकको ११ करोड, राधी विद्युतको ९ करोड र युनिभर्सल पावरको ८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार ३ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । स्वस्तिक लघुवित्तको १० प्रतिशत, श्रीनगर एग्रीटेकको ९.९९ प्रतिशत र माथिल्लो मैलुङको ९.९८ प्रतिशतले सेयर मूल्य बढेका छन् । सबैभन्दा धेरै गुमाउनेमा भने हिमस्टार ऊर्जा कम्पनी लिमिटेडको सेयर मूल्य ३.८८ प्रतिशतले घटेको छ । आजको कारोबारमा बैंकिङ ०.१२, लघुवित्त ०.०६, निर्जीवन बीमा ०.१७ र व्यापार समूह ०.०१ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । विकास बैंक ०.३१, वित्त ०.४०, होटल तथा पर्यटन ०.८८, जलविद्युत् ०.८४, लगानी ०.१६ र जीवन बीमा ०.८२ प्रतिशतले बढेको छ । उत्पादन तथा प्रशोधन ०.५३, म्युचुअल फण्ड ०.३७ र अन्य समूह ०.३४ प्रतिशतले बढेको छ ।  

तारागाउँ रिजेन्सी होटलले ५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । तारागाउँ रिजेन्सी होटल लिमिटेडले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ ।  मंसिर २२ गते बसेको होटलको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई करबाहेक ५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।  कम्पनीका अनुसार आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात सो दरमा सेयरधनीहरुलाई लाभांश वितरण गरिनेछ ।