काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सेयर कारोबार स्थगित गरेको छ । कम्पनीले लाभांश, वार्षिक साधारण सभा र बुक क्लोजसम्बन्धी निर्णय समयमै जानकारी नगराएको भन्दै नेप्सेले कारोबार स्थगित गरेको हो ।
नेप्सेका अनुसार कम्पनीको सञ्चालक समितिको बैठक असोज २६ गते बसेको थियो । उक्त बैठकले वार्षिक साधारण सभा, बुक क्लोज तथा लाभांश वितरणसम्बन्धी निर्णय गरेको थियो ।
तर, कम्पनीले उक्त निर्णयसम्बन्धी जानकारी नेप्सेलाई असोज २७ गते साँझ ५ः५९ बजे मात्रै नेप्सेको अनलाइन सूचना प्रणाली (नोट्स) मार्फत पठाएको थियो ।
धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम २२ (१) अनुसार सेयरको मूल्यमा प्रभाव पार्न सक्ने सूचना तथा निर्णय सोही दिन वा भोलिपल्ट कारोबार खुल्नुअघि नेप्सेमा पेस गर्नुपर्ने व्यवस्था छ । कम्पनीले उक्त व्यवस्था पालना नगरेको भन्दै नेप्सेले विनियमावलीको विनियम १६ (१) (ख) अनुसार असोज २८ गतेदेखि कारोबार स्थगित गर्ने निर्णय गरेको हो ।
त्यस्तै, नेप्सेले कम्पनीलाई पत्र प्राप्त भएको मितिले तीन कार्यदिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ । तोकिएको समयमा सूचना दिन नसक्नुको कारण स्पष्ट पार्न नेप्सेले कम्पनीलाई भनेको छ ।
कम्पनीले हालै ५ प्रतिशत बोनस सेयर र बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । साथै, कम्पनीले १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि अघि सारेको छ । उक्त प्रस्तावसहितका विषय कम्पनीको वार्षिक साधारण सभामा पेस गर्ने तयारी छ ।