काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले जलविद्युत् आयोजना र उद्योगमा लगानी गर्ने भएको छ । कम्पनीको सञ्चालक समितिको बैठकले तीनवटा आयोजना तथा कम्पनीमा कुल १ अर्ब २९ करोड ९७ लाख ५० हजार रुपैयाँ लगानी गर्ने सैद्धान्तिक निर्णय गरेको हो ।
कम्पनीको असोज २७ गते बसेको सञ्चालक समितिको बैठकले सङ्ग्रिला ऊर्जा लिमिटेडद्वारा प्रवर्द्धित ६३ मेगावाट क्षमताको छुजुङ खोला जलविद्युत् आयोजना, दुधकोशी हाइड्रोपावर नेपाल लिमिटेडद्वारा प्रवर्द्धित ७० मेगावाट क्षमताको दुधकोशी–२ जलविद्युत् आयोजना र अन्नपूर्ण राठी केबल्स इन्डस्ट्रिज लिमिटेडमा लगानी गर्ने निर्णय गरेको हो ।
कम्पनीले छुजुङ खोला जलविद्युत् आयोजनामा २० करोड रुपैयाँ लगानी गर्नेछ। यसका लागि २० लाख कित्ता सेयर खरिद गर्ने निर्णय भएको छ ।
त्यस्तै, सोलुखुम्बु जिल्लामा अवस्थित ७० मेगावाट क्षमताको दुधकोशी–२ जलविद्युत् आयोजनामा १ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ। उक्त आयोजनामा कम्पनीले १ करोड कित्ता सेयर खरिद गर्नेछ ।
यसैगरी, मोरङ जिल्लामा अवस्थित अन्नपूर्ण राठी केबल्स इन्डस्ट्रिज लिमिटेडमा ९ करोड ९७ लाख ५० हजार रुपैयाँ लगानी गर्ने निर्णय भएको छ। कम्पनीले उक्त उद्योगको २ लाख ८५ हजार कित्ता सेयर खरिद गर्नेछ ।
कम्पनीले यी लगानीसम्बन्धी निर्णयबारे नेपाल स्टक एक्सचेन्जलाई जानकारी गराएको छ । सञ्चालक समितिको निर्णयअनुसार यी लगानीका लागि सैद्धान्तिक स्वीकृति दिने निर्णय भएको हो ।