विन्ध्यवासिनी हाइड्रोपावरले ५.२६ प्रतिशत सेयर दिने

काठमाडौं । विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर र बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीको असोज २६ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्तावसहित दसौँ वार्षिक साधारण सभा कात्तिक १८ गते गर्ने निर्णय गरेको हो ।

सभाले कम्पनीको हाल कायम चुक्ता पुँजीको १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि पारित गर्नेछ । यसअनुसार कम्पनीले हाल कायम प्रत्येक एक कित्ता सेयर बराबर एक कित्ता हकप्रद सेयर जारी गर्ने प्रस्ताव गरेको छ ।

त्यस्तै, कम्पनीले साधारण सेयरमा परिणत हुने गरी ऋणपत्र जारी गर्ने र त्यसबाट प्राप्त रकम उपयोग गर्ने प्रस्ताव पनि सभामा लैजाने भएको छ ।

कम्पनीका अनुसार वार्षिक साधारण सभा प्रयोजनका लागि कात्तिक १० गते एक दिन सेयरधनी दर्ता पुस्तिका बन्द रहनेछ । त्यसैले कात्तिक ९ गतेसम्म कायम सेयरधनीले सभामा सहभागी हुन पाउनेछन् ।

सभामा कम्पनीको प्रबन्धपत्रको दफा ६ (क), (ख) र (ग) संशोधन गर्ने प्रस्तावसमेत पेस गरिनेछ । कम्पनीले साधारण सभासम्बन्धी विस्तृत सूचना पछि प्रकाशित गर्ने जनाएको छ । 

Share News