लगातार ६ दिनको गिरावटपछि बढ्यो नेप्से, पौने ३ अर्बको कारोबार

काठमाडौं । लगातार ६ कारोबार दिन ओरालो लागेको सेयर बजार मंगलबार सामान्य सुधारसहित हरियो बनेको छ । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक ९.२४ अंकले बढेर २५२२.६६ विन्दुमा बन्द भएको हो ।

नेप्से बढे पनि कारोबार रकम भने घटेको छ । सोमबार ३ अर्ब ६४ करोड ८६ लाख रुपैयाँ बराबरको कारोबार भएको बजारमा मंगलबार ३४१ कम्पनीका ७६ लाख १३ हजार कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम २ अर्ब ९० करोड ६९ लाख ४३ हजार रुपैयाँमा सीमित भयो । यस दिन ४८ हजार ३४१ पटक सेयर कारोबार भएको थियो ।

मंगलबार माथिल्लो मैलुङ खोला जलविद्युत कम्पनीको सेयर मूल्य सबैभन्दा धेरै ७.१५ प्रतिशतले बढ्यो । त्यस्तै, एमबीएल इक्विटी फन्डको इकाइ मूल्य करिब ६ प्रतिशत र इमर्जिङ नेपालको सेयर मूल्य करिब ५ प्रतिशतले उकालो लाग्यो ।

यता उपकार लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै घाटा बेहोरे । कम्पनीको सेयर मूल्य ८.४८ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा मंगलबार सोलु हाइड्रोपावर शीर्ष स्थानमा रह्यो । कम्पनीको १३ करोड ८२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भयो । शिवम् सिमेन्टको १३ करोड ५० लाख रुपैयाँभन्दा बढी र आँखुखोला जलविद्युत कम्पनीको १० करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

१३ उपसमूहमध्ये मंगलबार १२ उपसमूह हरियो बनेका छन् भने एक उपसमूह मात्रै घटेको छ । जलविद्युत उपसमूह सबैभन्दा धेरै १.०१ प्रतिशतले बढ्दा उत्पादन तथा प्रशोधन उपसमूह १ प्रतिशतले घटेको छ ।

Share News