सेयर बजारमा २ अर्ब ९४ करोडको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक लगातार दोस्रो कारोबार दिन पनि बढेर बन्द भएको छ । बुधबार नेप्से १५.४४ अंकले बढेर २५३८.११ विन्दुमा पुगेको हो ।

बजार बढेसँगै कारोबार रकममा पनि सामान्य सुधार आएको छ । मंगलबार २ अर्ब ९० करोड रुपैयाँको कारोबार भएको बजारमा बुधबार २ अर्ब ९४ करोड २७ लाख ८१ हजार रुपैयाँ बराबरको सेयर किनबेच भयो । यस दिन ३५४ कम्पनीका ७२ लाख ६८ हजार कित्ता सेयर ३९ हजार ६७३ पटक कारोबार भएका छन् ।

बुधबार उपकार लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सबैभन्दा धेरै ११.८७ प्रतिशतले बढ्यो । माथिल्लो मैलुङ खोला जलविद्युत र आत्मनिर्भर लघुवित्तको सेयर मूल्य पनि १० प्रतिशतभन्दा बढीले उकालो लाग्यो ।

यता एनएमबी इनर्जी बन्ड ४ प्रतिशत २०९३/९४ को मूल्य सबैभन्दा धेरै ५.८१ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा सानिमा मिडिल तमोर हाइड्रोपावर शीर्ष स्थानमा रह्यो । कम्पनीको १४ करोड १७ लाख रुपैयाँ बराबरको कारोबार भयो । एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको १२ करोड ५० लाख रुपैयाँभन्दा बढी र सोलु हाइड्रोपावरको १२ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

१३ उपसमूहमध्ये ११ उपसमूह हरियो बनेका छन् भने दुई उपसमूह मात्रै घटेका छन् । जलविद्युत उपसमूह सबैभन्दा धेरै ०.९५ प्रतिशतले बढ्दा म्युचुअल फन्ड र निर्जीवन बीमा उपसमूह सामान्य अंकले घटेका छन् ।

Share News