दशैं सकियो, सेयर बजारमा फर्किएन लगानीकर्ताको उत्साह

काठमाडौं । दशैं बिदापछि एक सातामा खुलेको सेयर बजारमा लगानीकर्ताको उत्साह न्यून देखिएको छ । बिदापछिको पहिलो कारोबार दिन सोमबार (आज) नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ।

आज नेप्से नेप्से परिसूचक ४.३४ अंक घटेर २६२९.८२ विन्दुमा झरेको छ । त्यस्तै,सेन्सेटिभ इण्डेक्स २.१७ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.५३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६६ अंक घटेको छ ।

आज ९९ कम्पनीको सेयरमूल्य बढेको छ भने १७१ कम्पनीको घटेको छ । ६ कम्पनीको सेयर मूल्य भने स्थिर देखिएको छ । 

दशैंअघिको अन्तिम कारोबार दिन (अक्टोबर १६) मा नेप्से ८.३३ अंकले बढेर २६३४.१७ विन्दुमा पुगेर बन्द भएको थियो । आज ४१ स्टकको ३८ हजार ७८८ पटकको कारोबारमा ४ अर्ब २४ लाख २१ हजार रुपैयाँबराबरको १ करोड ३ लाख ४३ हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।

दशैंअघि ३४८ कम्पनीका १ करोड ३३ लाख कित्ता बढी ७६ हजार कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्ब ८८ करोड ८९ हजार रुपैयाँको कारोबार भएको थियो । जसमध्ये २२० कम्पनीको सेयरमूल्य बढेको थियो भने १०७ कम्पनीको घटेको थियो ।

आज ३ उपसमूहबाहेक उपसमूह घटेका छन् । व्यापार १.११, जलविद्युत ०.२४, उत्पादन १.०३ प्रतिशतले बढेको छ । होटल तथा पर्यटन ०.४८, विकास बैंक १.२१, वित्त ०.३५, निर्जीवन बीमा ०.२४, अन्य ०.३१, माइक्रोफाइनान्स ०.३४, जीवन बीमा ०.४४ र लगानी ०.३१ प्रतिशतले घटेको छ ।

दशैंअघिको अन्तिम कारोबार दिन नेप्से उपसमूहका ८ वटा समूह बढेका थिए भने ५ वटा घटेका थिए । म्युचुअल फन्ड समूह सर्वाधिक ०.७६ प्रतिशत, बैंकिङ समूहले ०.७२ प्रतिशतले बढेको छ । व्यापार समूह सर्वाधिक ०.५४ प्रतिशतले घटेको थियो ।

कारोबार रकमका आधारमा आज घलेम्दी हाइड्रो शीर्ष स्थानमा रहेको छ । उक्त कम्पनीको २३ करोड ६६ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ । त्यस्तै, शिवम् सिमेन्ट्सको कारोबार रकम साढे २० करोड रुपैयाँ नाघेको छ भने माउन्टेन इनर्जी नेपालको करिब १८ करोड रुपैयाँको सेयर किनबेच भएको छ ।

आज बेनी हाइड्रोपावरको सेयरमा सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सो कम्पनीको सेयरमूल्य ५२ रुपैयाँ ९० पैसा बढेर ४०५ रुपैयाँ ९० पैसामा अन्तिम कारोबार भएको छ । त्यस्तै, माथिल्लो मैलुङ्ग खोला जलविद्युतको सेयरमूल्य करिब ५.८१ प्रतिशत बढेको छ भने सोनापुर मिनरल्स एण्ड आयलको सेयरमूल्य ५ प्रतिशत बढेको छ । सगरमाथा जलविद्युत कम्पनीको सेयरमूल्य ४.७२ प्रतिशत र घोराही सिमेन्टको ४.४७ प्रतिशतले बढेको छ ।

आज चिरख्वा हाइड्रोपावरको सेयरमूल्य यस दिन सर्वाधिक ७.९२ प्रतिशत घटेको छ । त्यस्तै, महिला लघुवित्तको ७.५७ प्रतिशत, १०.७५ डिवेञ्चरको ५.९१ प्रतिशत, गुराँस लघुवित्तको ५.८१ र ग्लोबल आईएमई बैंक डिवेञ्चरको ५.४७ प्रतिशतले घटेको छ ।

Share News