काठमाडौं । दशैं बिदापछिको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ । यस दिन नेप्से परिसूचक ४.३४ अंकले घटेर २ हजार ६२९.८२ विन्दुमा झरेको हो ।
सोमबार सेन्सेटिभ इन्डेक्स २.१७ अंकले घटेको छ । त्यस्तै, फ्लोट इन्डेक्स ०.५३ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.६६ अंकले घटेका छन् ।
यस दिन ३४१ वटा कम्पनीका १ करोड ३ लाख ४३ हजार कित्ता सेयर ३८ हजार ७८८ पटकको कारोबारमा खरिदबिक्री भएका छन् । दिनभरमा कुल ४ अर्ब २४ लाख २१ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ ।
कारोबारमा आएका कम्पनीमध्ये बेनी हाइड्रोपावरको सेयरमूल्य सकारात्मक सर्किट लेभलमा पुगेको छ । कम्पनीको सेयरमूल्य ५२ रुपैयाँ ९० पैसाले बढेर प्रतिकित्ता ४०५ रुपैयाँ ९० पैसा पुगेको छ । त्यस्तै, माथिल्लो मैलुङ खोला जलविद्युतको सेयरमूल्य करिब ६ प्रतिशत र सोनापुर मिनरल्स एन्ड आयलको करिब ५ प्रतिशत बढेको छ ।
यस दिन चिरख्वा हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक ७.९२ प्रतिशत घटेको छ ।
कारोबार रकमका आधारमा घलेम्दी हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । कम्पनीको २३ करोड ६६ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ । त्यस्तै, शिवम् सिमेन्ट्सको २० करोड ५० लाख रुपैयाँभन्दा बढी र माउन्टेन इनर्जी नेपालको करिब १८ करोड रुपैयाँबराबरको सेयर किनबेच भएको छ ।
नेप्सेमा कारोबार भएका १३ उपसमूहमध्ये चार उपसमूहको परिसूचक बढेको छ भने नौ उपसमूहको घटेको छ । व्यापार उपसमूहको परिसूचक सर्वाधिक १.११ प्रतिशत बढेको छ । उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक पनि १ प्रतिशतभन्दा बढीले उकालो लागेको छ ।
यता, विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक १.२१ प्रतिशत घटेको छ ।