बाहिरिए राष्ट्रिय बीमा कम्पनीका सीईओ श्रेष्ठ, निमित्तको जिम्मेवारी कोइरालालाई
काठमाडौं । राष्ट्रिय बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. शिवहरि श्रेष्ठले राजीनामा दिएका छन् । कम्पनीको सञ्चालक समितिको गत साउन ३१ गते बसेको बैठकले श्रेष्ठको राजीनामा स्वीकृत गरेको कम्पनी सचिव कविता लामाले जानकारी दिइन् । वि.सं. २०८१ वैशाखमा कम्पनीको सीईओ नियुक्त भएका श्रेष्ठ २७ महिनापछि पदबाट बाहिरिएका हुन् । उनीअघि कम्पनीको सीईओ रहेका शेखर बरालले पनि १५ महिना नपुग्दै राजीनामा दिएका थिए । कम्पनी सचिव लामाका अनुसार श्रेष्ठको राजीनामा स्वीकृत भएसँगै नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) सुवास कोइरालालाई निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको छ ।
आजदेखि अभिकर्ता तालिम सञ्चालन गर्दै आइजिआई प्रुडेन्सियल
काठमाडौं । आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले आजदेखि (भदौ ८–११ गते) सम्म निर्जीवन बीमा अभिकर्ता तालिम संचालन गर्ने भएको छ । कम्पनीले निर्जीवन बीमा अभिकर्ता भई कार्य गर्न ईच्छुक व्यक्ति तथा संस्थाको लागि उक्त तालिम संचालन गर्न लागेको हो । तालिममा सहभागि हुनका लागि नेपाली नागरिकतासहित शैक्षिक योग्यताको प्रमाणपत्र, हालसालै खिचिएको फोटो, स्थायी लेखा नम्बर चाहिने कम्पनीले जनाएको छ । त्यस्तै तालिममा सहभागी इच्छुक अभिकर्ताले न्यूनतम प्लसटु वा सो सरहको परीक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ । कम्पनीका अनुसार तालिम अनलाइनमार्फत विहान १० बजेदेखि ४ बजेसम्म संचालन गरिनेछ । अभिकर्ता परीक्षा भने भदौ ११ गते दिनको २ बजे संचालन हुनेछ ।
प्रभु महालक्ष्मी लाइफले उत्कृष्ट अभिकर्तालाई पोखरामा गर्यो सम्मान
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०८२/८३ मा उत्कृष्ट व्यवसाय गर्ने अभिकर्तालाई सम्मान गर्दै ‘क्लब एचिभर्स अवार्ड’ कार्यक्रम पोखरामा सम्पन्न गरेको छ । भदौ ४ देखि ७ गतेसम्म चार दिन सञ्चालन भएको कार्यक्रममा कम्पनीले चेयरम्यान क्लब र सीईओ क्लबमा छनोट भएका अभिकर्तालाई विशेष सम्मान गरेको जनाएको छ । कार्यक्रममा देशभरबाट करिब २०० अभिकर्ता, व्यवस्थापक तथा कम्पनीका पदाधिकारीको सहभागिता रहेको थियो । कार्यक्रमको उद्घाटन कम्पनीकी सञ्चालक समिति अध्यक्ष सम्झना अर्यालले गरेकी थिइन् । उनले अभिकर्ता पेशालाई सम्मानित र मर्यादित व्यवसायका रूपमा स्थापित गर्न उत्कृष्ट कार्य गर्ने अभिकर्तालाई सम्मान गरिएको बताइन् । आगामी दिनमा पनि अभिकर्ताको व्यवसाय विस्तारका लागि कम्पनीले आवश्यक साथ र सहयोग गर्ने प्रतिबद्धता उनले व्यक्त गरिन् । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईँले निरन्तर मेहनत र लगनशीलताबाट प्राप्त सफलता नै वास्तविक सफलता भएको बताए । उनले टिमवर्कका माध्यमबाट आगामी वर्ष अझ ठूलो उपलब्धि हासिल गर्न सकिने विश्वास व्यक्त ग रे। कार्यक्रममा आचार्य राजाबाबु साहले ‘पावर अफ माइन्डसेट फर बिजनेस ग्रोथ’ विषयमा प्रशिक्षण दिएका थिए । कम्पनीका अनुसार उक्त प्रशिक्षणले अभिकर्ताको व्यवसायिक क्षमता अभिवृद्धिमा प्रेरणा दिएको छ । कार्यक्रममा नेपाली चलचित्रका अभिनेता तथा निर्माता प्रदीप खड्काको विशेष उपस्थिति रहेको थियो । उनले आफ्नो संघर्ष र सफलताको अनुभव सहभागी अभिकर्तासँग साझा गर्दै प्रेरणादायी प्रस्तुति दिएका थिए । प्रभु महालक्ष्मी लाइफले अभिकर्ताको क्षमता विकास, उत्प्रेरणा र सम्मानका लागि यस्ता कार्यक्रम निरन्तर आयोजना गर्दै आएको जनाएको छ ।