काठमाडौं । २०७६ साल फागुन १९ गते वैदेशिक रोजगार म्यादी जीवन बीमा गरेका रामबहादुर कुमालको विदेश जान नपाउँदै मृत्यु भयो ।
उनको मृत्युपछि श्रीमती सिर्जना कुमालले आवश्यक कागजातसहित बीमा कम्पनीमा दाबी पेस गरिन् । तर, बीमितको मृत्यु भएको समयमा उनी घरमै रहेको र बीमालेखको सर्तअनुसार बीमालेख जारी भएको ६ महिनासम्म नेपालमै रहेको भन्दै कम्पनीले दाबी दिन अस्वीकार गर्यो ।
कम्पनीको निर्णयमा चित्त नबुझेपछि सिर्जना कुमालले तत्कालिन बीमा समिति (नेपाल बीमा प्राधिकरण) मा उजुरी दिइन् । उजुरी परेपछि समितिले निवेदनको छायाप्रति संलग्न गर्दै दाबीसम्बन्धी विषयमा के-कसो भएको हो भन्ने विवरणसहित लिखित जवाफ पेस गर्न बीमा कम्पनीलाई निर्देशन दियो ।
बीमा गरेको ६ महिनाभित्र विदेश नगई स्वदेशमै रहेका बेला उनको मृत्यु भएको हुँदा पोलिसी स्वतः रद्द हुने शर्तअनुसार कम्पनीले दाबी अस्वीकार गरेको कम्पनीले जवाफ दियो । कम्पनीको जवाफ, प्राप्त कागजातअनुसार बीमितको मृत्यु २०७७ साल मंसिर ५ गते भएको देखियो ।
यी सबैको आधारमा प्राधिकरणले पनि कम्पनीकै निर्णय सदर गर्यो । त्यसपछि मृतककी श्रीमती सर्वोच्च अदालत पुगिन् । अदालतले समेत बीमालेखको शर्तका आधारमा बीमकको दायित्व नरहेको ठहर गर्यो ।
बीमित सुवास नेपाल वैदेशिक रोजगारीका क्रममा विदेशमै रहँदा क्यान्सरबाट पीडित भए । विदेश जानुअघि नै बीमा गरेका कारण उनले घातक रोगबापतको बीमा रकम उपलब्ध गराइदिन बीमा कम्पनीमा दाबी पेस गरे । तर, कम्पनीले दाबी भुक्तानी गर्न अस्वीकार गरेपछि उनले नेपाल बीमा प्राधिकरणमा उजुरी दिए ।
२०७३ साल पुस १७ गते वैदेशिक रोजगार म्यादी जीवन बीमा गरेका नेपालको बीमालेख २०७६ साल असार १७ गतेसम्म कायम थियो । उनले १० लाख रुपैयाँको बीमांकका लागि ३० महिनाको बीमा गराएका थिए ।
त्यसबापत उनले एकमुष्ट ४ हजार २७८ रुपैयाँ बीमाशुल्क बुझाएका थिए । सोही बीमालेखको अवधिभित्र आफूलाई घातक रोग लागेको भन्दै उनले २०७५ साल चैत १२ गते कम्पनीलाई जानकारी गराएका थिए ।
तर, कम्पनीले घातक रोगबापतको दाबी भुक्तानी गर्न नमिल्ने जवाफ दिएको थियो । कम्पनीका अनुसार वैदेशिक रोजगार म्यादी बीमालेखअन्तर्गत घातक रोगको सुविधा बीमालेख लिनुभन्दा पछि अर्थात २०७३ साल माघ १५ गतेदेखि मात्रै लागू गरिएको थियो । त्यसैले उनको बीमालेखमा घातक रोगसम्बन्धी सुविधा समावेश नभएको भन्दै दाबी दिन कम्पनीले अस्वीकार गर्यो ।
पीडित बीमित प्राधिकरणमा पुगे । प्राधिकरणको बीमितको आवश्यक कागजात र कम्पनीको जवाफको आधारमा बीमककै पक्षमा फैसला गर्यो । बीमितले घातक रोग सुविधा लागू हुनुभन्दा एक महिनाअघि नै बीमालेख जारी भएको देखियो ।
साथै उनको बीमालेखमा घातक रोगसम्बन्धी सुविधा थप गरिएको कुनै शर्तसमेत उल्लेख नहुँदा कम्पनीको कुनै दायित्व नभएको भन्दै प्राधिकरणले बीमासम्बन्धी उजुरी खारेज गर्यो ।
वैदेशिक रोजगारीका क्रममा रहेका बीमित सागर मल्लको कोभिड-१९ संक्रमणका कारण मृत्यु भयो। । मृत्यु भएपछि बीमा रकमका लागि दाबी पेस गर्दा बीमा अवधि समाप्त भइसकेको भन्दै कम्पनीले दाबी भुक्तानी गर्न अस्वीकार गर्यो ।
कम्पनीको निर्णयमा चित्त नबुझेपछि मृतककी श्रीमतीले नेपाल बीमा प्राधिकरणमा उजुरी दिइन् । उनले कोभिड–१९ संक्रमणका कारण नेपाल फर्किन सहज वातावरण नभएको र सहज रूपमा नेपाल आउन पाएको भए समयमै बीमा नवीकरण गर्ने अवसर मिल्ने जिकिर गरेकी थिइन् ।
कोभिड-१९ को संक्रमणकालीन अवस्थालाई समेत ध्यानमा राखेर बीमा दाबी रकम उपलब्ध गराइदिन उनले माग गरेकी थिइन् ।
उजुरीसँग सम्बन्धित कागजात तथा विवरण अध्ययन गर्दा सागर मल्लले २०७४ साल चैत १५ गते बीमा गरेको देखिएको थियो । उनको बीमा २०७७ साल चैत १६ गतेसम्म कायम थियो । तर, उनको मृत्यु २०७८ साल असार २६ गते भएको थियो ।
बीमा कम्पनीले बीमा करारले जोखिम बहन नगरेको अवधिमा बीमितको मृत्यु भएको भन्दै दाबी भुक्तानी गर्न नमिल्ने जवाफ दिएको थियो । कम्पनीका अनुसार बीमा अवधि २०७७ साल चैत १६ गते नै समाप्त भइसकेको थियो भने बीमितको मृत्यु त्यसको करिब तीन महिनापछि भएको थियो ।
प्राधिकरणले उजुरी निवेदन, प्रमाण तथा कम्पनीको प्रतिउत्तरपत्रसहित मिसिल संलग्न कागजातहरूको अध्ययन गरेको थियो । स्थानीय तहबाट झिकाइएको मृत्युदर्ता प्रमाणपत्रमा समेत सागर मल्लको मृत्यु मिति २०७८ साल असार २६ गते नै उल्लेख भएको देखिएको थियो ।
बीमा अवधि समाप्त भएपछि बीमितको मृत्यु भएको पुष्टि भएकाले उक्त दाबीमा बीमकको दायित्व सिर्जना नहुने प्राधिकरणले ठहर गरेको थियो ।
माथि प्रस्तुत तीनवटै घटना वैदेशिक रोजगार म्यादी जीवन बीमा गरेका बीमितसँग सम्बन्धित छन् । तीनवटै घटनामा दाबी अस्वीकार हुनुका कारण फरक-फरक छन् ।
तर, यी घटनामा एउटा साझा पक्ष देखिन्छ, बीमितले बीमालेखमा उल्लेख भएका शर्त, सुविधा र जोखिम बहनको अवधिलाई पर्याप्त ध्यान नदिँदा दाबी भुक्तानीबाट वञ्चित हुनुपरेको छ ।
यी घटनाले बीमा गर्दा केवल बीमा रकम र बीमा शुल्कमा मात्र ध्यान दिएर नहुने देखाएको छ । बीमालेखमा कुन–कुन जोखिम समेटिएका छन्, जोखिम रक्षावरण कहिलेदेखि सुरु हुन्छ, कति अवधिसम्म कायम रहन्छ, कुन अवस्थामा बीमालेख स्वतः रद्द हुन्छ र थप सुविधा लिन के–कस्तो शुल्क तथा प्रक्रिया आवश्यक हुन्छ भन्ने विषय बीमितले बुझ्नुपर्ने हुन्छ ।
विशेषगरी वैदेशिक रोजगार म्यादी जीवन बीमा छोटो अवधिका लागि गरिने भएकाले बीमालेखको अवधि, विदेश प्रस्थानको अवस्था, नवीकरण तथा थप सुविधा सम्बन्धी प्रावधानमा बीमित बढी सचेत हुन आवश्यक देखिन्छ ।
कुन-कुन अवस्थामा दाबी भुक्तानी पाइँदैन ?
रिलायबल लाइफ इन्स्योरेन्सका दाबी विभाग प्रमुख निर्मल कुमार लामिछानेले स्पष्ट कारणबिना बीमा दाबी अस्वीकार नगरिने बताएका छन् ।
उनका अनुसार जीवन बीमा कम्पनीहरू बीमाको सिद्धान्तअनुसार सञ्चालन हुने भएकाले बीमितको दाबी भुक्तानी गर्नु कम्पनीको पहिलो दायित्व हो ।
‘हामीले गरेका कुनै पनि निर्णय नियमविपरीत भएका छैनन्, अन्य कम्पनीले पनि विना कारण क्लेम रिजेक्ट गर्दैनन्,’ उनले भने ।
उनका अनुसार बीमितले आवश्यक कागजात समयमै उपलब्ध नगराउँदा दाबी भुक्तानी प्रक्रियामा ढिलाइ हुन सक्छ । त्यस्तै, बीमा गर्दा बीमितले आफ्नो स्वास्थ्य अवस्था वा कुनै रोगसम्बन्धी जानकारी लुकाएको अवस्थामा अनुसन्धानका क्रममा त्यस्तो तथ्य पुष्टि भए दाबी भुक्तानी नहुने उनले बताए ।
उनका अनुसार वैदेशिक रोजगार म्यादी जीवन बीमामा सामान्यतया मेडिकल परीक्षणका क्रममा ईसीजी वा छातीको एक्सरेजस्ता आधारभूत परीक्षण मात्र हुने भएकाले कतिपय गम्भीर रोग पहिचान नहुन सक्छन् । यस्तो अवस्थामा बीमितले आफ्नो रोग लुकाएर बीमा गर्ने सम्भावना रहने उनले बताए ।
बीमा गर्नुअघि क्रोनिक डिजिज वा क्यान्सरजस्ता रोगबारे सोध्दा रोग नभएको जानकारी दिने र पछि त्यस्तो रोग देखिएमा ‘प्रि–एग्जिस्टिङ कन्डिसन’ का आधारमा दाबी भुक्तानी नहुने अवस्था आउन सक्ने उनको भनाइ छ ।
यो बीमा पुलबाट सञ्चालन हुने भएकाले कुनै एउटा कम्पनीलाई मात्रै ठूलो आर्थिक भार नपर्ने पनि उनले बताए ।
‘तर बीमाको सिद्धान्तअनुसार दाबी भुक्तानी गर्न नमिल्ने अवस्था भएमा भुक्तानी गर्न सकिँदैन,’ उनले भने ।
राष्ट्रिय जीवन बीमा कम्पनीका व्यवस्थापक दिनेश गौतमले उनले वैदेशिक रोजगार म्यादी जीवन बीमाको बीमालेखमा उल्लेखित शर्तअनुसार नै कम्पनीले दाबी भुक्तानी गर्ने बताए । बीमालेखमा समेटिएको जोखिमभन्दा बाहिरको अवस्थामा भने कम्पनी दाबी भुक्तानीका लागि जिम्मेवार नहुने उनको भनाइ छ ।
‘सबै कम्पनीले जारी गर्ने वैदेशिक रोजगार म्यादी जीवन बीमाको बीमालेख एउटै हुन्छ, त्यही बीमालेखमा उल्लेखित व्यवस्थाअनुसार नै बीमितले दाबी भुक्तानी पाउने वा नपाउने हुन्छ,’ उनले भने ।
यद्यपि आफ्नो कम्पनीमा वैदेशिक रोजगार म्यादी जीवन बीमाको दाबी भुक्तानीमा कुनै विशेष समस्या नरहेको उनी बताउँछन् ।
पोलिसीमा गरिएको व्यवस्था
वैदेशिक रोजगार म्यादी जीवन बीमालेखसम्बन्धी निर्देशन, २०८० अनुसार बीमालेख जारी भएको ६ महिनाभित्र बीमित वैदेशिक रोजगारीका लागि विदेश नगएमा बीमालेख स्वतः रद्द हुन्छ । यस्तो अवस्थामा बीमितलाई कुनै क्षति भएमा त्यसबापतको दाबी भुक्तानी गर्ने दायित्व बीमा कम्पनीको हुँदैन ।
त्यस्तै, बीमित स्वयंले बीमालेख रद्द गर्न निवेदन दिएमा पनि बीमालेख रद्द हुने व्यवस्था छ ।

बीमितले आफूले लिएको बीमालेखमा कुन-कुन जोखिम समेटिएका छन् र कुन जोखिम समेटिएका छैनन् भन्नेबारे स्पष्ट जानकारी लिन आवश्यक हुन्छ । कतिपय बीमितलाई बीमालेखका यस्ता प्रावधानबारे पर्याप्त जानकारी नहुन सक्छ ।
बीमालेखमा उल्लेख भएअनुसार कानुनबमोजिम अनुमति प्राप्त हवाईजहाजबाहेक अन्य विमानमा यात्रा गर्दा मृत्यु वा अंगभंग भएमा बीमा कम्पनीले क्षतिपूर्ति भुक्तानी गर्दैन ।
त्यस्तै, सरकारले वैदेशिक रोजगारीका लागि निषेध गरेको मुलुकमा गई बीमितको मृत्यु, अपांगता वा अंगभंग भएमा पनि बीमकको दायित्व नहुने व्यवस्था छ ।

यो बीमालेखअनुसार एचआईभी एड्स संक्रमित भई पहिचान भएमा, बीमा गर्नुअघि अथवा पुनर्जागरण गर्नुअघि कुनै रोग भएमा वा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा उक्त रोगको कारणबाट दाबी परेमा घातक रोग अन्तर्गतको कुनै दाबी भुक्तानी हुँदैन ।

